छ महिनाभित्र पीडितले राहत पाउँछन्

तपाईं १० अर्ब ठगी गरेको अभियोगमा १८ महिना जेल बसेर आउनुभयो । तपाईं इतिहासको सबैभन्दा ठूलो ठग हो ?

 

यो प्रश्नको जवाफ केही समयपश्चात् इतिहासले नै दिनेछ । सबैभन्दा पहिला मान्छेहरुले ठगको परिभाषा के हो भनेर बुझ्न आवश्यक छ । ठगी गर्ने मान्छे फेरि यही देशमा बसेर समस्या समाधान गर्छु भनेर लाग्दैन । यदि ठग्नु नै थियो भने मेरो अमेरिकाको ग्रिन कार्ड एप्रुभ भएको थियो । म अमेरिका गएर बस्थेँ होला नि ! धेरै ठगी गर्ने नेपाली अधिकांश विदेशमा लुकेर बसेका छन्, कसैलाई ल्याउनसकेको छ ? पैसा भए जहाँ गए पनि बस्न पाइन्थ्यो । यो ठगको परिभाषाभित्र पर्दैन । मलाई जबर्जस्ती ठग.. ठग.. भनिएको हो । कानुनमा पनि हामीलाई कारबाही गर्ने ऐन नभएपछि ठग भनेर फौजदारी मुद्दा लगायो ।

तपाईंले जसरी परिभाषित गरे पनि अदालतले तपाईंलाई ठग भनेर फैसला गरिसकेको छ नि ?

ठगले आफ्नो परिवारलाई राम्रो गर्ला नि ! आखिर केको लागि ठग्ने त ? राम्रो गाडी चढ्न, राम्रो घरमा बस्न, आनन्दको जिन्दगी जिउनका लागि मान्छेले ठग्ने हो । आजको दिनमा मैले पुख्र्यौली सम्पत्ति गएको छ । ससुरालीको सम्पत्ति स्वाहा बनाएको छु । यही कारणले मेरो सम्बन्धविच्छेद भएको छ । न त राम्रो गाडी चढेको छु । राम्रोसँग सुत्न समेत पाएको छैन । न त मेरो बैंकमा पैसा छ । न त मेरो घर नै छ । म कसरी ठग भएँ ?

जतिबेला तपाईंलाई ठगीको अभियोग लागेको थियो । त्यो समयमा तपाईंसँग सबै कुरा थियो नि, होइन र ?

त्यतिबेला म नेपालको हस्ती व्यापारीमा थिएँ । हाउजिङमा टपमा थिएँ । अन्य व्यापार पनि टपमै थिए । सामान्य एउटा जागिर खाने मान्छेले काठमाडौंमा घर बनाउन सक्छ । हामीले अर्बौं रुपैयाँको व्यापार गर्ने मान्छेसँग त्यति सम्पत्ति हुने के नौलो कुरा थियो र । त्यतिबेला मसँग १७ अर्बदेखि २० अर्ब रुपैयाँसम्म सम्पत्ति थियो ।

त्यतिबेला तपाईंसँग १७ अर्बदेखि २० अर्ब रुपैयाँ सम्पत्ति कहाँबाट आयो ?

काम गरेको हुँ । काम गर्दै गएपछि जग्गाको भाउ बढ्दै जान्छ । आज हामीले १० लाखमा किनेको जग्गा केही दिनमा एक करोडमा बिक्री हुन्थ्यो । हामीलाई जग्गाको भ्यालुले बढाएको हो ।

तपाईंको १८/२० अर्बको सम्पत्ति अहिले कहाँ छ ?

त्यही सम्पत्ति खान र म अगाडि बढेको देखेर नै धेरै मानिसहरु मेराविरुद्ध लागे । मलाई अग्नि एयरबाट हटाउने प्रपञ्च रचियो । जतिबेला मलाई पहिलोपटक हनुमान ढोका लगेर थुनियो । त्यो मुद्दा अहिले पनि उच्च अदालतमा छ । त्यतिबेला मलाई आफ्नो मुद्दामा पक्राउ गरिएको थिएन । धिरेन्द्र प्रसाद प्रधान भन्ने हुनुहुन्थ्यो । उहाँको नाममा एउटा कम्पनी थियो । त्यो कम्पनीको मुद्दामा मेरो कतै संलग्नता नै नहुँदा पनि मलाई लगियो र टेलिभिजनमार्फत जाहेरी हाल्न प्रचारप्रसार गरियो । प्रहरीले नै त्यतिबेला प्रचार गरेको थियो ।

प्रहरी संगठन नै तपाईंविरुद्ध लाग्नुपर्ने के कारण थियो र ?

हेर्नुहोस्, नेपाल भनेको कसैको प्रभाव र दबाबमा चल्ने मुलुक रहेछ । त्यतिबेला प्रहरी प्रमुख कुवेर सिंह रानालाई कसैले मविरुद्ध दुरुपयोग गरेको हो । अग्नि एयर हत्याउन यो खेल भएको थियो । अग्नि एयर कसले हत्यायो सबैलाई जगजाहेर नै छ ।

तपाईंसँग भएको १८/२० अर्बको सम्पत्ति कहाँ–कहाँ पुग्यो त ?

म २०६९ सालदेखि लुकेर भागेको छु । हनुमान ढोका हिरासतमा हुँदा धापासी हाइटको अर्बौंको जमिन र हाउजिङ लिलामी गरेर लगियो । २६ रोपनी जग्गामा रहेको अपार्टमेन्ट बैंकले लिलामी गरेर खायो । त्यसपछि लिलामी हुने क्रम जारी रहयो । एक पछि अर्को गर्दै सम्पत्ति लिलामीको प्रक्रियामा पुख्र्यौली सम्पत्ति, आफ्नो सम्पत्ति, आफन्तको सम्पत्ति सबै जान थाल्यो । आज बाँकी रहेको ठूलो सम्पत्ति भेगास सिटी पनि खान र लिलाम गर्न नपाएर मलाई नै समस्या पार्ने खेल भइरहेको छ ।

तपाईंको ओरेन्टल सहकारीपीडितको नाममा नै १० अर्ब ऋण छ । भेगास सिटी ५ अर्बको मूल्यांकन छ, कसरी तिर्नु हुन्छ ?

हामीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संयुक्त रुपमा मिटिङमा राखेको थियो । त्यतिबेला मैले समितिलाई भनेको थिएँ– ‘तपाईंहरुले निकालेको डाटा गलत भयो ।’ किनभने उहाँहरुको नियत नै मलाई नेपालको सबैभन्दा ठूलो ठग बनाउने कसरी हुन्छ मेरो ल्याबरिटिज धेरै हुन्छ भनेर देखाउने । सावाँ पनि आउँदैन भनेर मानसिक यातना दिनका लागि उहाँहरुले १६ अर्ब १७ अर्ब भन्ने गर्नुभएको हो । वास्तवमा हाम्रो ओरेन्टल को–अपरेटिभको डिपोजिट भनेको चार अर्ब २० करोड हो । हामीले सेटलमेन्ट गरेपछि ३ अर्ब २० देखि ५० करोड मात्रै बाँकी छ । आज पनि म चुनौतीका साथ भन्नसक्छु । उहाँहरुले ३ अर्बको दाबी पनि गर्न सक्नुहुन्न । हाउजिङतिर उहाँहरुले ७० करोडभन्दा बढी देखाउन सक्नुहुन्न । त्यसको ब्याजको स्याज जोडेर भएन । ६९ सालदेखि हामीले काम गर्न पाएका छैनौँ । ६९ सालमा हामीले हामीले साधारणसभा गरेर हाम्रो संस्था संकटमा रहेको र ब्याज तिर्न नसक्ने घोषणा गरिसकेका थियौँ ।हामीले ६९ सालदेखि आफ्नो सम्पत्ति केही छुन पाएका छैनौँ । भागेर र लुकेर हिँड्नुपरेको छ । यसरी जिन्दगी बिताएको मान्छेले के काम गर्छ ?

तपाईंबाट ठगिनेहरुको सूचीमा पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानसेनापतिसम्म ठूला भीआईपी रहेछन् । त्यस्ता व्यक्तिहरुलाई कसरी ठग्नुभयो ?

सबैभन्दा पहिले मैले ठगेको होइन । एउटा कुरा म स्वीकार गर्न तयार छु – मैले सानो उमेरमा ठूलो काम गरेँ । मैले काम थाल्दा १७/१८ वर्षको थिएँ । डुब्दा म ३७ वर्ष पुगेको थिएँ । मान्छेले महत्वकांक्षा पाल्नु पाप र गल्ती होइन । नत्र मान्छे चन्द्रमामा किन पुग्थ्यो । मेरो व्यवस्थापन कमजोरी भयो र धरासयी हुन म पुगेँ । यी ठूला मान्छेहरुले मलाई सोधेर पैसा राखेको होइन । ठगी भनेको त मैले तपाईंलाई चिनेर फकाई फुलाई गरे पैसा लिएर बेपत्ता भएँ भने पो भन्न मिल्छ त । ठगले कहिले पनि मेरो सम्पत्ति छ । म दिन्छु र मलाई काम गर्न देऊ भन्दैन । त्यो किन भनिरहनुपर्थ्यो र । ६९ सालमा मेरो हातमा ४५ करोड रुपैयाँ रकम थियो । त्यही पैसा लिएर विदेश गएको भए हुन्थ्यो नि ! किन यो टेन्सन लिएर बस्नुपर्थ्यो र ! अस्ति भर्खर म जेलमा बस्दा पनि भेगास सिटी दिनुहोस्, तपाईंलाई कुन देशमा कति पैसा चाहियो ? आयोगले भनेको कुरा मान्दिनुहोस्’ भन्ने दलालहरु कति धेरै आएका थिए ।

के थिए ती दलाल ?

हप्तामा ३ जना मान्छे आउँथे । दलालहरु धेरै थिए । तपाईंको नाममा होइन तपाईले भनेको देशमा जति पैसा भन्यो त्यति दिन्छौँ भन्नेहरु थिए । त्यतिबेला म ठग भइदिएको भए त्यतिपैसा लिएर विदेशमा आनन्दले जिन्दगी बिताउन सक्थेँ नि !

तपाईंको यो आर्थिक दुर्घटनामा को दोषी हो ?

सबैभन्दा पहिले हाम्रो नीतिको कुरा आउँछ । हाम्रो देशमा कसैले नयाँ नीति ल्याउँछ भने त्यसको प्रभाव के हो भनेर हेर्नुपर्ने हुन्छ । नीति भोलिपल्टैबाट लागू हुँदा कसैलाई राम्रो त कसैलाई नराम्रो हुन्छ । हामी जो हाउजिङमा काम गर्थ्यौं । एकाएक ब्याज बढ्यो । ९ प्रतिशतमा लिएको ऋण १६/१७ प्रतिशत हुन गयो । कडा नीति आयो । तर कुनै समयसीमा दिइएन । एउटा नीति निर्माताले हिजो भइरहेको कामलाई ल्यान्ड गराउन एउटा समय दिनुपर्ने थियो । बाटो खोल्ने काम गर्नुपर्छ । तर, दुर्भाग्य त्यस्तो भएन । कोठाभित्र राखेर विरालालाई कुटे जस्तो गरियो । त्यो कारणले गर्दा धराशायी हुनपुग्थ्यो । एउटा व्यक्ति र संस्थाभन्दा पनि नीतिगत समस्या नै हो । पोलिसीले इन्स्टिच्युसनलाई छोयो, इन्स्टिच्युसनले हामीलाई छोयो । त्यो समय र आजै पनि नेपालीहरुको सबैभन्दा ठूलो व्यवसाय घर जग्गा नै हो । हरेक घर–घरमा नेपालमा जग्गा दलाल र व्यापारी छन् । त्यो समयमा आज एक लाखमा किनेको जग्गा भोलिपल्ट २ लाख हुन्थ्यो । सबैले जग्गामा हाले । दुर्घटना हुँदा त्यसको प्रभाव मलाई प-यो । किनभने म ठूलो रुपमा थिएँ । ठूलो रुपमा भएकैले मलाई समस्या भयो ।

तपाईंको भनाइमा समय नदिईकन सरकारले गरेको नीतिगत निर्णयले कति सम्पत्ति गुम्यो ? ती सम्पत्ति क–कसले खायो ?

अनगिन्ती मान्छेहरुले खाए । धेरै मान्छे मेरो सम्पत्तिबाट अर्बपति र करोडपति बनेका छन् । मलाई नै ठग र चोर भन्छन् । सम्पत्ति मेरो गुमेको छ । एउटा कुरा के हो भने १६ अर्बको सम्पत्ति भएको मान्छेले ४ अर्ब ठग्थ्यो होला र ! त्यतिबेला ४ अर्ब पैसा मेरो लागि केही पनि होइन ।

केही मान्छे धनी भए पनि एकाथरि मान्छेलाई त सडकमा पु-याइएको छ नि ?

सडकमा पुगेका मान्छेहरुको हकमा म के भन्छु भने कतिपयको दोष पनि छैन । सडकमा मात्रै होइन कतिपयले औषधि खान नपाएर मर्नु भएको छ । कतिपयको डिभोर्स भएको छ, घरमा कलह भएको छ । धेरै दुःख पाएका छन् । बजारमा सुनिएभन्दा धेरै पीडित भएका छन् । तर, हुँदाखेरि मैले पनि उहाँहरुलाई राम्रो ब्याज तिरेको थिएँ । यो दुर्घटनामा मलाई त्यहीँभित्रका मान्छेले जाहेरी नहालेको भए सायद स्थिति अर्कै हुन्थ्यो यतिबेला । यद्यपि हामीले यसको सजाय पाइसकेका छौँ । ६९ सालदेखि, भोकै, लुकेर, भागेर दुःख पाएर हिँडेको छु । त्यो एउटा ठूलो सजाय हो । अब समस्यालाई समाधान गर्नुतिर लाग्नुपर्छ । समाधान गर्न सबैले मलाई सपोर्ट गर्नुपर्छ ।

तपाईंको सम्पत्ति पनि सकियो । यता पीडितलाई पैसा पनि तिर्न बाँकी छ, कसरी तिर्नुहुन्छ ?

जति सम्पत्ति सकिए पनि हामीसँग भेगास सिटी बाँकी छ । विगत सात वर्षमा यसको भ्यालु हाई हुँदै गएको छ । हिजोको दिनमा एक जनालाई चार गुणा सम्पत्ति दिन पुग्थ्यो भने आजको दिनमा त्यति नभए पनि सावाँ दिनसक्ने क्षमता मसँग छ । अहिले ३ अर्ब २० करोड रुपैयाँ बाँकी होला । हाउजिङतर्फ ७०/८० करोड होला । बैंकले अक्सन गरेर मेरो सम्पत्ति सस्तोमा बेच्ने काम गरिरहेको छ । यसलाई म मुद्दामा आउने नै छु । हाल म आउन सक्दिन । किनभने कहाँबाट भ्याऊँ । एउटा मान्छे चारैतिरबाट घाँटी न्याकिएको छ । अहिले भएको सम्पत्तिले सबैलाई तिर्न पुग्छ र म जिरोमा पुग्छु । जिरोमा पुग्दा पनि मैले १० अर्ब कमाए बराबर हुन्छ । किनभने नठग्दा नठग्दै पनि मेरो निधारमा ठगीको दाग लागेको छ । पीडितलाई रकम तिरेको दिन म खुसी हुन्छु ।

सरकारले तपाईंको समस्या समाधान गर्न बनाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले त तपाईंको भेगास सिटी लिलाम गर्ने निर्णय गरेको छ नि ?

उहाँहरुले कसका लागि लिलामी गर्ने ? पीडित पक्षका लागि होइन र ? जबकि त्रिपक्षीय सम्झौता गरिएको थियो । ओरेन्टल को–अपरेटिभका आधिकारिक प्रतिनिधि, पीडितको प्रतिनिधि, हाउजिङको प्रतिनिधिबीच सम्झौता भएको छ । उहाँहरु यो प्रोजेक्ट बनेपछि मात्रै पैसा आउँछ भन्ने कुरामा विश्वस्त छन् । त्यहाँ पनि बुद्धिजीवी र विज्ञहरु छन् । जब पीडित नै त्यो भेगास बनाएर सम्पत्ति उठ्छ भनेर लागिरहेका छन् भने कसका लागि उहाँहरु लिलाम गर्न खोज्दै हुनुहुन्छ । पीडितका लागि लिलाम गर्न लागेको हो कि अरु कसैका लागि लिलाम गर्न लागेको हो ?

त्रिपक्षीय सहमति त समितिका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गर्नुभएको हो । अहिले समितिको नेतृत्वमा आउनुभएको युवराज सुवेदीजीले त पीडितकै दुहाइ दिएर लिलामी गर्ने सूचना निकाल्नुभएको हो नि ?

त्यस्तो भएको भए पीडितहरु नै किन सर्वोच्च अदालतमा मुद्दामा जानुभयो ? किन उहाँहरुले युवराज सुवेदीको पटक–पटक विरोध किन गर्नुभयो ? त्यो जरुरी थियो र ? उहाँहरु भन्दै हुनुहुन्छ – अध्यक्ष फेरिँदैमा त्यो संस्थाको नीति पनि फेर्ने अधिकार उहाँलाई छैन । उहाँहरुले जबर्जस्ती गर्न खोज्नुभएको हो । केको लागि लिलाम गर्न खोज्नुभयो, त्यो विषयमा उहाँहरुलाई नै थाहा होला । ल ठीक छ लिलामी गरौँ । म पनि मञ्जुर, पीडित पनि मञ्जुर । तर कति पैसा आउँछ त ? हामीलाई चाहिएको ५ अर्ब, के ५ अर्ब आउँछ लिलामी गरेर ? आजसम्म कुनै डाटा दिन सक्नुभएको छ ?

उहाँले कसका लागि लिलामी गर्न लाग्नुभएको हो त ? तपाईंको आरोप कतातिर हो ?

म कसरी कसैलाई आरोप लगाऊँ । होइन भनौँ भने पनि आधार देखिएको छैन । पीडितहरु मिलेर समाधानमा लागिरहनुभएको छ । यदि पीडितको भलो हुन्छ भने पैसा ल्याउनुहोस् । पारदर्शितामा पैसा आउनुप-यो । कसले किन्ने हो मलाई मत्लब छैन । एकतर्फी लिलाम गर्छु भनेर मात्रै हुन्छ ? लिलाम भनेको जसले सबैभन्दा बढी पैसा हाल्छन् उसलाई दिने हो । बिड हाल्ने मान्छे आएन भने सस्तोमा दिनुपर्ने हुन्छ । कसैलाई दोष दिन त मिल्दैन तर आशंकाहरु धेरै छन् ।

तपाईं प्रतिष्ठित व्यापारी तर लामो समय ठगी आरोपमा जेल बसेर आउनुभयो ? कस्तो अनुभूति भयो ?

मान्छे जेल बस्दैमा खराब हुँदैन । ठगी मुद्दा लाग्दैमा कसैलाई चोर भन्न पाइँदैन । म जुन कारण जेल बसेँ त्यही दाग मेटाउन अहिले लागिरहेको छु । मेरो कारण धेरै मान्छेले दुःख पाउनुभएको छ । भोलि यही जनताले मलाई फूलमाला लगाइदिने दिन पनि आउन सक्छ ।

उनीहरुलाई पीडा दिने त तपाईं नै हो नि फेरि ?

व्यापारमा सही नियत राख्दा राख्दै दुर्घटना हुनु र नियतवश ठग्नु फरक कुरा हो । राम्रो हुँदाको समयमा मेरो कारण धेरैको बिहे, बच्चाबच्चीको पढाइ भएको छ । यदि म आज राम्रो भएको भए उहाँहरु सबैको राम्रो हुन्थ्यो । सहकारी भनेको सँगै हिँड्ने जहाज हो । त्यो जहाज डुब्यो भने पाइलट मात्रै डुब्ने कुरा हुँदैन । म ६९ सालदेखि नै जेलमा बस्दै आएको हुँ । तीन पटक जेल बसेँ । फलानो एसपी सापले बोलाउनुभएको छ हनुमान ढोका आउनुप-यो भनेर बोलाइन्थ्यो । किनभने ठूलाबडाको पैसा हाम्रो सहकारीमा थियो ।

तपाईंको हाउजिङ, सहकारी र एयरलाइन्समा समस्या नै समस्या छ । समस्या नै समस्याको बीचमा कसरी समाधान गर्नुहुन्छ ?

हामी सबै व्यापारीले सिक्नुपर्ने महत्वपूर्ण कुरा एउटा मान्छे गयो भने सबै व्यापार जाने बनाउनुहुँदो रहेनछ । व्यापारलाई अंगहरुमा विभाजन गर्नुपर्ने रहेछ । एउटा बिग्रियो भने अर्को व्यापारले टेकओभर गर्नुपर्ने रहेछ । त्यस्तो अवस्था आएको भए अग्नि एयर बिग्रिँदा हाउजिङ बिग्रिने थिएन र सहकारी पनि चलिरहन्थ्यो । एउटै व्यक्तिले सम्हाल्दा समस्या हुने रहेछ । अलग अलग व्यक्ति र सिस्टममा जानुपर्ने थियो । अग्नि एयर, हाउजिङ र सहकारीलाई एउटै बास्केटमा ल्याउन खोजिरहेको छु ।

अग्नि एयर नै छैन कसरी बास्केटमा ल्याउनुहुन्छ ?

सिम्रिकले अक्सन गरेको कुरा त उसलाई थाहा भएको कुरा हो । हामीले सिम्रिकलाई दिएको जहाज हो । हाम्रो समय भर्खर सकिँदै छ । हामी डुबेपछि तीनवटा बैंकको दबाबमा ब्याज र सावाँ तिर्ने भनेर दिएको हो । अक्सन त ब्याज र सावाँ नतिरेपछि हुन्छ । त्यो जिम्मेवारी सिम्रिक एयरको थियो । सिम्रिक एयरलाई हामीले किन नसमात्ने त । बैंकले के हेरेर बस्यो ? बैंक दोषी हो कि होइन ? बैंक फुस्किन खोजिरहेको छ । अहिले नेपालमा बैंक भनेको लुटिखाने भाँडो भएको छ । पहिले गाउँमा साहु महाजन हुन्थे । यतिबेला नेपालका बैंकहरुले साहु महाजनले जस्तो लुटी खाने धन्दा चलाइरहेका छन् । अहिले साहु महाजन छैन र जनताको अधिकार आयो भनिन्छ तर होइन रहेछ । बैंकमा अहिले पनि त्यो सिस्टम छ ।

ती पीडितहरु जसको घरबार उडेको छ । उनीहरुलाई कसरी र कहिले उद्धार गर्नुहुन्छ ?

२०६९ सालदेखि अहिलेसम्म ७ वर्ष भयो । आजसम्म मैले काम गर्न पाएको छैन । बल्ल मलाई काम गर्ने ढोका खुलेको छ । त्यही पनि अवरोध कायम छ । काम गर्न सुरु गर्नेबित्तिकै मसँग संलग्नै नभएको परिवारका सदस्यको खाता बन्द गर्ने काम भइरहेको छ । यद्यपि सयमा ५० वटा बाटोहरु खुल्ला छन् । म काम गर्दै छु । ६ महिनाभित्र ओरेन्टल पीडित र हाउजिङ पीडितले केही राहत पाउनेछन् । क्यास बाढ्छु भन्न म सक्दिनँ । किनभने बजारको अवस्था यही हो । ठूला बुकिङकर्तालाई हाम्रो अपार्टमेन्ट लिइदिनुस् त्यसको केही अंश सानो डिपोजिटरलाई दिनुहोस् जसले फ्ल्याट किन्न सक्दैन ।

तपाईंको सहकारीपीडितको सूची हेर्दा अनामनगरको युवराज सुवेदी पनि देखिन्छ । समिति अध्यक्ष युवराज सुवेदी हुन् ?

उहाँ सहकारीबाट ऋण लिनेमाध्येको पीडक देखिनुहुन्छ । पीडित होइन । यो प्रश्न मैले उहाँलाई गर्दा मेरो होइन भन्नुभयो । किनभने सबै कागजपत्र उहाँहरुको हातमा छ । कागजात गायब गर्न सक्नुहुन्छ ।

त्यस्तो व्यक्ति हो भने त्यो समितिमा बस्न मिल्छ र ?

समितिमा बस्न मिल्ने नमिल्ने प्रश्न गौण हो । हामीलाई त्यो कानुन पनि लाग्दैन । समाधानका लागि राज्यको कुनै निकाय पनि आउन सक्छ । त्यो निकायले बीचमा बसेर समाधानको भूमिका निभाउनुपर्ने हो । एक उहाँको नाममा ऋण देखिएको छ । त्यसलाई प्रष्ट पार्न उहाँले सक्नुभएको छैन ।

उहाँ त सल्टाउन लाग्नुभएको छ नि, अवरोध त तपाईंहरुले गर्नुभएको भनिन्छ त ?

सल्टाउने खाका के हो ? उहाँसँग के छ ? मलाई डीपीआर माग्नुभयो । तर, कुनै इन्जिनियरविना डीपीआर बुझाएको भनेर दोष लगाउनुभयो । त्यो भनिरहँदा मैले निवेदन लगेर दर्ता गर्दा सिस्टम नपुगेको कुरा किन दर्ता गर्नुभयो ? दर्ता गरेको भनेको स्वीकार गरेको होइन । उहाँहरुलाई डीपीआर भनेको के थियो थाहा थिएन । मैले नै सिकाएको हुँ । आज म चुनौती दिन तयार छु – नेपालमा कसैले त्यो डीपीआर कुनै ठाउँमा गलत छ भनेर देखाओस् अनि मात्रै म मान्न तयार छु । उहाँले हामीलाई फैसजा गरेर रिजेक्ट गर्नुभयो । उहाँलाई के अधिकार छ ? म त इन्जिनियर होइन हस्ताक्षर गर्न मिलेन । उहाँ को हो त त्यसो भए ? उहाँ इन्जिनियर हो ? के आधार छ ? कुनचाहिँ इन्जिनियरले लेखेर दियो ?

डीपीआर भनिएको कागजात पेस गर्नुभएको भनिएको छ नि ?

उहाँको लागि कालो अक्षर भैँसी बराबर । उहाँको लागि त्यो कागजात नै हो ।

समितिले तपाईंहरुलाई काम गर्न समस्या बनायो र अदालत जानुभयो । अदालतले के आदेश ग-यो ?

समस्या समाधानको प्रयोजनका लागि हामी समितिमा गयौँ । हाउजिङ, सहकारी र हामीबीच समस्या थियो । उहाँहरुलाई समस्या समाधान गर्न साक्षीको रुपमा राखिएको हो । साक्षीमा राखेको मान्छेले यो गर्न दिन्न त्यो गर्न दिन्न भन्ने अधिकार कहाँबाट हुन्छ ।

सरकार र समितिसँग तपाईंको अपेक्षा के हो ?

समितिसँग के कुरा भयो र । नेपालका ३ करोड जनतासँग पनि मलाई मतलब भएको कुरा होइन । मेरो आफ्नो हाउजिङका पीडित जुन उपभोक्ताहरु हुनुहुन्छ ।
ओरेन्टलको पीडित जो–जो हुनुहुन्छ, उहाँहरुले साथ दिएर अगाडि बढिरहनुभएको छ । त्यसरी नै साथ दिनुभयो भने यो समस्या चाँडै समाधान हुन्छ । सरकारले कुनै अवरोध गरिदिनु भएन । कतिपय ठाउँमा रोक्का राखिएका छन्, ती ठाउँहरुमा फुकुवा गरिदिनुपर्छ । हामीले सरकारलाई पैसा देऊ मान्छे देऊ भनेका छैनौँ । मलाई मुख्य विश्वास गर्नुपर्ने मेरा पीडितहरुले हो । नेपाली ३ करोड जनताले ठग र चोर भने पनि मलाई मतलब छैन । यी जो पीडित छन्, उनीहरुले मलाई ठग र चोर भनेका छैनन् । त्यसकारण म ठग चोर होइन ।

तपाईंको भनाइको मतलब निर्बाध रुपमा ठगिरहन पाउनुपर्छ भन्ने हो ?

ठगीको परिभाषा के हो ? यसअघि नै भनिसकेको छु । ठग्ने मान्छेको नियत नै ठग हुन्छ । समस्या समाधान गर्छु भन्दै भन्दैन । मैले भनिरहेको छु, ‘अहिले भेगास सिटी बने पनि मलाई चाहिँदैन । त्यहाँबाट उठ्ने पैसा मेरो हातमा पर्दैन । उपभोक्ता समितिले राख्छ । त्यो समिति र ओरेन्टल को–अपरेटिभको सहकार्यमा बिल भुक्तानी गर्न लागेको छ । पैसामा म कतै संलग्न छैन । मलाई जुन यो ठग भन्ने दोष लागेको छ, यो हटोस् त्यो नै मेरो इच्छा हो ।

तपाईंलाई केही दिनअघि फेरि ठगी आरोपमै थुनियो नि ?

म किन थुनिएँ भन्ने भनिरहन पर्दैन । तर, कानुनअनुसार म छोडिएँ । यहाँ कानुन पनि
छ नि !

के तपाईंलाई जेलमै सडाउन आंटेको हो ?

जसले जाहेरी हाल्नुभयो उहाँहरुको इच्छा हेर्दा त्यस्तै लागेको छ । म बाहिर बस्दा यसलाई लिलामी गर्न पाइएन । पीडितहरुले साथ दिएका छन् ।

सुधीर बस्नेतले पीडा सुनाउने र मान्छेलाई सधैं पीडामा पारिरहने शैली मात्रै हो भन्छन् नि ?

त्यो कुरा सही हो । २०६९ सालदेखि धेरै कुराको आश्वासन दिइयो । अहिलेसम्म आश्वासन नै बाँडिराखिएको छ । यस्तो अवस्थामा मान्छेहरुले भन्ने सत्य कुरा हो । तर मैले काम गर्ने मौका कहिले पाएँ त ? २०६९ सालमा म थुनिएँ । हनुमान ढोकाबाट निस्किँदा सारा सम्पत्ति रोक्का थियो । छ महिनापछि पुर्पक्षका लागि थुन्ने प्रपञ्च भएपछि लुकेर हिँडेँ । भूकम्पको समयमा फर्किएर आएँ । पीडितहरुलाई साथ दिएर अगाडि बढ्दै थिएँ । फेरि पक्राउ परेँ र जेल बसेँ । बाहिर निस्किएर भेगास सिटी बनाउन लडाइँ गरेँ । मैले राम्रोसँग काम गर्न पाएकै छैन ।

अदालतको पछिल्लो आदेशअनुसार तपाईंलाई काम गर्न कसैले रोक्दैन । सरकारले पनि अब सहयोग गर्लान्, अब न्याय पाउँछन् त पीडितले ?

अब मैले काम थालेको छु । सबै कुरालाई मैले ट्र्याकमा लगिसकेँ ।

सामाजिक रुपमा तपाईंलाई सबैले ठग भनिरहेको हुन्छ । तपाईंलाई आफैंलाई के लाग्छ ? आत्मग्लानि हँदैन ?

सबैभन्दा पहिला मिडियाले हेर्नुपर्छ म वास्तवमा ठग हो कि होइन । गाली गरेर मिडिया चल्दैन र जे मन लाग्यो त्यो लेख्न पनि हुँदैन । त्यसकारण सरसर्ती हेर्दा मान्छे ठगिएका छन् । तर वास्तवमा भएको के हो भनेर मिडियाले बुझ्नुपर्छ । नियतवश ठगिएको हो कि दुर्घटना भएको हो । मिडियाले यसलाई समाधान कसरी गर्ने भनेर सोच्नुपर्छ । ठग भनेर बाटो खुल्छ भने खोलौँ । जति लेखे पनि हुन्छ लेखौँ मलाई कुनै आपत्ति छैन । तर, समस्या समाधान हुनुपर्छ । म ठग होइन भन्ने कुरा मलाई मात्रै थाहा छ ।

भनेपछि तपाईं आर्फैं ठगिएको हो त ?

पीडितका अगाडि म ठगिएको छु भन्न भएन । पीडितभन्दा बढी म ठगिएको छु । २०६९ सालदेखि अहिलेसम्म विभिन्न समयमा मलाई दुःख दिइएको छ । मान्छेको लागि पैसाभन्दा ठूलो जिन्दगी हो । जिन्दगीदेखि नै ठगिएको छु । समाजमा घृणित भएको छु । सम्पत्तिको कुरा गर्नुहुन्छ भने सबै लुटेर खाएका छन् । बैंक, व्यक्ति सबै मलाई नै ठगिरहेका छन् । जति थियो बैंकले लिलामी गरेर खायो । मिनिमम भ्यालु गरेर लिलामी गरेर मलाई सिध्याइयो । 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com