Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिवर्षाले बगरखेतीमा क्षति

वर्षाले बगरखेतीमा क्षति


धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख १७
कञ्चनपुरमा लगातार दुई दिन परेको वर्षाका कारण आएको बाढीले विभिन्न खोला तथा नदीका बगरमा लगाइएको तरकारी तथा बगरखेतीमा क्षति पुगेको छ । जिल्लाका स्याली, सनवोरा, दोदा, वनहरालगायतका खोला तथा नदीमा आइतबार र सोमबार परेको वर्षाका कारण बाढी आउँदा ती नदिको बगरमा करिब ६० जना किसानले लगाइएको तरकारी खेतीमा क्षति पु-याएको छ ।

सुनबोरा नदीको किनारमा विभिन्न किसानहरूले करिव २ बिघा जमीनमा लगाइएको लौका, फर्सी, खिरा, सुर्खानी, खरभुजा, मुला, प्याज र टमाटर, करेलालगायतमा तरकारी बगाएको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा बस्ने नन्दलाल थारुले बताए । दुई बिघा क्षेत्रफलमा लगाइएको सबै तरकारी सनवोरा नदीले बगाएर क्षति पु-याएको थारुले बताए । उनले गत पुसदेखि करिब ३५ हजार रूपैयाँ लगानी गरेर बगरखेती गरिरहेको बताए । सनवोरा खोलाको बगरमा ६० भन्दा बढी परिवारले बगरखेती गरेका छन् ।

बगरमा लगाइएको खेती सबै बाढीले बगाएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । यस्तै, स्याली खोलाको बगरमा ४० भन्दा बढी परिवारले लगाएका तरकारी पनि बगाएको छ । उनीहरूको लाखौंको क्षति भएको र तथ्यांक संकलनको कार्य भैरहेको वडा अध्यक्ष चौधरीले बताए । यसैगरी, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकाका किसानले दोदा नदिको बगरमा लगाएका तरकारी खेतीमा पनि बाढीले क्षति गरेको बताएका छन् ।

दोदा नदिको बगरमा एक सय ४० भन्दा बढी किसानले तरकारी खेती गरिरहेका छन् । एक्कासी नदीमा वर्षाले बाढी आउँदा तरकारी खेतीमा निकै क्षति पुगेको लालझाडी गाउँपालिका–६ का अध्यक्ष टिकाराम चौधरीले बताए । लालझाडी गाउँपालिका ३ ढुंगाका किसान गोमति रानाले तीन बिघा क्षेत्रफलमा लगाएको बगरखेती वर्षाका कारण नष्ट भएको बताए ।

कृष्णपुर क्षेत्रका बगरखेती पनि नष्ट भएको स्थानीय सुचित्र शाहले बताए । उनका अनुसार कृष्णपुरका दर्जनौँ किसानले बगरमा लगाएको खेती नष्ट भएको छ । लालझाँडी गाउँपालिका स्थानीय युवक भक्ता रानाले बगरखेती गरेर गुजारा चलाउने किसानलाई सरकारले राहत दिनुपर्नेमा जोडदिए । लालझाडी गाउँपालिका ३ का वडाध्यक्ष टिकाराम चौधरीले वर्षातका कारण ३नम्बर र ६ नम्बर वडामा ७०, २ मा १६ विगाह जतिको बगरखेती नष्ट भएको बताए ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण भारतबाट आयात हुने तरकारी बन्द भएपछि स्थानीय बजारमा बगरखेतीसहित यहाँका स्थानीय किसानले लगाएको व्यावसायिक तरकारी खेतीबाटै आपूर्ति हुँदै गइरहेका बेला एक्कासी लगातार वर्षा भएपछि बगरखेती नष्ट भएको हो । लालझाडी गाउँपालिका ६ का अध्यक्ष फुलाराम चौधरीले उक्त वडामा १५ जनाको बगरखेती नष्ट भएको बताए । उनले बगरखेतीका किसानको लगत संकलन गरेर उनीहरूको पीडा सम्बोधन गरिने बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले वर्षातका कारण बगरखेती नष्ट भइरहेको सूचना आएपछि कति बिघा कति किसानको भने एकिन नआएको बताए । उनले बगरखेती नष्ट भएका किसानलाई सम्बन्धित स्थानीय तहका कृषि शाखामा जानकारी गराउन आग्रह गरेका छन् । लकडाउनका बेला स्थानीयस्तरमा ताजा तरकारी उपलब्ध गराएका किसान यतिबेला मारमा परेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया