चाउचाउमा अखाद्य वस्तुको अत्यधिक प्रयोग गरेको नेशनल इन्स्टिच्युट अफ हेल्थको पुष्टि

रोशन कार्की
काठमाडौै, जेठ १
सजिलो र चाँडो हुने भन्दै तीव्र रुपमा खाँदै आएको चाउचाउ स्वास्थ्यका लागि हानिकारक हुने गरेको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । खासगरी चाउचाउमा हालिने विभिन्न पदार्थमध्ये ‘मनोसोडियम गुल्टामेट’ (मासु, च्याउजस्तो बास्ना र स्वाद बढाउने नुनजस्तो देखिने सेतो पदार्थ जसलाई अजिनोमोटो पनि भनिन्छ)को विषयमा अहिले विश्वव्यापी चर्चा र विवाद बढ्दो रहेको छ । आधुनिक खाद्य विज्ञानको इतिहासमा खानेकुराको स्वाद बढाउने मनोसोडियम गुल्टामेट (एमएसजी) जति अन्य स्वाद बढाउने पदार्थ वा तत्वले विश्वको ध्यान खिचेको छैन । १९औं शताब्दीको सुरुवातमा मनोसोडियम गुल्टामेट समुद्री घाँस र अन्य बोटबिरुवाबाट निकालिन्थ्यो ।

अहिले सो मनोसोडियम कृत्रिम वस्तुबाट बनाउँदै आएको छ । इन्टरनेशनल फुड इन्फर्मेसन काउन्सिल फाउन्डेसनका अनुसार एक व्यक्तिले अमेरिका, बेलायत, ताइवान, कोरिया, जापान र इटालीमा क्रमशः शून्य दशमलव ५५, शून्य दशमलव ५५, ३, २ दशमलव ३, १ दशमलव ६ र शून्य दशमलव ४ ग्राम एमएसजी प्रतिदिन उपभोग गर्ने गरेको भनिएको छ । तर नेपालमा भने नेपाल खाद्य वैज्ञानिक तथा प्रविधि संघले प्रकाशित गरेको ‘फुड नेपाल’ जर्नलमा अजिनोमोटोले संवेदनशीलता, गर्भवती महिला र बालबालिकालाई गम्भीर असर गर्ने उल्लेख गरेको छ ।

कतिपय मानिसलाई एमएसजी सह्य नहुने प्रामाणिक पुष्टि भने डा. हो म्यान कोकले सन् १९६९ मै गरेका थिए । डा. कोकले एमएसजीका कारण पर्ने असरलाई ‘चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम’ नामकरण गर्दै पुष्टि गरे, ‘एमएसजी हालिएको खाना खाएपछि दाँत–बंगारा कस्सिने, घाँटी, छाती र हातहरु चिसा कडा हुने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, निदाउरो हुने, बेहोस हुने, अनुहार र पेटमा चिटचिट पसिना आउनेजस्ता असल हुने बताएका थिए । तर उता ‘नो एमएसजी’ नामक संस्थाले एमएसजीविरुद्ध युद्ध छेडेको बताउँदै यो नियमित र बढी खाएमा ३२ किसिमका रोगहरु लाग्ने दाबी गरेको छ।

जापानको ओहायो, टोलेडोका अवकाशप्राप्त चिकित्सक इआन मर्फीले ६० को दशकमा युवाहरुमा डाइबेटिज रोग खासै भेटिएको थिएन तर १९९९ पछि भने युवाहरुमा डाइबेटिज देखिनुमा मनोसोडियम गुल्टामेट नै यसको प्रमुख कारण रहेको बताए । त्यसैगरी संयुक्त राज्य अमेरिकाको ‘द नेशनल इन्स्टिच्युट अफ हेल्थ’ले मनोसोडियम गुल्टामेटको प्रयोगले नशा लाग्ने, उच्च रक्तचाप, हृदयाघात, अल्जाइमर, ब्रेन टयुमर, स्नायूसम्बन्धी दुःखाइ, उत्तेजना र उदासीपन जस्ता रोगका कारक हुन गरेको पत्ता लागेको जनाएको छ । एमएसजी हालिएको चाउचाउ बच्चाहरुलाई खुवाउनुहुँदैन भनेर अन्तर्राष्ट्रिय खाद्य विशेषज्ञहरुले भन्दै आएका छन् । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका अनुसार एक वर्षमुनिका बच्चालाई एमएसजी मिश्रित चाउचाउ खान दिनु घातक हुने जनाएको छ । खुवाएमा क्यान्सरजस्तो भयानक रोग लाग्नसक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

त्यसैले खाद्य ऐन २०३३ अन्तर्गत खाद्य वस्तुको गुणस्तर निर्धारणसम्बन्धी २०५७ मा प्रकाशित राजपत्रमा, १२ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि बनाइएको चाउचाउ भएमा एमएसजी नहालेको हुनु पर्ने भनी निर्देश गरेको भए पनि चाउचाउ कम्पनीहरुले सो निर्देशको बेवास्ता गर्दैै गुणस्तरहीन चाउचाउ उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छन् । एमएसजी हालिएको चाउचाउको लेबलमा चाहिँ सो पदार्थ हालिएको हुनाले १२ महिनाभन्दा कम उमेरका बच्चाले खानुहुँदैन भनेर लेख्नुपर्ने प्रावधान भए पनि सो कसैले लेखेको पाइएको छैन ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका अनुसार तयारी चाउचाउका नमूना संकलन गरिएका ७१ प्याकेटहरुमध्ये १४ प्याकेट गुणस्तरहीन पाइएको जनाएको छ । ती गुणस्तरहीन चाउचाउका प्याकेटहरुमा प्रोटिनको मात्रा अत्यन्त न्यून र चिस्यान (पानी)को मात्रा अत्यधिक भएको पाइएको थियो । त्यसैगरी चाउचाउको लेबलहरु ऐनअनुरुप भए÷नभएको जाँच्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले गरेको अनुसन्धानमा बजारमा उपलब्ध ४३ वटा फरक÷फरक चाउचाउका लेबलहरुमध्ये १३ वटा चाउचाउका लेबलहरु ऐन नियमविपरीत भएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले खाद्य उद्योग स्थापना, सिफारिस र अनुज्ञापत्र लिँदा अपनाउनुपर्ने कार्यविधि र समयसीमा निर्धारण गरेको भए पनि एक पटक सो कार्यविधिअनुसार गर्ने गरेको र पछि ल्याबटेस्ट नै नगरी चाउचाउ उत्पादन गरी बिक्री गर्दै आएका छन् । सबै खाद्य विज्ञहरु उपभोक्ताको सशक्त अनुगमन, दबाब, सुविधासम्पन्न प्रयोगशालाको अभावमा तयारी चाउचाउ उद्योगहरुको मनपरी कायम रहने जनाएको छ । उपभोक्ता संरक्षण ऐन २०५५ र खाद्य गुणस्तर ऐन २०२३ को कार्यान्वयन नगरी विश्वको धनीका रुपमा रहेका चौधरी ग्रुपद्वारा उत्पादित चाउचाउ सबैभन्दा बढी गुणस्तरहीन रहेको पाएको विभागका एक कर्मचारीले बताएका छन् ।

बजारका तयारी खानेकुरामा सबैभन्दा खराब चिजको रुपमा रहेको छ चाउचाउ । चाउचाउ मैदाबाट बनाइन्छे भने अर्कोतिर ७ दिनसम्म सडाएर राखेपछि मात्र चाउचाउ तयार गरिँदै आएको छ । चाउचाउको स्वादका लागि यसमा सुँगुरको मासुको रस, अजिनोमोटो आदि हाले बनाउने गरेको पाइएका छ । लामो समय राखी चाउचाउमा प्रिजर्भेटिभ मिसाइने गरेको छ । यसलाई टीबीएचक्यु भनिन्छ । यो पेट्रोलियम उद्योगको बायप्रोडक्ट हो । टीबीएचक्यु एक प्रकारको विष हो । सुँगुरको मासुको रस बनाएर नहालेसम्म चाउचाउ बन्न नसक्ने विज्ञहरुको दाबी रहेको छ । ७ दिनसम्म सडाएर राखेको सडेगलेको मैदा, सुँगुरको मासुको रस, टीबीएचक्यु तथा एमएसजी आदिबाट बनाएको चाउचाउ खानु प्राणघातक हुने दाबी स्वास्थ्यकर्मीहरुको रहेको छ ।

बच्चालाई मात्रै नभएर कसैलाई पनि जंकफुड खाना स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । डा. अरुणा उप्रेतीका अनुसार चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष नै भएको बताउँदै आएकी छिन् । जसले सुस्तसुस्त रुपमा शरीरलाई कमजोर बनाउँदै लैजाने गरेको छ । चाउचाउमा हुने तेल र मसलामा समेत हानिकारक हुने गरेको बताइएको छ । यसमा अजिनामोटो हुन्छ, जसले गर्दा हाडजोर्नी कमजोर हुनुको साथै कहीँकतै हलुकासँग लडे पनि छिट्टै भाँच्चिने सम्भावना बढी हुने गरेको छ ।

पछिल्लो समय बच्चाबच्चीमा कब्जियत र पाइल्सको समस्या देखिएनु पनि जंकफुड भएको पाइएको छ । यसैबीच, तत्कालीन सरकारी नीति नियम तथा कार्य निर्देशिकालाई लत्याउँदै चौधरी ग्रुपले वाइवाइ चाउचाउमा विषादी रसायन प्रयोग भएको पाइएको छ भने २६ प्रतिशत पीपीएम सिसा रहेको पुष्टि भए पनि सो कम्पनीमाथि सरकारले कारबाही नगर्दा व्यवसायीहरुले मन्द विष बिक्री गर्दै आएका छन् । नेपालमा सर्वाधिक बिक्री हुँदै आएको चौधरी ग्रुपद्वारा उत्पादन गर्दै आएको वाइवाइ चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसायन विषादियुक्त रहेको अनुन्धानबाट खुलेको विभागले जनाएको छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको अहिलेसम्म यथावत् रहेको छ ।

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित वाइवाइ चाउचाउमाथि भारत सरकारले प्रतिबन्ध लगाइएको यो पहिलो घटना हो । तामिलनाडुको खाद्य प्रयोगशालाले गरेको अनुसन्धानअनुसार वाइवाइ चाउचाउमा ७ दशमलव ४३ गुणा बढी लिड (शिशा) रहेको भेटिएको उल्लेख गरेको छ । वाइवाइ चाउचाउमा २५ दशमलव ४५ पीपीएम लिड रहेको पुष्टि सो प्रयोगशालाले गरेको हो । गर्भवती तथा प्रजनन उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् । वाइवाइ चाउचाउको प्रयोग बढेसँगै दक्षिणी भारतमा पाठेघर खस्ने, महिनावारी गडबड हुने, गर्भपतन हुने, सुस्तमनस्थितिको बच्चा जन्मने, महिनाबारी भएका बेलामा पेट दुख्ने, योनिबाट सेतो पानी बगिरहनेलगायतका समस्या बढी देखिएपछि सो चाउचाउको बिक्रीमा रोक लगाएको थियो ।

सो चाउचाउमा अखाद्य तत्वको मात्रा भेटिएपछि तत्काल प्रतिबन्ध लगाएर वाइवाइ चाउचाउमा परीक्षण गर्दा कहालीलाग्दो परिणाम देखिएको तामिलनाडुमा भएको परीक्षण रिपोर्टमा उल्लेख गरेको छ । खाद्यविद्का अनुसार चाउचाउमा पाइने लिडले सबैभन्दा छिटो असर स्नायु प्रणालीमा पु-याउने गरेको जनाएका छन् । हेर्दा आकर्षक र स्वादिलो बनाउन चाउचाउमा २० प्रकारका रसायनहरू प्रयोग गरिँदै आएको छ, ती सबै रसायनहरू अखाद्य हुन् । वाइवाइ चाउचाउमा अरु चाउचाउ कम्पनीले समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवण शक्ति नै गुम्ने, जिब्रोले स्वाद पाउन छाड्नेलगायतका समस्या उत्पन्न हुने गर्दछ । यसैगरी, आकर्षक देखाउन सिन्थेटिक (एक प्रकारको प्लास्टिक) समेत वाइवाइ चाउचाउमा प्रयोग गर्ने गरिएको फेला परेको छ ।

सो चाउचाउले बच्चाहरूलाई बढी असर पु-याउने विज्ञहरूले जनाएका छन् । जसका कारण बच्चालाई एलर्जी हुने, त्यही चाउचाउबाहेक अरु खानेकुरा नरुच्ने, स्मरण शक्ति कमजोर हुने, पढाइमा ध्यान नजाने, छिटो रिसाउने, एकलै बस्ने, एकोहोरो हुनेलगायतका समस्या देखा परेका छन् । वाइवाइमा बीएचए र बीएचटीजस्ता डरलाग्दा रसायनसमेत भेटिएको छ । यी चाउचाउमा प्रयोग हुने तेलमा यस्ता डरलाग्दा रसायनहरू फेला परेका हुन् । ‘इन्स्टेन्ट नुडल्स’ले चाउचाउको सेवनबाट रगतको कमी हुने, तयारी चाउचाउ खानेलाई जोर्नी दुख्ने, स्मृति क्षमता कमजोर बनाउने, किड्नीमा नराम्रो असर पुग्ने, कलेजोलाई असर पु-याउने, सुन्ने क्षमतामा असर पुग्ने, टाउको दुख्ने, भोजन समयमा पच्दैन, जसले पेट दुख्ने, क्यान्सरको खतरा निम्त्याउने, सिसा शरीरमा एकत्रित भएर दीर्घकालीन रूपमा विपरीत प्रभाव गर्छ । यसले मस्तिष्क, किड्नी र प्रजनन क्षमतालाई नराम्रो असर पार्ने जस्ता समस्या हुने उल्लेख गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com