भ्रष्टाचारीलाई काजु–किसमिस ! काण्डहरू उसै डिसमिस !!

नेपालमा लोकतन्त्र सुरु भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा केही महाभ्रष्ट÷भ्रष्ट भित्रिए प्रमुख आयुक्त÷आयुक्तको रूपमा । शीर्ष नेताहरूबीच भित्रभित्रै हुने यस्ता कुराहरू धेरै जनतालाई जानकारी हुने कुरा भएन । जो–जो सरकारी सेवामा रहेर सेवा गरे उनीहरूलाई यस्ता कुराहरू अवगत हुन्छ । यस्ता बेथितिका बारेमा भ्रष्ट राष्ट्रसेवकहरूलाई वास्ता हुँदैन भने इमानदार र कर्तव्यनिष्ट राष्ट्रसेवक वा कर्मचारीहरूलाई भने थाहा हुन्छ । इमानदार राष्ट्रसेवकले अवकास नहुँदै यस्ता नचाहिँदा राष्ट्रघातका विरुद्धमा लेख्न वा अभिव्यक्ति दिन डर हुन्छ । किनकि यहाँ ‘जो चोर उसकै ठूलो स्वर’ भन्ने उखान चरितार्थ हुन्छ । हाम्रो मुलुकलाई ‘सतीले सरापेको देश’ त्यसै भनिएको होइन । कुनै पीडित व्यक्तिले कुनै अपराधीका विरुद्धमा उजुरी दिने काम भएमा उल्टै उजुरीकर्ताले दुःख पाउने अवस्था छ । माथिमाथि मिलेपछि अपराधी चोख्याउने काम हुने भएकोले उजुरी दिन पनि हिचकिच्याउनुपर्ने अवस्था छ ।
भ्रष्टाचारका शृङ्खलाहरूः
गत मंसिर २८ गते सीआईबीद्वारा सिंहदरबारभित्रका कर्मचारी पक्राउ भन्ने समाचार आयो । पक्राउ परेका कर्मचारीले एक विभागको युजर आईडी र पासवर्ड दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरेर राष्ट्रिय परिचयपत्र प्रमाणित गरेको पाइएको छ । गत पुस २ गते गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित छ जना विरुद्ध अख्तियर दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको खबर पनि प्रकाशन भएको छ । भ्रष्टाचार सम्बन्धी यस्ता शृङ्खलावद्ध समाचारहरू दिनहुँजसो आइनै रहेको पाइन्छ । कहिले दुई वटा त कहिले तीन वटासम्म यसरी यस्ता समाचारहरू आइरहनु दुःखको कुरा होइन कि भ्रष्टाचारले निरन्तरता पाइरहनु देशकै लागि दुःखको कुरा हो । अझ भनौँ भने जनताले तिरेको करबाट तलब भत्ता खाने कर्मचारीहरूले भ्रष्टाचार गर्नु भनेको जनतामाथिको घात हो भन्न सकिन्छ ।
दसैँमा मान्यजनहरूले आशीर्वाद दिँदा ‘इञ्जिनियर हुनु’ भनेर आशीर्वाद दिने गरिन्छ । नेपालमा धेरै भ्रष्टाचार गर्ने सरकारी कर्मचारीहरूमा इञ्जिनियर नै हुने र उनीहरूले ठेकेदारहरूसँग मिलेर कमिसन र घुस खाने गरेका समाचारहरू आइरहेका हुन्छन् । आशीर्वाद दिनेले यस्ता कुरातर्फ ध्यान दिदैनन् हाला कि सबै इञ्जिनियरले घुस र कमिसन नखालान् । सरकारी जागिर खाने सिभिल इञ्जिनियरहरूबाट बढी भ्रष्टाचार हुने गरेको कुरा धेरैलाई थाहा नहोला । अहिले इञ्जिनियरका सेवा र समूहहरू फरक–फरक छन् पहिले झैँ सिभिल मात्र छैन ।
मालदार अड्डामा सरुवा हुन हानाथापः
नेपालमा मालदार अड्डा भन्नाले मालपोत, नापी, यातायात, वैदेशिक रोजगारसँग सम्बन्धित निकाय वा विभाग वा कार्यालयलाई भनिन्छ । यी अघोषित मालदार अड्डाहरूमा गनिन्छन् । त्यहाँ सरुवा भएर जान कर्मचारीहरू मरिहत्ते र हानाथाप हुने गरेको पाइन्छ ।
मन्त्रीको सचिवालयमै बन्छ सरुवा सूचीः
नेताका आसेपासेको दलालीमा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको सूची तयार हुन्छ र निकायको आर्थिक आकर्षणको आधारमा मोलमोलाई हुन्छ । यस्ता निर्णयबाट पीडित कर्मचारीहरू हेरेको हे¥यै हुनुपर्ने र भ्रष्टहरू प्रफुल्ल हुनुपर्ने अवस्था छ । आर्थिक चलखेलमा हुने यस्ता सरुवाका काम रोकिनु जरुरी छ । धन भनेपछि महादेवको पनि तीन नेत्र बल्छ भनिन्छ भने नेता र कर्मचारीको के कुरा?
आफ्नो अनुभवः
मलाई कार्यालय नभएको ठाउँमा सरुवा गरिएपछि साथीहरूले ‘दुई वर्षमा करोड कमाइ हुन्छ, रमाना लिएर जानुस्’ भने । २०७५ सालमा मलाई त्यहाँ पठाइए पनि कार्यालय स्थापना भने २०७९ भदौमा भएको थियो । विभागले मलाई रोल्पाको मालपोत कार्यालय प्रमुख तोकेर काजमा पठायो । मालपोत मेरालागि उपयुक्त र रुचिको निकाय वा कार्यालय थिएन । त्यहाँ गएपछि कोरोनाका कारण लकडाउन भयो । केही महिनासम्म कार्यालय नै बन्द भयो । यसो भएपछि व्यक्तिग हिसाबले मलाई चाहिँ ठीक भयो । अवकाश हुने समय आउँदै गर्दा कसेले फसाइदेला भन्ने ठूलो जगजगी थियो । कोरोनाका कारण कार्यालय बन्द भएको अवस्थामा एकजना धनीमानीले मलाई फोन गरेर ‘लौन न हाकिम साब, म सिडियोसाबसँग कुरा गर्छु, मेरो जग्गा रोक्का राखेर लोन लिनुपर्ने छ, कार्यालय खोलेर मेरो काम गरिदिनुप¥यो । हजुरको टिमलाई म यस्सो हेर्छु ।’ मैले इन्कार गरेको केही दिनपछि र म घरमा रहेको बखत फोन आयो– ‘मैले खसी काटेको छु, गाडी पठाइदिन्छु आउनुस् ।’ मैले भनेँ– ‘म शाकाहारी हूँ, आउँदिन’ भनेपछि उनले, ‘हवस् हाकिम साब’ भने । एकदिन ८० नाघेका एकजना वृद्धले कोटको भित्री खल्तीबाट हजारका नोटका बिटो झिक्दै काम गराउन खोजेपछि मैले झोक्किएर ‘यस्तो काम नगर्नुस्, प्रक्रिया मिलाएर, प्रमाण जुटाएर आउनुस्, काम हुन्छ’ भनेको थिएँ । म अवकाश भएको तीन वर्ष हुनै लाग्दा एकजनाले ‘मेरो काम किन नगरेको?’ भनेर धम्क्याए । उनले पनि मलाई कसै मार्फत् प्रलोभनमा पारेर काम लिन खोजेका थिए ।
हजार गोजीमा हालेर लाख राजस्व मार्ने भंसार कर्मचारीहरूः
वीरगंज भंसारमा अनेक दृश्यहरू देख्नेहरूमा यो लेखक पनि पर्दछ । त्यहाँ गएर हेर्ने हो भने अनेक तमासाहरू देखिन्छन् । भंसारका निम्न श्रेणीका कर्मचारीहरूले सय–पचासका नोट गोजीमा हालेर झोला–पोकामा रहेका सामानहरू छोडिदिएका दृश्यहरू पनि देखिएका थिए ।
करछलुवा र शीर्ष नेताः
नेपालमा ठूलो भ्रष्टाचार शीर्ष नेताको संरक्षण र मनमौजीमा हुनेगरेका कुराहरू कतिपयलाई थाहा छैन । पार्टीलाई सहयोग गरेपछि कर छल्नेहरूले जतिसुकै कर छले पनि हुने अवस्था छ । ठूला–ठूला व्यापारिक घरानीयाहरू विभिन्न बहानामा शीर्ष नेताहरूसँग नजिक हुन्छन् । ठूला उद्योगी वा ठूला व्यापारीको घरमा पार्टी चल्छ अनि ह्विस्कीको चुस्कीले ठूलो उपलब्धि हुन्छ ती उद्योगी तथा व्यापारीहरूलाई । नेताहरूबाट तथास्तु भएपछि जति जे गरे पनि भो उनीहरूलाई ।
टेकोको भरमा सरकार रहँदाका बेथितिहरूः
जनताको चाहनाअनुरूप देशमा स्थायी र एकमना सरकार नभएपछि जनता अभागी हुने नै भए । एउटा दल टेको बन्दा बार्गेनिङ हुन्छ । हामीलाई आकर्षक मन्त्रालय चाहिन्छ भनेर प्रस्ताव तेर्याएपछि ठूला दलका नेताहरू लुत्रुक्क पर्ने नै भए साना दलहरूका अगाडि । साना दलसँग झुक्नुपर्ने अवस्था रहिँरहँदा देशमा टेकोको भरको सरकारले खासै केही पनि गर्नसक्दैन । सत्ता टिकाउने खेल सधैँ भइ नै रहेको देखिएकै हो ।
सधैँ अलमलमा देशः
२००७ सालमा प्राप्त प्रजातन्त्रले राणा शासनको अन्त्य भए पनि लामो समयसम्म देश अन्योलमै रहि नै रह्यो । २०१७ सालमा पञ्चायती व्यवस्थाको उदय भएपछि देशमा सरकारी उद्योगहरू स्थापना भए, केही कामदार–कर्मचारीहरूले रोजगारी समेत पाए । साथै कृषकहरूले अप्रत्यक्ष रोजगारीका अवसर पनि पाए । तर ती सरकारी उद्योगहरू २०४६ सालमा प्राप्त प्रजातन्त्रपछि बिस्तारै धरासायी हुँदै गए । पुनःस्थापित बहुदलीय प्रजातन्त्रबाट जनताले धेरै आशा गरेका थिए कि अब मुलुकले कोल्टे फेर्छ भनेर । तर २०४८ सालदेखि बनेका सरकारमा बस्ने नेताहरूले सरकारी संस्थानहरू त्यसमा पनि औद्योगिक प्रतिष्ठानहरूमा राजनीतिक हस्तक्षेप हुँदै गयो र धेरै सरकारी उद्योगहरू हाल बन्द अवस्थामा छन् । सरकारी उद्योग अर्थात् कारखानाहरूमा कर्मचारी–मजदुरका विभिन्न दल निकट संघ–संगठनहरूका साइबोर्ड टाँगिन थाले । एक मजदुर पदाधिकारीको इच्छामा महाप्रबन्धक फेरिनथाले । यति मात्र कहाँ हो र महाप्रबन्धकलाई हातपात र लातसमेत बर्साउन थाले मजदुरले । उद्योगको हितका लागि भन्दा पनि कर्मचारी–मजदुर संघ–संगठनका पदाधिकारीहरूले व्यक्तिगत लाभका कामहरू गर्न थाले । एसएलसी पनि पास नगरेका कार्यकर्ताहरू संस्थानका सञ्चालकमा नियुक्त भएर आउनथाले । जसलाई कारखानाको वित्तीय, आर्थिक, व्यवस्थापकीय, प्राविधिक कुनै पनि ज्ञान थिएन ।
अहिले आएर एक शिशु जन्मिदा बित्तिकै करिब एक लाख वैदेशिक ऋण बोकेर जन्मिनुपर्ने अवस्था आएको छ । नेताहरूमा देश र जनता प्रति बफादारी छैन जस्तो भान हुन्छ । कामका लागि युवाहरू खाडी मुलुकमा अनि पढेलेखेका युवाहरू अमेरिका, अष्ट्रेलिया र बेलायत लगायत अन्य विकसित मुलुकतर्फ पलायन भए र हुँदैछन्, पलायन हुने क्रम रोकिने अवस्था छैन । के यही हो त प्रजातन्त्र वा लोकतन्त्र ? नेताहरू सधैँ सत्ता र कुर्सीका लागि लडाईँ भइरहँदा जनताका तमाम समस्याहरू ज्यूँकात्यूँ भइ रहनु नै लोकतन्त्र हो त ? किसानहरूलाई निरुत्साहित पारेर उपभोक्ताहरूलाई आयातीत अखाद्य वस्तुहरू खान बाध्य पार्ने काम विगतका सरकाहरूले गरेकै हुन् । किसानहरूमा छाएको उदासिनतातर्फ कुनै पनि सरकार गम्भिर भएर लागेन । उल्टै मल आयातमा अनियमितता, ढिलाई न्यून उपलब्धताका कारण किसानहरू सधैँ हैरान हुँदै आउनुपर्ने अवस्था आयो ।
मीठो खाने–राम्रो लाउने महत्वाकाङ्क्षा र भ्रष्टाचारः
नेपालमा कर्मचारीहरूबीच मीठो खाने र राम्रो लाउने भन्ने कुरामा प्रतिस्पर्धा देखिन्छ । ‘उसको ठूलो बंगला मेरो भुइँले घर, उसले दिनहुँ माछा–मासु खाने, हामी सामान्य तरकारीमा मात्र सीमित रहने’ भनेर हिनताबोध हुन्छ र आफूलाई कमजोर ठानिन्छ । उसले पनि अवैध आमदानी गर्ने सोच राख्नथाल्छ र कमिसन–घुस लगायतका माध्यमबाट आम्दानी बढाउन थाल्छ । उसले जोखिमको डर मान्दैन र ऊ कालान्तरमा सन्तानमाथि दाग लाग्ने गरी नराम्रोसँग डामिने सम्भावना रहन्छ ।
अन्त्यमा, आगामी चुनावपछि बन्ने सरकारमा समाहित दलहरूले जनताका लागि काम गर्नुपर्छ र कर्मचारीतन्त्रलाई चुस्त दुरुस्त किसिमले सेवा प्रवाहमा लाग्न उत्प्रेरित गर्नुपर्दछ । विगतमा दलका नेताहरूबाट जति गल्ती भयो अब त्यसो नहोस् । अख्तियार प्रमुखका स्वच्छ खालका पूर्वप्रशासकलाई भित्र्याउने काम होओस् । पहिले झैँ सेवाकाल पूरै भंसारमा बिताएका महाभ्रष्टलाई अख्तियारमा नभित्र्याइयोस् । घुस वा काजु र किसमिस खाएर कुनै पनि काण्डहरू डिसमिस नपारियोस् ।
विगतमा गल्ती गर्ने दलहरूका सरकारलाई भनिनुपर्ने एक व्यङ्ग्यात्मक लघुकविताः
ए सरकार, ह्वाट इज दिस?
घुस बार्गेनिङ पचासबाट तीस,
भ्रष्टाचारीलाई काजु–किसमिस !
धेरै काण्डहरू उसै डिसमिस !!
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
- भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु
- गरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर
- जापानले एसियामा ५ वर्षभित्र १९ अर्ब डलरका परियोजना सञ्चालन गर्ने
- श्रीलंकालाई आईएमएफको २ करोड डलर बढी सहायता
- लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा
- सिद्धार्थ बैंक र नेपाल सोसल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य
- नेपाल क्लियरिङ हाउसको १४औँ वार्षिक साधारणसभा
धेरैले पढेको
- भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोगदाताको आकर्षण देखिएन
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु

















तपाईको प्रतिक्रिया