तनहुँमा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश
दमौली । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् ।
विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”
पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गरेका ठकुरीले गत वर्ष पहिलोपटक रु. ७० हजारको कागती बिक्री भएको बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् ।
उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ ।” उनका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ ।
स्थानीयस्तरमा उत्पादित कागतीले भारतबाट आउने कागतीका कारण बजार नपाएको उनको भनाइ छ । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।”
ठकुरीले गत वर्ष प्रतिकेजी रु. ८० मा बिक्री गर्नुभएको थियो । यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ । “चितवनमा बुझ्दा किलोको रु ६० रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु । सबैभन्दा बढी आउँदा रु. एक सयसम्म पनि आएको छ”, उहाँको भनाइ छ ।
विसं २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी विसं २०७० मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उनले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका थिए । हालसम्म रु. १५ लाख लगानी भइसकेको उनको भनाइ छ ।
कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए । उनको कागती बगैँचामा पाँच सय बोट छन् । कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उनले बताए ।
कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको उनी बताउँछन् । कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ । उनले भने, “बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ । कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमै खर्च हुन थाल्यो ।”
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले ठकुरीले उत्पादन गरेका कागतीले बजार नपाउँदा दुःख लागेको बताउँदै बजारीकरणका लागि आफूले पनि सहयोग गरेको बताए । उनले भने, “कागतीको बजारीकरणका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु ।” तिवारीले कागतीखेती कृषकलाई बगैँचासम्मै पुगेर आवश्यक परामर्श दिने गरेको बताए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया