मैले बनाएको सोचाइमा ४० प्रतिशत मात्र काम हुनसक्यो ।

सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा तपाईं झण्डै १८ महिना रहनुभयो । तपाइँको १८ महिने कार्यकाल कस्तो रह्यो ?

मेरो १८ महिने कार्याकाल, मेरो सोचाइअनुसार रहेन । मैले जुन हिसाबले काम गर्छु र बैंकको भविष्यमा योगदान दिन्छु भन्ने लागेको थियो, त्यो हुन सकेन । मैले बनाएको सोचाइमा ४० प्रतिशत मात्र काम हुनसक्यो । मेरो उद्देश्य यो बैंकलाई राष्ट्रीयस्तरसम्म पु-याउने जुन लक्ष्य थियो त्यो हुनसकेन । विभिन्न कारणहरु भन्दा आन्त्तरिक कारणले गर्दा त्यो पूरा हुन पाएन । जुन उद्देश्य बोकेर आएको थिएँ त्यो भएन ।

तपाईंले व्यवस्थापकीय नेतृत्व लिँदाको अवस्थाको बैंक र नेतृत्व लिएपछि आजको अवस्थाको बैंकमा के फरक छ ?

मैले नेतृत्व लिँदा, कर्मचारीहरु आफ्नो भविष्यको बारेमा अन्योलमा थिए । बैंकको शाख बजारमा गिरेको अवस्था थियो । कर्मचारीहरुको छोड्ने क्रम बढी थियो । निक्षेप घट्ने क्रमका, साथै कर्जामा असुलीको अवस्था खराब थियो । साच्चै भन्नुपर्दा बैंकले आफ्नो शाख बचाउन सक्ने वा नसक्ने र बैंकको व्यवस्थापकीय अवस्थामा थप अन्योलता थियो । कर्मचारीहरुको मनोबल कारण तथा बजारमा अनेक किसिमका हल्लाले गर्दा बैंकको खाताबाट निक्षेप बाहिरिने अवस्थामा थियो ।

तपाईंको नेतृत्व सञ्चालन भएपछि बैंकमा के कस्ता सुधार भए ?

मेरा लागि सबैभन्दा चुनौतीको विषय पहिलो बैंकको साख बचाउने थियो, भने दास्रो कर्मचारीहरुको मनोबल बढाउने नै थियो । तत्पश्चात् मात्र बैंकको प्रगतिको बारेमा सोच्ने अवस्था थियो । पहिलो तीन महिना मेरो लागि यही अन्योल सम्हाल्न नै प्राथमिकताको विषय बन्यो । २०७४ को तेस्रो त्रैमासिकमा बैंकको वासलातलाई पनि बलियो बनाउनुपर्ने दायित्व पनि म माथि नै थियो । क्रमिकरुपमा आएको चुनैतीहरुलाई क्रमशः निराकरण गर्दै, बैंकको २०७४/०७५ को वासलातमा खुद नाफा १० करोड ८८ लाख कमाउन सफल भए भने १७ प्रतिशत लाभांश बाँड्न पनि सफल भएको सबैलाई विदितै छ । यसको अलावा बैंकका विभिन्न परिसूचकांक जस्तै स्प्रेड मा छ दशमलव पाँच प्रतिशत, कस्ट अफ फण्डमा सात दशमलव १७ प्रतिशत बेस रेट मा १२ प्रतिशत र निष्क्रिय कर्जाको अनुुपातलाई शून्य दशमलव ३१ प्रतिशतमा कायम गर्न सफल भएको सबैलाई स्पष्ट नै छ । छ महिनाको अवधिमा यो भन्दा धेरै के अपेक्षा गर्नसकिन्छ ?

तपाईंको नेतृत्वको समय यस बैंकबाट जनकपुरका सेवाग्राहीहरूले के–कस्तो अनुभूति गर्न पाए जस्तो लाग्छ ?

मेरो नेतृत्वको समयमा जनकपुरका यस बैंकका ग्राहकहरुले प्रिभिलेज बैंकिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ तथा एटीएम कार्डको सुविधाको अनुभूति पाए भने बजारमा ३६ प्रतिशत ब्याजमा कर्जा लिने ग्राहकहरुले सस्तो ब्याजदरमा पनि कर्जा पाइने अनुभूति गरे । कृषिजन्य ऋणहरु, कम ब्याजमा उपभोग गर्न पाए भने, विपन्न वर्ग तथा प्राथमिक कर्जाहरु सस्तो ब्याजदरमा लिएर त्यसको सदुपयोग गर्ने अनुभूति यहाँका सेवाग्राहीले गर्न पाएका छन् ।

यसका साथै घर दैलो कार्यक्रमबाट बैंकिङ साक्षरताको अनुभूतिका साथै, करिब २० हजारभन्दा बढी ग्राहक यस बैंकसँग आबद्ध भए । त्यसैगरी, निक्षेपको हकमा अन्य बैंकहरुको तुलनामा राम्रो ब्याजदर तथा बचत गर्ने बानी र यसका फाइदाहरुको ज्ञान, आवश्यक्ता, बैंकिङ साक्षरताबाट सिक्न पाए । उद्योग, कल कारखाना तथा दैनिक व्यापार, व्यवसाय गर्नेहरुले स्थानीय बैंक, विकास बैंक भए पनि वाणिज्य बैंक सरह सुविधा दिन सक्दो रहेछ भन्ने अनुभूति गर्न पाएका छन् ।

सहयोगीको सुन्दर भविष्यका लागि तपाईंले के–कस्ता योगदान दिनुभयो ?

यस बैंकको सुन्दर भविष्यका लागि मैले मेरो छोटो समयमा मुख्य तीन वटा काम गर्न पाएँ । पहिले कर्जा व्यवस्थापनलाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार व्यवस्थित गर्ने, दास्रो यस बैंकमा कार्यरत कर्मचारीहरुका लागि आवश्यक प्रशिक्षण, मनोबल उठाउनका लागि आवश्यक तालिम, तथा कर्मचारीको सुविधाको साथै उहाँहरुको सही व्यवस्थापन, गरे भने तेस्रोमा बैंकको अन्य आए स्रोत बढाउनका लागि अति आवश्यक सुधारहरु जस्तै प्रविधिको विकास, ग्राहकहरुको सुविधाका लागि शाखा विस्तार, बैंकको वैकल्पिक आयस्रोत तथा बैंकको साखलाई उठाउन आवश्यक बैंकको सही परिचय नेपालभर फैलाउने र बलियो बनाउने काम गरे । सुविधामा विस्तार र नेपालका ठूला वाणिज्य बैंकहरुसँग सहकार्य गरेर यसको आम्दानीलाई बढाउने कार्य गरे । भिसा कार्ड युटिलिटी बिल पेमेन्ट, जस्ता आवश्यक सुविधा मोबाइल बैंकिङबाट पनि दिलाउन सकेको जानकारी नै छ । यसको अलावा ब्याज आम्दानीको स्रोत बढाउने काम भएकै हो ।

तपाईंको नेतृत्वकाल सफल भएको हो ? यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?

सफल वा असफल भन्ने कुरा त मैले भन्ने होइन । यो ग्राहक, सेवाग्राही, बजार तथा सम्बन्धित निकाय र तपाईंहरु जस्तो व्यक्तिहरुले औंल्याउने हो । म के भन्छु भने मेरो कार्यकालमा बैंकले सबै क्षेत्रमा विकास, विस्तार र विश्वास बढाउन सफल भयो । कर्जा, निक्षेप, शाखा विस्तार व्यावसायिकस्तर देखि स-साना ग्राहकहरुले समेत बैंकबाट सुविधा पाउन सके, त्यसैले त ६० हजार ग्राहकबाट ८५ हजार ग्राहक बनाउन बैंक सफल भयो ।

छोटो अवधिमा यस्तो प्रतिस्पर्धाको बेला २५ हजार खाता झण्डै १७ महिनामा पुग्न कुनै सजिलो विषय होइन । करिब तीन अर्ब ऋणबाट बैंकले खराब कर्जालाई हटाएर न्यूनतम अवस्थामा ल्याई, चार अर्ब ऋण कर्जा बनाउन सफल भयो । अहिलेको क्षमतालाई हेर्ने हो र अहिलेको बजारमा देखिएको निक्षेपको असुरक्षित प्रतिस्पर्धामा ९० करोड निक्षेप बढाउन सामान्य कुरा होइन, भने ब्याज आम्दानी र सञ्चित रकममा उल्लिखित प्रगति छन्, हाम्रो जस्तो सानो बैंकका लागि धेरै ठूलो कुरा हो ।

कर्मचारीहरु विश्वास गरेर यही बैंकसँग आबद्ध हुनु, बजारमा बैंकको साखमा सुधार आउनु, बैंकले १७ प्रतिशत लाभांश बाँड्नु, सेयर मूल्य अन्य बैंकको तुलनामा स्थिर भई राम्रो मूल्यमा समावेश भई बस्नु, ग्राहकहरुका सुविधामा सोचेभन्दा बढी दिन सक्नु नै सफलता हो भन्ने मैले महसुस गरेको छु । आज पनि प्रतिसेयर आम्दानी विकास बैंकहरु मध्ये सबैभन्दा बढी यही बैंकको छ । तत्पश्चात् निक्षेपमा चल्तीको अंश शून्य दशमलव सात प्रतिशत बचतको अंश ७० प्रतिशत र मुद्दतिको अंश २३ प्रतिशत रहनुले बैंकको निक्षेपको समायोजन बलियो भएको प्रस्ट हुन्छ ।

त्यसैगरी, कर्जामा व्यक्तिगत कर्जा जम्मा आठ प्रतिशत र सामाजिक कर्जा ११ प्रतिशत मात्र हुनाले नेपाल राष्ट्र बैंकको नीति निर्देशनको पालना भएको प्रस्ट छ । यसैगरी हाल स्प्रेड छ प्रतिशतमा रही २० प्रतिशत लाभांश दिने सक्ने बैंक बन्नुमा बैंक धेरै बलियो छ भन्ने प्रस्ट हुन्छ । त्यसैगरी बैंकले कर्जा जोखिम भाराङ्कलाई घटाएर १ प्रतिशतभित्र समेट्न सकेको छ । बैंकको परिसूचाङ्कहरुको सुधारले गर्दा सेयर धनी महानुभाव, तथा ‘स्टेक होल्डर’ हरु पनि खुसी छन् । सेवाग्रहीहरु थप सुविधाबाट लाभान्वित छन् ।

तपाईंको सबल पक्ष र कमजोर पक्षहरु के–के हुन् ?

मेरो सबल पक्ष भनेको म कुनै पनि विषयलाई अध्ययन गर्दा सम्बन्धित पक्षसँग वार्तालाप गरी निचोडमा आउने हो । त्यसैले म बैंकिङ पद्धतिको विकासका लागि बनाइएका आधारभूत व्यवस्था र नेपाल राष्ट्र बैंकका निर्देशनभित्र रहेर काम गर्नुपर्छ भन्ने हो, साथै सबैसँग खुलेर रमाउने व्यक्ति हो यी मेरा सबल पक्ष हुन् भने कमजोर पक्षमा म अनावश्यक कुरामा झुक्दिनँ र म सजिलै सकारात्मक देख्छु र कसैको चित्त नदुखाउने मेरो सबैभन्दा कमजोरी यही छ जसले गर्दा मलाई कतै–कतै अनावश्यक लाञ्छना लाग्ने गर्छ । म त्यो कुरा सहन सक्दिनँ, यो सुधार गर्न धैरै कोसिस गरें, तर पनि खोइ, रगतमा नै छ कि के हो, सुधार हुन सकेन ।

एउटा सफल प्रमुख कार्यकारी अधिकृतका लागि के कस्ता गुणहरू हुनुपर्दछ ?

एउटा सफल प्रमुख कार्यकारी अधिकृतका लागि सबैभन्दा पहिलो निष्पक्ष भएर निर्णय गर्ने सक्ने, नीति–नियमको ९९ दशमलव नौ प्रतिशत अवलम्बन गर्ने र त्यसलाई व्यवस्थितसँग कार्यान्वयन गराउने क्षमता हुनुपर्छ, भन्नाले प्रशासनमा अलि कडा, बलियो हुनुका साथै, इमानदार, मिहेनती तथा धैर्यवान् हुनु अति आवश्यक छ भन्ने मलाई लाग्दछ ।

सहयोगीमा आएपछि तपाईंले गर्नुभएको मुख्य कार्य के–के हुन् ?

सहयोगी विकास बैंकको नेतृत्व सम्हालेपछि मेरो मुख्य कार्यमा पहिलो, बैंकलाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कार्य गर्ने, गराउने, कार्यान्वयन पक्षमा कमजोर हुन नदिई यसलाई अक्षरशः पालना गराउने पहिलो कार्य हो भने दास्रोमा यस बैंकको प्राविधिक विकास, शाखा विस्तार र कर्मचारीको मनोबल कायम गरी बैंकको परिसूचकांकहरुलाई बलियो बनाउनु थियो । त्यसैगरी तेस्रोमा बैंकको गिरेको साखलाई उठाउने र वित्तीय व्यापारबाट हुनसक्ने अधिकतम प्रतिफल कमाएर सेयरधनी महानुभावहरुलाई सन्तुष्टि दिने थियो । सरल भाषामा भन्नुपर्दा स्टेक होल्डरहरुको विश्वास जितेर खुद नाफा बढीभन्दा बढी आर्जन गर्ने नै थियो । जुन मेरो कार्यकालको छोटो अवधिमा गर्न सफल भयो जस्तो लाग्छ । हामीले १५ वर्षमा नभएका सुधारका कामहरुको सुरुवात गरी धेरैभन्दा धेरै काम गर्न सफल भयौँ ।
बैंकको लगानी, परिसूचकांकको अवस्थालाई तपाईंको योगदान कस्तो रह्यो ?

मैले नेतृत्व सम्हाल्दा, यस बैंकको निक्षेप तीन अर्ब ४५ करोड ४६ लाख रुपैयाँ थियो भने आज यस बैंकको निक्षेपमा करिब ९१ करोड वृद्धिलाई चार अर्ब ३७ करोड ३५ लाख भएको छ । त्यसैले खराब ऋणहरुलाई व्यवस्थित गर्दै, बैंकबाट हटाउने कार्यका साथै कर्जातर्फ एक अर्ब एक करोड ८५ लाख वृद्धि भई जम्मा कर्जा चार अर्ब एक करोड ८५ लाख भएको छ । बैंकको जम्मा ८ शाखाबाट आज १४ वटा शाखा भएका छन् ।

घाटामा रहेका शाखाहरुलाई व्यवस्थित गरी नाफामा परिणत गर्नुका साथै, यसपालि २० प्रतिशत लाभांश दिन सकिने अवस्थामा बैंक छ । नयाँ खुलेका शाखाहरु पनि यसैवर्ष नाफामा आउने प्रबल सम्भावना रहेका छन् । ग्राहकहरुको सन्तुष्टिका कारण हाल ८५ हजारभन्दा बढी यस बैंकसँग आबद्ध छन् । बैंकले विपन्न वर्ग प्राथमिक क्षेत्र र कृषिक्षेत्रका लागि नयाँ सोच र अवधारणलाई अगाडि बढाएर कम ब्याजदरमा सुविधा दिँदै आएको छ ।

यस क्षेत्रको महिलाहरु तथा स-साना व्यवसायीहरुका लागि सामाजिक, व्यक्तिगत तथा अन्य कर्जामार्फत सुविधा दिइएको छ ।विभिन्न व्यापारिक संस्थासँग समन्वय गरी हायर पर्चेज लोन ऋण सुविधा उपलब्ध गराएकै छ । अधिकांश परिसूचकांकहरु बैंकको सुधारमा देखिएकै छ । त्यसैले एनपीएब, बेस रेट, कस्ट अफ फण्डहरु सबै सुधार भएका छन् । बैंकको परिसूचकांकहरुको राम्रो भएको छ । यो ठूलो उपलब्धि हो ।

 

तपाईंको अनुभवबाट भन्नुपर्दा सीईओको राम्रा र नराम्रा ३–३ वटा पक्षहरू के–के हुनसक्छन् ?

मेरो आफ्नो व्यक्तिगत विचारमा भन्नुपर्दा सीईओको राम्रो पक्षमा पहिलो इमानदारिता, दोस्रो धैर्यता र तेस्रो मिहिनेत नै हो । प्रशासनतर्फ फितलो हुनु, नकारात्मक सोचले अगाडि बढ्नु र कसैलाई नकारात्मक मूल्यांकन गर्नु तथा बजारका सूचनासँग अनभिज्ञ हुनु हो ।

तपाईले सहयोगी विकास बैंकको सीईओ पद छाड्न लागेको सुनिन्छ ? के कति कारणले बैंक छाड्दै हुनुहुन्छ ?

सञ्चालक समितिको २७३ औं बैठकमा मेरो राजिनामा माग भयो, के किन कति कारणले त्यो सबै स्पष्ट गर्न खोज्दा पनि कुरा मिलेन र मैले पनि बैंकको स्थायित्व र भविष्यमाथि नकारात्मक स्थिति नआओस् भन्ने मनसायले राजिनामा दिएको हो ।

बैंकमा तपाइँ चार वर्षका लागि नियुक्त हुनुभएको थियो ? तर १८ महिना नपुग्दै छाड्नुहुँदैछ । यसले बैंकका ग्राहक र शुभचिन्तकमा कस्तो सन्देश जाला ?

म यस बैंकको प्रमुख कार्यकारी पदका लागि ४ वर्षका लागि नियुक्त भएको थिएँ । तर छोटो समयमा जानुप-यो । यसले बैंकका ग्राहक, शुभचिन्तक तथा नियमन निकायदेखि सेयर धनीहरुलाई अवश्य पनि नकारात्मक सन्देश जान्छ । वित्तीय बजारमा भएको अवस्थाको विश्लेषण राम्रोसँग नभई यस्तो कुराले अवश्य पनि राम्रो सन्देश जाँदैन । यो कुरा त उहाँहरुले बुझ्नुपर्ने हो ।

तपाईंलाई सहयोगी विकास बैंकमा सीईओ भएर काम गर्ने सिलसिलामा कुनै दुःख लाग्ने घट्ना पनि बेहोर्नुप-यो ?

काम गर्ने क्रममा साना–तिना, झिना–मसिना कुराहरु त भइहाल्छन्, तर जुन आश्वासनमा आएको थिएँ सो हुन सकेन । २०७४/०७५ को आर्थिक वर्षपछि व्यवहार मप्रति गरियो, त्यसले मलाई अत्यन्त दुःख लाग्यो । मेरो प्रतिस्थापनमा आव ०७५/०७६ को साउन महिनाबाट नै खोज्ने प्रयास भए र सो को जानकारी मलाई भएपछि दुःख लागेको थियो ।

सञ्चालक समितिका अध्यक्षसँगको तपाइँको मनमुटावको तथ्य बाहिर आएको छ । यथार्थ कुरा के हो ? त्यही मनमुटावकै कारणले बैंक छोड्न लाग्नुभएको त होइन ?

मैले पहिले नै भनेँ, केही हदसम्म यो सत्य हो ! वास्तविकतामा भन्नुपर्दा उहाँसँग मेरो सामञ्जस्यता हुन सकेन, उहाँले आफ्नो अडानमा छोड्न भएन, त्यसैले मैले त्यस संस्थामा रहिरहन उचित ठानिनँ र १५ औं साधारणसभाको कार्यक्रम सकाएर बैंक छोड्ने निर्णय गरेको हो । यो निर्णयले मैले धेरै कुरा बुझ्ने र वास्तविकता सिक्ने अवसर पाए । म उहाँलगायत सबै सदस्यहरुलाई शुभकामनासहित धन्यवाद दिन चाहन्छु ।

तपाइले बैंकलाई जिल्लास्तरबाट राष्ट्रियस्तरसम्म चिनाउने र बलियो बैंकको रुपमा रहन प्रयास गर्नका बाबजुद पनि तपाईंलाई सञ्चालक समितिले किन बैंंक छोड्नपर्ने अवस्था बनायो ?

म यो कुरामा जान चाहन्नँ । एउटा सीईओले बोल्न पनि मिल्दैन । तर कुरा के हो ? कारण के होलान् ? भने कुरा सबै पक्षलाई प्रस्ट छ । यो समयले बताउने विषय हो, त्यसैले यसमा थप कुरा नगर्दा राम्रो होला । जिल्लास्तरबाट राष्ट्रिस्तरसम्म पु-याउने मेरो सोच भने भएन । त्यसमा भने दुःख लागेको छ ।

आगामी दिनमा तपाई के गर्ने सोचमा हुनुहुन्छ ?

मैले अहिले केही सोचेको छैन । म केही समय परिवारसँग बिताउन चाहन्छु । मैले मेरो बुबाआमा र परिवारलाई विगत दुुई वर्षदेखि समय दिन पाएको थिइनँ । मेरो घरायसी कामहरु पनि गर्नु छ । केही समय मेरो दुई छोरीहरुसँग घुम्न जाने सोचमा छु । (आर्थिक दैनिकबाट)


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com