Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलगातारको वर्षाले हिउँदे बाली भित्र्याउन समस्या

लगातारको वर्षाले हिउँदे बाली भित्र्याउन समस्या


सुवास बस्नेत
दोलखा, वैशाख १६
दोलखा जिल्लाका तल्लो भेगमा यो समय हिउँदमा लगाएको बाली भित्र्याउने सिजन चलेको छ । जिल्लाको वेशी फाँटमा हिउँदमा लगाएको गहुँ र आलु बाली थनक्याउने समयमा विगत केही दिनदेखि नियमित परेको वर्षाले किसानले बाली भित्र्याउन सकिरहेका छैनन् । पछिल्लो एक हप्तादेखि मौसममा परिवर्तन आएसँगै किसानलाई पाकेको बाली भित्र्याउन समस्या परेको हो । निरन्तरको वर्षाले खेतबारीमा आलु कुहिन थलेको किसानहरूले गुनासो गरेका छन् ।

जिल्लाको बैतेश्वर गाउँपालिका नाम्दुका किसान नवराज शिवाकोटीले झरीले आलु खन्न तथा गहुँ सुकाउन नदिएको बताए । उनले दुई रोपनी खेतमा आलु लगाएका छन् । ‘बिहानदेखि नै साउनभदौको जस्तै गरी झरी पर्छ, पानी पर्दा आलु खन्न सकिँदैन । मौसम सफा हुने छाटकाँट छैन’, उनले भने । साथै गहँु काट्न र काटेर राखेको गहुँ सुकाउन नपाएको उनको भनाइ छ । ‘वर्षभरि दुःख गरेर खेती ग-यो, थन्क्याउने बेलामा मौसमले साथ दिँदैन’, उनले दुखेसो पोखे । बैतेश्वर गाउँपालिकामा हिउँदे खेतीको रूपमा गहुँ र आलु खेती गरिन्छ । यहाँ जिल्लाकै सबैभन्दा बढी गहुँ उत्पादन हुँदै आएको छ ।

पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेका अनुसार बैतेश्वर गाउँपालिकामा करिब दुई हजार टनभन्दा बढी गहुँ उत्पादन हुँदै आएको छ । किसानले मंसिर र पुस महिना गहुँ र आलु खेती लगाउने गर्छन् । बैतेश्वरमा करिब आधा दर्जन गहुँ उत्पादन हुने वेशी खेत रहेको पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेले जनाएको छ । बाली अनुसन्धान केन्द्रका अनुसार यहाँका किसानले धान, गहुँ, मकै र कोदो खेती गर्ने गर्छन् । धेरै जसो किसानले यो समय गहुँ काटेर खेतमा मकै लगाउने गर्छन् । साथै असार र साउनमा मकै काटेर धान खेती लगाउने गरेका छन् ।

एक वर्षमा तीन बाली लगाउने किसानलाई अहिले वर्षको पहिलो बाली नै भित्र्याउन समस्या भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर चार जिलु वेशीका किसानलाई पनि यो समय परेको पानीले गहुँ भित्र्याउन समस्या भएको छ । यहाँका कृषकले गत वर्षहरूमा यस समयमा गहुँ भित्र्याएर बजारमा बिक्री समेत गर्न थालिसकेका हुन्थे । तर, यो वर्ष नियमित परेको पानी र एक महिनादेखि चलेको लकडाउनका कारण गहुँ भित्र्याउन समस्या भएको जिलुका किसान छविन्द्र चौलागाईंले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया