Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाफिल्म सिटी निर्माण अलपत्र, करोडौं खर्चेर बनेका संरचना बेवारिसे !

फिल्म सिटी निर्माण अलपत्र, करोडौं खर्चेर बनेका संरचना बेवारिसे !


दोलखा । भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण कार्य अलपत्र परेको छ ।

फिल्मसिटी निमार्ण कार्य अलपत्र बन्दा निर्माण गरिएका आधा दर्जन बढी भौतिक संरचना बेवारिसे बनेका छन् । आयोजना अलपत्र बनेपछि केही वर्ष अगाडी बागमती प्रदेश सरकारले चलचित्र विकास बोर्डमार्फत निर्माण गरिएको भौतिक संरचनाहरू बेवारिसे बन्न पुगेका हुन । विगत ३ वर्षदेखि चलचित्र विकास बोर्ड, संघीय सरकार तथा प्रदेशबाट बजेट विनियोजन नहुँदा पहिलो र दोस्रो चरणमा निर्माण गरिएका भवनसहित भौतिक संरचना बेवारिसे बन्न पुगेको हो । सरकारले राष्ट्रिय महत्वपूर्ण आयोजनाको रूपमा विकास गर्न लगानी गरेको सडक, पूर्वाधार विकाससहितको झण्डै १७ करोड हाराहारीको लगानी अहिले बेवारिसे अवस्थामा पुगेको छ । यति ठूलो रकम खर्च गरेर निर्माण गरिएका सबै संरचनाहरू बेवारिसे बन्दा राज्यको लगानी बालुवामा पानी भने जस्तै भएको जिल्लाका सर्वसाधारण नागरिकले गुनासो गर्न थालेका छन् ।

राज्यले हालसम्म करिब १७ करोड बजेट उक्त आयोजनाको लागि खर्च गरेको छ । तर पछिल्ला वर्षहरूमा बजेट विनियोजन गर्न नसक्दा आयोजनाको निर्माण अलपत्रसँगै हालसम्म गरेको लगानी पनि बेवारिसे बन्न पुगेको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताए । २०६९ साल जेठ ४ गते नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रलयले उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा राख्न राष्ट्रिय योजना आयोगलाई पत्र काटेको थियो । सोही अनुसार राष्ट्रिय योजना आयोगले दोलखाको साविक लाकुरीडाँडा गाविसको डाङडुङे डाँडामा सुविधा सम्पन्न आधुनिक चलचित्र नगरी फिल्म सिटी निर्माणलाई प्राथमिकता राखेर काम सुरु पनि भएको थियो । तर १७ करोड बढी खर्च गरेपछि भने हाल उक्त आयोजना पूरा गर्न सरकारले नै चासो दिएको छैन ।

फिल्म सिटीको लागि बागमती प्रदेश सरकार र चलचित्र विकास बोर्डले निर्माण गरेका एउटा सूचना केन्द्र, दुई वटा गेस्ट हाउस, प्रवेशद्वार, पोखरीका संरचना निर्माण गरिएका थिए । तर अहिले यी सबै संरचना बेवारिसे बन्न पुगेपछि भीमेश्वर नगरपालिकाले संरक्षणको लागि उपाय खोजिरहेको इन्जिनियर राउतले बताए । सूचना केन्द्रका लागि निर्माण गरिएको दुई तलाको भवन प्रयोग विहीन छ । अलपत्र अवस्थामा रहेका यी संरचनाको व्यवस्थापन गर्न नगरपालिकालाई जिम्मेवारी दिन सम्बन्धित निकायलाई पटकपटक आग्रह गरिएपनि नगरलाई बोर्डले जिम्मा नदिएको इन्जिनियर राउतले बताए । हाल संरचनाको संरक्षण गर्न नगरकार्यपालिकामा छलफल भएको र स्थानीय समुदायमार्फत संरक्षण गर्न कार्यविधि बनाउन लागिएको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी कहिले सम्पन्न हुने भन्ने नै अन्योल बनेको छ । लामोसाँघु–जिरी सडकखण्डको खरीढुङ्गामा प्रवेशद्वार र प्रवेशद्वारदेखि करिब छ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी विद्युत् लाइनको लागि पोल गाडेर बेवारिसे अवस्थामा छोडिएको छ । प्राकृतिक हिसाबले जिल्लाकै महत्वपूर्ण गन्तव्यको रूपमा परिचीत डाँङडुङेडाँडा दोलखा र सिन्धुपाल्चोकमा अवस्थित हिमालय पर्वत तथा हिमशृङ्खलाहरूको प्रत्यक्ष अवलोकन गर्न र वरपरका रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न अहिले पनि फाटफुट आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन् ।


क्याटेगोरी : समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x