वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

विक्रम कार्की
‘नेपालमा केही जागिर पाइएन अब विदेश जाने हो’ हरेक नेपाली युवाहरुको मुखबाट निस्किने शब्द हो यो । नेपाली समाजमा वैदेशिक रोजगारीमा नगएको घर पाउन मुस्किल छ । वैदेशिक रोजगारीका लागि दैनिक करिब एक हजार पाँच सयभन्दा बढी नेपाली युवाहरु जाने गरेका छन् । राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीले दुई छाक टार्न र परिवार पाल्नकै लागि नेपाली युवाहरु विदेशिनुपर्ने बाध्यता छ ।
नेपाली युवाले शैक्षिक डिग्रीको प्रमाणपत्र बोकेर पनि स्वदेशमा रोजगारको अवसर पाउनसकेका छैनन् । रोजगारीको खोजीमा डिग्रीको प्रमाणपत्र बोकेर हिँड्दा थकान भएको उसले मनले रोज्ने गर्छ, वैदेशिक रोजगारी नै उत्तम विकल्प हो । नेपालमा रोजगारीको अवसर नै छैन भन्न त मिल्दैन । तर, शैक्षिक जनशक्तिको अनुपातमा रोजगारीको अवसरको अनुपात कम छ । विदेश जाने मान्छेलाई साहुले तत्कालै ऋण दिन तयार हुन्छ तर नेपालमा व्यवसाय सञ्चालन गर्छु भन्दा कसैले पत्याउँदैन । कसैले ऋण पत्याइहाले भने पनि राजनीतिक अस्थिरता, चन्दा आतंकले गर्दा निर्धक्क भएर लगानी गर्न सकिँदैन । सानोतिनो लगानीबाटै स्वरोजगार बनौं न त भन्दा पनि हाम्रो नेपाली समाजले कामको सम्मान गर्नै जानेको छैन । सानोतिनो काम गर्न हामी नेपालीलाई लाज लाग्छ । गतिलो काम सहजै पाइन्न । सरकारी जागिर खान कि घुस चाहिने कि नेताको फोर्स चाहिने । त्यही भएर नै होला लाखौँ नेपालीको रोजाइमा परेको छ, वैदेशिक रोजगार ।
वैदेशिक रोजगारीका कारण नेपाली समाजमा धेरै प्रकारका परिवर्तनहरु आएका छन् । वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा परिणत भएका छन् । साइकल चढ्नेहरु मोटरसाइकल र स्कुटरमा बजार ढुल्ने हैसियत निर्माण गरेका छन् । अलि राम्रो कमाइ गर्नेहरुले सहरतिर चार आना घडेरी पनि जोडेका छन् । वैदेशिक रोजगारले केहीको आर्थिक उन्नति भए पनि धेरैले पैसाको दुरुपयोग गरिरहेका छन् । विलासिता र देखासिकीले नेपाली समाज बिग्रिँदै गएको छ । समाजमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । पैसा कमाउने मात्र राम्रो र ठूलो मान्छे भन्ने भ्रम सबैलाई पर्न थालेको छ । छोराछोरी पढाउने बहानामा गाँउबाट विस्तारै सहरतिर बसाइ सर्नथालेका छन् । खर्च गर्ने ठाउँहरु प्रशस्त भएका छन् । फ्रिज र वासिङ मेसिनहरु सहजै मध्यमवर्गका घरमा छिर्नथालेका छन् । परिवारका सदस्यहरु सौखिन बन्नथालेका छन् । खेतहरु बेचिँदै गएका छन् । खेती गर्ने जमिनले घडेरीको रुप लिँदै गएको छ । काम गर्ने मानिस पाउन छाडिएको छ । करेसाबारीमा तरकारी फल्दैन, बजारमै फल्नथालेका छन् सबै तरकारीहरु । मासुको भाउ जति बढे पनि उति बिक्नथालेको छ । काम गर्ने बानी हराएको छ परदेशिएका परिवारका सदस्यहरुमा । खानपानमा अस्वस्थ, जंक फुड, केमिकलयुक्त, चिल्लो, पिरो अनि अमिलोको मात्रा बढेको छ । यस्तै अस्तव्यस्तताका कारण घरबासीलाई विभिन्न रोगले च्याप्दै लगेको छ । परदेशीका परिवारमा बिरामी नहुने को होला र ? विदेशबाट नेपाल पुगेको २५ प्रतिशत पैसा उपचार खर्चमा समाप्त भएको छ । महिलाहरु श्रीमान् आउने दिन गन्दै बसेका छन् । केहीले परपुरुषसँग अवैध सम्बन्ध राखेका छन् परिवारको आँखामा छारो हाल्दै । छोराछोरीहरुले बाबु भनेको पैसा कमाउने जात हो भनी बुझ्नथालेका छन् । वैदेशिक रोजगारमा गएका छोराछोरीका बाबुआमाको कथा भने बेग्लै छ । उनीहरु आफ्नो घरजग्गा धितो राखेर छोराछोरीलाई विदेश पठाउँछन् । तर, त्रिभुवन विमानस्थलबाट उडेको दिनदेखि अधिकांश छोराछोरीहरु आमाबुबालाई सम्झेर एक कल फोन गर्दैनन् । ऋण तिर्ने त टाढैको कुरो भयो । अधिकांश बाबुआमाको जीवन छोराछोरीहरुको बाटो हेर्दै बित्छ । वैदेशिक रोजगारीले नेपाली समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव बराबरी रुपमा पारेको छ । बूढेसकालमा छोराले पाल्ला भन्ने आशा गरी बसेका बाबुआमाहरु त्यही छोराको बोली नसुनी मरिरहेका छन् । केही सकारात्मक प्रभाव परे पनि वैदेशिक रोजगारीले नेपाली समाजको संरचना बिगार्दै लगेको छ ।
विदेशबाट फर्किएका युवाहरुले ठूला सुटकेस बोकेर आएको, राम्रो लुगा लगाएको, केही समय हातमा राम्रो मोबाइल खेलाएको तथा खल्तीभरि पैसा देखेपछि अरु युवा वैदेशिक रोजगारप्रति आकर्षित हुनु स्वाभाविक हो । तर, बुझ्नैपर्ने कुरा, खाडीमा गएर काम गर्दाको पीडा, चरम श्रम, अत्यधिक गर्मी, साहुको चर्को आदेश, परिवारसँगको विछोडका पीडा आफ्नै कथा बनेर मनभरि उकुस–मुकुस भएको व्यथा कम छैन । अझ नेपाली समाजले आफन्तहरुको मृतशरीर बाकसमा प्राप्त गर्दाको पीडा उत्तिकै दर्दनाक छ । नेपालमा रोजगारीको अवसर सिर्जना गर्ने तथा राज्य सञ्चालन गर्ने संयन्त्रको इच्छाशक्ति र व्यावहारिक योजना साह्रै शून्य मनस्थितिबाट मन्द गतिमा चलिरहेको छ । यस अर्थमा हेर्दा वैदेशिक रोजगारको सकारात्मक पाटोभन्दा नकारात्मक पाटोहरु धेरै छन् । एकातिर दक्ष जनशक्ति विदेशिँदा नेपाली भूमिले सोचेअनुसारको प्रगति गर्न सकिरहेको छैन भने ती विदेशिएका जनशक्तिहरुले पनि विदेशमा भनेअनुसारको अवसर, तलब र काम नपाउँदा निकै कष्टकर जीवन व्यतित गर्नुपरेको छ ।
नेपालको जनगणना २०६८ को तथ्याङ्कअनुसार, देशको कुल जनसंख्याको ५६ दशमलव ९६ प्रतिशत जनसंख्या १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । यो उमेर समूह श्रमको निम्ति सक्रिय जनशतिm हो । देशको ठूलो हिस्सा श्रमयोग्य हुनु खुसीको कुरा हो । राज्यले रोजगारीको अवसर सिर्जना गर्न नसक्दा आजका युवाहरुको मनमस्तिष्कमा वैदेशिक रोजगारीमा जाने आर्कषण बढेको हो । माओवादी जनयुद्ध र मधेशमा भएको सशस्त्र द्वन्द्वका समयमा गाउँका गाउँ रित्याउँदै युवाहरु विदेशिन बाध्य थिए । त्यस समयमा तत्कालीन द्वन्द्वका कारण विदेशिन बाध्य भए पनि शान्तिप्रक्रियाको सुरुवातसँगै विदेशिने क्रममा उल्लेख्य कमी आउने आशा निराशामा बदलिएको छ । युवाको मस्तिष्कमा यदि उद्यम हुन्छ भने त्यो विदेश गएपश्चात् मात्र हुन्छ भन्ने भावले जरो गाडेको छ । एस.एल.सी. परीक्षा पास गरेको युवाको मनमा मेरो कहिले विदेश जाने उमेर पुग्छ भन्ने लागिसकेको हुन्छ । नेपालमा भविष्य छैन भनेजस्तो काम हुँदैन, भए पनि जीवन धान्न मुस्किल हुन्छ, भन्नेजस्ता वाक्यांश बूढापाकादेखि १५÷१६ वर्षको किशोरहरुबाट सुन्न सकिन्छ । लाग्छ, आज पैसा कमाउने पहिलो र अन्तिम माध्यम छ भने त्यो विदेश नै हो ।
यसर्थ नेपाली युवाको विदेशिने क्रमलाई रोक्न सम्बन्धित सरोकारवाला निकायले ठोस योजना तर्जुमा गर्नु आजको आवश्यकता हो । वैदेशिक रोजगारीप्रति नेपाली युवाहरुको बढ्दो मोहलाई रोक्न नेपाल सरकारले त्यति चासो दिएको देखिँदैन । सरकारले स्वदेशी स्रोत र साधनको अधिकतमरुपमा सदुपयोग गर्दै कलकारखाना, उद्योग धन्दालगायतको क्षेत्रमा सरकारका तर्फबाट गरिने लगानीमा समेत वृद्धि गर्नसके नेपाली युवा विदेशिने क्रम न्यून हुने थियो । हाइड्रोपावर, पर्यटन, कृषिलगायत आवश्यक खानी उत्खनन गर्ने बहुराष्ट्रिय उद्योग धन्दा सञ्चालन गर्नतर्फ राष्ट्रको ध्यान गए नेपाल सम्भावित बालकवृद्धको देश भनेर चिनिने थिएन । जे जति अवसर आउँछन्, त्यसमा पनि आफ्ना नातागोता मात्रमा हालीमुहाली हुनु पनि अर्को विडम्बना पनि हो ।
स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी शिक्षित युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने समयमा आज नेपाल तिनै युवा वर्गको विप्रेषण अर्थात् रेमिट्यान्सको भरमा चलिरहेको अवस्था छ । नेपालको अर्थतन्त्र तिनै विदेशिएका युवावर्गले थामिरहेको अवस्था छ । यसरी हेर्दा नेपालका नेतृत्वकर्ताहरुले जोस, जाँगर अनि ताकतको भण्डार युवा जमातलाई रेमिट्यान्सको फ्याक्ट्रीको रुपमा हेरिरहेको भान हुन्छ । अनि फेरि तिनै नीति निर्माणको तहमा रहेका नेतृत्वकर्ताहरु भन्छन्, ‘युवालाई विदेशिनबाट रोक्नुपर्छ ।’ शैक्षिक रुपमा निकै माथिल्लो तहमा पुगेका युवा वर्गसमेत आज खाडी मुलुकमा अर्काको मातहतमा रही दासीसरह काम गरिरहेका छन् । आखिर यो उनीहरुको बाध्यता हो । परिवर्तनको पथमा देशलाई डो¥याउने एवम् सकारात्मक दिशाबोध गर्ने युवाजमात विदेशिँदा आज गाउँघरहरु रित्ता भएका छन् । मलामी पाउन समेत कठिन परिस्थिति छ । विश्वमा विदेशिएर रेमिट्यान्सकै भरमा चल्ने देशमध्ये चिली पनि एक थियो । तर, पछिल्लो क्रममा कुशल प्रशासकहरुले सबै विदेशिने युवाहरुलाई आफ्नै देशमा अवसरको सिर्जना गरेर त्यो एकमुष्ट शक्तिलाई देशको पुनर्निर्माणमा फर्काई आज जसरी सिङ्गापुर एसियाको सम्पन्न मुलुकमा गनिन्छ । त्यसरी नै चिली पनि साउथ अमेरिकाको व्यावसायिक र सम्पन्न मुलुकको सूचीमा आफूलाई उभ्याउन सफल हुँदै गएको छ । यस्तै, उदाहरण साउथ कोरियाको पनि छ । त्यसैले अब राष्ट्र सञ्चालनको अवसर पाउनेहरुले देशका लागि, देशवासीका लागि, युवाहरुका लागि खलनायक भएर होइन, नायकको भूमिकामा उभिनु जरुरी छ । यसका लागि युवावर्गले सम्पूर्ण शक्तिकेन्द्रित गर्नेछ । अब नेपालले पनि वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप, ज्ञान, श्रमता र ऊर्जालाई देश विकासका लागि खर्च गर्ने वातावरण बनाउनुपर्छ ।
नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा जोस, जाँगरको अभाव छ । युवावर्गको उपस्थिति नितान्त न्यून छ । जसले गर्दा समाजले सोचेअनुरुपले विकासको गति डो¥याउनसकेको छैन । त्यसैले सम्बन्धित निकायले एकपटक सोच्नैपर्ने बेला आएको छ । स्वदेशी स्रोत र साधनको उपयोग गरी विदेशिएका सम्पूर्ण युवाजमातलाई स्वदेशी माटोमा नै रोजगारीको अवसर सिर्जना गर्न सम्बन्धित निकाय जुर्मुराउनैपर्ने बेला आएको छ । नेपाली युवा विदेशिनुको प्रमुख जड भनेको बेरोजगारी नै हो । तसर्थ सरोकारवाला निकायले युवाशक्तिलाई स्वदेशमा नै परिचालन गरी स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै रोजगारीको अवसर सिर्जना गर्नु जरुरी छ ।
हुन त स्वदेशमा रहेका बेरोजगारी समस्या, आयआर्जनको अभाव, राजनीतिक अस्थिरता, शैक्षिक जनशक्ति व्यवस्थापन गर्न नसक्नु, नेपालीहरुको विदेशी मोह र आर्थिक भूमण्डलीकरणका कारण नेपालीहरुको विदेश जाने क्रम तत्काल रोकिने अवस्था छैन । साथै राज्यको ठूलो आर्थिक स्रोतको रुपमा विप्रेषण रहेको छ । राज्यको आर्थिक भार विप्रेषणले ओगटेका कारण वैदेशिक रोजगारीबाट अन्य क्षेत्रमा ३५ लाखभन्दा बढी नेपाली जनशक्तिलाई अन्य क्षेत्रमा डाइभर्ट गर्नसक्ने सम्भावना छैन । त्यसैले नेपाल र नेपालीका लागि आजका दिनमा ठूलो अवसर र चुनौती बनेको छ वैदेशिक रोजगारी । यस कुरालाई हामीले नकार्न मिल्दैन । त्यसैले यो अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन २०६४ वैदेशिक रोजगार नियमावली २०६४ र वैदेशिक रोजगार नीति २०६८ जारी गरेको छ । नेपाली कामदार पठाउने मुलुकमा राजदूत वा श्रम सहचारी पठाउने कार्य पनि अघि बढाएको छ । त्यसैगरी त्रिवर्षीय योजना २०७०÷०७१–२०७२÷०७३ मा वैदेशिक रोजगारीलाई महत्व दिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित भरपर्दो र प्रतिफलयुक्त बनाउने, श्रमिकको हकअधिकारको संरक्षण तथा लगानीमैत्री वातावरणको सृजना गरी सुमधुर श्रम सम्बन्ध स्थापना गर्ने, सीप तथा व्यावसायिक तालिमका अवसरहरु वृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक श्रमशक्ति विकास गर्ने र सामाजिक सुरक्षा कोष परिचालन गर्ने उद्देश्य राखेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा नठगियून् भनेर नेपाल सरकारले रोजगारीमा जानेलाई अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गरेको छ । आव २०७१÷०७२ मा विभिन्न जिल्लामा अभिमुखीकरण गर्नै स्वयंसेवक परिचालन र वैदेशिक रोजगारीमा जानेका लागि परामर्शकर्ताको व्यवस्था गरेर सेवा दिनथालेको छ । खाडीमुलकमा भिसा र हवाइ टिकटको रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने र मेनपावर कम्पनीले यसबापतको शुल्क लिन नपाउने भनिएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नेपाल सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्रालय, श्रम तथा रोजगार प्रवद्र्धन विभाग, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, व्यावसायिक तालिम केन्द्र, परराष्ट्र मन्त्रालय र सोअन्तर्गत विदेशस्थित नेपाली नियोगहरुको व्यवस्था गरेको छ । तर यी सबै कानुनमा मात्रै सीमित भएका छन् । नीति बनेका छन् कार्यान्वयनको पक्ष फितलो छ ।
आगामी दिन वैदेशिक रोजगारी युवाको बाध्यता नभई रहर बनोस् । देश रेमिट्यान्सको भरमा मात्रै चल्ने स्थितिको अन्त्य होस् । परिवारका सदस्य कहिले बिछोडिन नपरोस् । नेपालमै रोजगारीको सिर्जना गरी नेपाललाई उत्पादनमूलक देशको रुपमा स्थापित गर्न सकियोस् । रोजगारीका लागि नेपालीहरु बाह्य राष्ट्र होइन, बाह्य राष्ट्रका युवाहरु नेपाल आउने वातावरण सिर्जना गर्न सकियोस् । यदि यतातिर नेपाल सरकारको ध्यान जाने हो भने नेपाल सरकारले विकास निर्माणको लागी बाह्य शक्तिसँग हारगुहार माग्नुपर्ने अवस्था आउँदैन ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com