ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

जनकराज पहारी

तपाईंहरुका कारण पत्रकार अर्जुन गिरी थुनिनुप-यो नि ? घटना के हो ?

हामीले सत्य–तथ्य सूचना अर्जुन गिरीलाई बुझाएका थियौँ । त्यही बुझाएको सत्यका आधारमा उहाँले समाचार लेख्नुभएको थियो । सोही कारण उहाँ थुनिनुभयो ।

के थियो सत्य घटना ?

हामीले विपेन्द्रराज बताससँग पैसा लिनुपर्ने थियो । मेरो दुई करोड २५ लाख र दाइको एक करोड ९८ लाख रुपैयाँ लिनुपर्ने थियो । उहाँलाई सोही समाचार लेखेको आधारमा पक्राउ गरी काठमाडौं ल्याइयो ।

तपाईंहरुबीचको लेनदेननको समाचार लेख्दैमा पत्रकारलाई थुन्नुपर्थ्यो र ?

त्यस्तो थुन्नै पर्ने केही पनि थिएन ।

किन पत्रकार पक्राउ गरियो त ?

उहाँले आफ्नो पावर देखाउनुभयो । पत्रकारलाई थुन्नुभयो । हामी काठमाडौं आयौँ र तीन घण्टा बयान दियौँ पेपरहरु सबै देखाएपछि प्रहरीमाथि पत्रकार महासंघ, प्रेस काउन्सिलको पनि दबाब आएपछि उहाँ रिहा हुनुभयो ।

तपाईंहरुबीचको लेनदेन घटना कास्कीमा, समाचार पनि कास्कीमै लेखिएको थियो । कास्कीमा पनि प्रहरी छ । पत्रकारलाई काठमाडौं ल्याएर थुन्नुपर्ने कारण के हो ?

सीआईबी पोखरामा पनि थियो । कास्की प्रहरी पनि थियो । तर, उहाँहरुले काठमाडौं नै ल्याउनुभयो । पावर देखाउनका लागि ल्याउनुभएको होला । उनीहरुको के सेटिङ थियो ? उहाँहरुलाई नै थाहा होला । यो सबै बतासलाई थाहा होला ।

दालप्रसाद श्रेष्ठ

विपेन्द्रराज बताससँग तपाईंहरुको कारोबारको पृष्ठभूमि के हो ?
बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको रहेछ । बतासले रामकृष्ण देवकोटालाई बेच्नुभएको रहेछ । तर टोपबहादुर परियारसँग मुद्दा रहेछ । परियारले जग्गा आफूले नबेचेको र धितो स्वरुप राखेको बताउनुभएको रहेछ । धितो राखेको जग्गा बेच्नुभयो भन्ने उहाँको मुद्दा रहेछ । त्यो मुद्दा चलेपछि हामीलाई पास गरेर दिन सम्भव भएन । र, हामी ठगिएछौँ भन्ने थाहा पायौँ ।

हामीले सम्पत्ति रोक्काका लागि मुद्दा हाल्यौँ । दुई वटा कित्ता रोक्काका लागि मुद्दा हालेका थियौँ । हामीले जग्गा रोक्का गरेपछि विपेन्द्र बतास आउनुभयो । ‘तपाईंहरुले दुई वटा कित्ता रोक्का गर्नुभएको छ । एउटा कित्ता फुकुवा गरिदिनुस् । त्यही जग्गा राखेपछि ४/५ करोड त बैंकमा राखे पनि आउँछ । तपाईंहरुको पनि व्यवहार पनि मिल्छ भन्नुभयो । हामीले त्यसरी फुकुवा गर्दैनौँ । व्यवहार मिलाउनुस् भन्यौँ । उहाँले ‘म आफैं पार्टनर बस्छु । तपाईंको पैसाको जिम्मा मै लिन्छु,’ भन्नु भयो । हामीले उहाँकै विश्वासमा १९ नम्बर कित्ताको जग्गा फुकुवा गरिदियौँ । फुकुवा गरेपछि सोही जग्गा राखेर एनएमबी बैंकबाट पाँच करोड पैसा निकाल्नुभयो । तर हामीलाई एक पैसा दिनुभएन । त्यही १९ नम्बर कित्ताको जग्गा बैंकमा राखे पनि उहाँले पैसा तिर्नुभएन र लिलाममा गयो । पछि फेरि आउनुभयो र ५९ नम्बरको कित्तामा म पार्टनर बसेर मिलाउँछु भन्नुभयो । फेरि फुकुवा गरिदियौँ तर अन्तिममा सिम्रिक होटल पनि लिलाममै गयो । लिलामबाट ल्याएर हामीले उहाँकै दाइ शान्तराज बतासको नाममा राख्यौँ । त्यो बेच्ने कुरा भयो । तर बेच्न उहाँ मान्नुभएन । त्यतिबेला लिलामबाट फिर्ता ल्याउने बेला कागज गरेर तपाईंहरुले पैसा पाउनुहुन्छ ढुक्क हुनुस् भन्नुभएको थियो ।

तपार्ईंहरुलाई थाहा थिएन र त्यहाँ समस्या थियो भनेर ?

हामीलाई थाहा भएको भए कारोबार नै गर्दैन थियौँ नि । अहिले हामीलाई लागेको छ– विपेन्द्र बतास र उहाँको साथी मिलेर हामीलाई ठगियो । हामी जस्तै पीडित टोपबहादुर परियार पनि हुन् ।

तपाईंहरु ठगिएपछि कहाँ–कहाँ जानुभयो ?

हामीले जिल्ला प्रहरी कार्यालयमा गयौँ र ठगीको जाहेरी दियौँ । र, हामीले ताण्डव न्यूजमा गयौँ । हाम्रो जाहेरी दर्ता गर्न पनि एक हप्ता नै लाग्यो । दर्ता गर्न अस्वीकार नै गरियो । अन्तिममा दर्ता ग-यौँ ।

जाहेरी दिएपछि प्रहरीले किन पक्राउ गरेन बतासलाई ?

प्रहरीले बहानाबाजी मात्रै गरिरह्यो । हामी बुझ्न जाँदा मोबाइल स्वीच अफ छ बुझ्दै छौँ भन्ने जवाफ आउँथ्यो । हामीले जाहेरी दर्ता गरेको दिन पत्रकार अर्जुन गिरीलाई पक्राउ गरियो ।

बतास भनेको पोखराको प्रतिष्ठित कम्पनी होइन र ?

हो । अहिलेसम्म पोखरामा नाम चलेको कम्पनी हो । ठूलो व्यवसाय गर्ने मान्छे भनेर नै हामी ठगियौँ ।

तपाईंको मुद्दामा पछिल्लो समय के भइरहेको छ ?

हामी अहिले दुःखी छौँ । हामी हारगुहार गरिरहेका छौँ । हामीले जाहेरी दर्ता गरेको वैशाख २ गते हो । तर आज २४ गतेसम्म हाम्रो जाहेरीमा प्रहरीले कुनै एक्सन लिएको छैन । कास्की प्रहरीले अहिलेसम्म विपीन बतासलाई पक्राउ गर्न सकेको छैन । के कारणले हो ? समाचार लेखेकै आधारमा पत्रकार अर्जुन गिरीलाई २४ घण्टामा पक्राउ गरी काठमाडौं ल्याइयो । तर, हाम्रो जाहेरी दर्ता भएको २४ दिनसम्म प्रहरी के हेरेर बसेको छ ।

भन्नाले त्यहाँको प्रहरीको मिलेमतो छ भन्न खोज्नुभएको हो ?

हो । कास्की प्रहरीकै मिलेमतो छ । खोजिराखेका छौँ । फोन स्विच अफ छ भन्ने जवाफ आउँदा हामीलाई शंका लागेको छ । एसपी ओम रानाले नै त्यसो भन्नुभएको छ । हामीलाई यो घटनाले सडकमा ल्याएको छ ।

तपाईंहरु अन्यायमा पर्नुभएको कति भयो ?

विपेन्द्रराज बतासले लेखेर दिनु भएको नै दुई वर्ष जति भयो । हामी विभिन्न ठाउँमा पुग्यौँ तर न्याय पाएनौँ ।

यही कथा र समाचार लेख्दा किन पत्रकार पक्राउ गरियो ?

हामीले दिएको यही कथा हो । उहाँले पनि हेरेर बुझेर मात्रै लेख्नुभएको हो । विपिन बतासले समाचार हटाउन अर्जुनजीलाई भन्नुभएको थियो । तर, अर्जुनजीले समाचार हटाउनुभएन । त्यही बदला लिनुभएको हो ।

सरकारकै दबाबमा पत्रकारलाई कारबाही गराउनुभएको हो बतासजीले ?

प्रहरी सेटिङ हुनसक्छ । सीआईबीमा बुझ्दा एक जना डीएसपी सापले भन्नुभएको थियो, ‘केही पत्रकार पनि लिएर आएर बतासजीले दबाब दिनुभएको थियो ।’

अन्त्यमा तपाईंलाई केही भन्नुछ ?

ठगीमा मुद्दा दर्ता गर्दा पनि कास्की प्रहरीले त्यसलाई नभेट्नु हामीलाई पीडा लागेको विषय हो । मुद्दा चलाउनका लागि पहिला बतासलाई पक्राउ गर्नुपर्छ ।

तपाईंहरु दुवै जना कसरी एकैसाथ ठगिनुभयो ?

हामी नजिकै बस्छौँ । हामी व्यावसायिक भेटघाटले चिनाएको हो । लेकसाइडमै सँगै व्यवसाय गर्छौं ।

यो घटनापछि तपाईंहरुको आर्थिक स्थिति कस्तो छ ?

हाम्रो आर्थिक अवस्था कमजोर बन्दै गएको छ । मुद्दामा हाम्रो पैसा खर्च भएको छ । काममा ध्यान दिन पाएका छैनौँ ।

तपाईंहरु ठगिएको समाचार लेख्दा एउटा पत्रकार पक्राउ प-यो । तपाईंहरुलाई कस्तो लाग्यो ?

हामीलाई निकै दुःख लाग्यो । हामीलाई यो देशमा कानुन रहेनछ भन्ने लाग्यो । सत्य लेख्ने पत्रकारलाई पक्राउ गर्नु भनेको कानुनको उपहास हो ।

तपाईंहरुको घटना मिलाउन वा प्रहरी अदालतसँग बतासको सेटिङको चाल पाउनुभएको छ ?

ठग बतासका मालिक विपेन्द्र राज बतास विभिन्न ठाउँमा धाइरहेका छन् । प्रहरी, न्यायाधीश, अदालत र वकिललगायतको घरमा धाइरहेका छन् । (आर्थिक दैनिकबाट)


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com