Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयचुनावप्रति सरकारका काम नै शङ्कास्पद

चुनावप्रति सरकारका काम नै शङ्कास्पद


पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जेन–जी प्रदर्शनले दिएको सबभन्दा ठूलो उपहारधारी हुन् । उनी प्रधानमन्त्रीमा नियुक्त हुनासाथ सबभन्दा पहिले गरेको काम नै प्रतिनिधिसभाको विघटन र यसै वर्षको फागुन २१ मा आमनिर्वाचनको मिति तोक्ने थियो । यो मितिमा चुनाव सम्पन्न गर्ने भन्ने घोषणा पनि त्यसै बेलाको हो । यस्तो मिति तोक्दा सरकारसँग पूरै छ महिना थियो । तर त्यो मिति तोक्दाको समय घटेर अब दुई महिनाको हाराहारीमा आइपुगेको छ । तर यता निर्वाचन भने झन्झन् शङ्काको घेरामा पर्दैछ । झन्झन् पछिल्ला दिन हरेक मान्छे एक अर्कासँग भेट्दा के चुनाव हुन्छ ? भनेर प्रश्न गर्छन् । जब–जब यस्तो प्रश्न आउँछ त्यसबेला सोधिने व्यक्ति नै अन्योलमा रहेका पाइन्छन् । निर्धारित समयमा निर्वाचन हुनका लागि हरेक व्यक्तिमा प्रकट हुन थालेको यस्तो संशय सामान्य होइन । यसको सबभन्दा घातक पक्ष के हो भने, यस्तो परिस्थिति सरकारले नै निर्माण गरेको हो । निर्वाचन घोषणा भएपछि सरकार स्वतः कामचलाउमा पुग्छ । तर यता निर्वाचनको घोषणा गर्ने सरकार नै आफूलाई यस्तो ठानिरहेको छ, जो कामचलाउ नभएर भरखरै संसदबाट निर्वाचित भएर आएको सरकार हो ।

यो अवस्था सरकारका प्रत्येक काम कुराले खडा गरिरहेका छन् । पूर्वप्रधानन्यायाधीशको सरकार भन्नाले कम्तीमा यसले कानुनलाई चाहिँ चुनौती दिँदैन भन्ने धेरैको बुझाइ हुन्छ । तर यता सरकार गठन भए लगत्तैदेखि हिजोआजसम्म पनि सीमा नाघ्दैै गइरहेको छ र सर्वोच्च अदालत सम्झाउँदै हैरान भएको हुनुपर्छ । अन्तरिम सरकारले गरेका निर्णयहरू यतिविधि स्थायी प्रकृतिका हुँदैछन्, सर्वोच्च आलतले उल्टाउँदै चुनावी सरकार भएकोले दूरगामी असर पार्ने विषयमा निर्णय नगर्न भनिरहेको छ । तर सरकार भने सीमा नाघिनै रहेको देखिन्छ । चुनावका सन्दर्भमा सरकारमाथि नै गम्भीर प्रश्न खडा भएको अवस्था छ । निर्वाचनको मिति तोकेको सरकारले एकैपटक विभिन्न ११ देशमा रहेका राजदूतलाई फिर्ता बोलायो । यो औचित्यहीन निर्णय थियो । यसैगरी भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको अर्को निर्णय पनि सरकारले गर्नपाउने अवस्थाको थिएन । त्यो आयोगलाई निर्वाचनअघि जग्गा वितरण गर्ने जस्ता कुनै निर्णय नगर्न भनेर एउटा पत्र पठाइदिएको छ । पछि सर्वोच्चले रोकेपछि मात्र सरकारले आफ्नो गलत काम देख्यो । यही क्रममा कर्मचारीको सरुवा पनि गलत नियतले गरिएका रहेछन् भन्ने पुष्टी भयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउने निर्णय निर्वाचन प्रयोजनको कामचलाउ सरकारले गर्न पाउने काम थिएन । यसलाई पनि सर्वोच्चले रोक लगाएर सरकारलाई सचेत गराउनु प¥यो । चुनावी प्रयोजनका लागि गठन भएको सरकार ले राज्यलाई दूरगामी असर पर्ने खालका निर्णय गर्ने अधिकार हुँदैन भन्ने कुरा प्रधानन्यायाधीशको सरकारले किन सम्झेन ? भन्ने प्रश्नहरू उठिरहेकै छन् ।

यहीबीचमा अरू थप नियुक्ति गर्नका लागि कामचलाउ सरकारले संविधान नै संशोधन गर्न खोजेको विषयले सरकारको नियत चुनाव गराउने होइन कि भन्ने शङ्कालाई थप बल पुर्यायो । केही अघिमात्र सरकारले विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न खोज्यो । यो अध्यादेशमा संवैधानिक परिषद्मा नियुक्त गर्ने संवैधानिक व्यवस्था नै संशोधन गर्न खोजिएको थियो । राष्ट्रपतिले कामचलाउ सरकारले प्रस्तुत गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश रोकेपछि मात्र संविधानको यो व्यवस्था संशोधन हुन पाएन । संविधानले परिषद्का सदस्यहरूको संख्या निश्चित गरेको गणपूरक संख्यालाई अध्यादेशबाट संशोधन गर्न खोजिएको विषय आफँैमा सामान्य थिएन । संविधानको धारा दुई सय ८४ मा संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित छ जना सदस्य हुने व्यवस्था किटानी भएको छ । त्यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषद्का सदस्य रहने भनिएको छ । कार्की सरकारले यो संख्या कटौती गर्न अध्यादेश प्रस्तुत गरेको थियो । यो भनेको सरकारले नै आफू निर्वाचन प्रयोजनको सरकार भएको भन्ने बिर्सिएको अवस्था हो । जो दुःखद मान्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x