Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलकडाउनले कुखुरा व्यवसायी समस्यामा

लकडाउनले कुखुरा व्यवसायी समस्यामा


सुबास बस्नेत
दोलखा, वैशाख २२
लकडाउनको कारण जिल्लाका कुखुरा पालक कृषकहरु समस्यामा परेका छन् । जिल्लामा कुखुरा तथा अण्डा बिक्री बन्द भएपछि उनीहरु समस्यामा परेका हुन् । कुखुरापालक कृषकहरुले विभिन्न गाउँबाट जिल्ला सदरमुकाम चरीकोटमा ल्याएर कुखुरा तथा अण्डाको बिक्री वितरण गर्दै आएका थिए । तर लकडाउनका कारण सवारीसाधन नचलेपछि कुखुरा तथा अण्डाको बजार नपाउदा कृषक चिन्तित बनेका छन् । जिल्लाभर कुखुरापालक कृषकको संख्या वृद्धिसँगै बजार बन्दले कुखुराको मासु र अन्डा बिक्री हुनछाडेको छ । सदरमुकाम चरीकोट आसपासमा धेरै कृषकले व्यावसायिक रुपमा नै कुखुरा पालन गरेका छन् ।

लकडाउनका कारण जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र तामाकोशीका गाउँपालिकाका कुखुरा व्यवसायीलाई कुखुरा बिक्री गर्न समस्या भएको छ । उनीहरुको मुख्य बजार नै चरिकोट हो । बैतेश्वर गाउँपालिका वडा नम्बर तिनका कुखुरा व्यवसायी गणेश बस्नेतले तीन लाख लगानी गरेर करिब चार सय कुखुरा पालेका छन् । ‘लकडाउन हुनु एक महिनाअघि पालेको कुखुरा बिक्री गर्ने बेला भएको छ । तर लकडाउनले मुख्य बजार नै बन्द भयो । गाउँको मागले मात्रै सबै कुखुरा बिक्री गरिसकिँदैन’, बस्नेतले भने ।

विशेषगरी जिल्लाको बजारका होटलहरुमा धेरै मासु खपत हुने गर्छ । जिल्लाका सबै ठाउँमा सजिलोसँग कुखुरा पालन गर्नसकिने र छोटो समयमा आर्थिक आर्जन हुने हुँदा चारैतिर यो व्यवसाय गरिएकाले पनि कुखुराको माग घटेको कृषकहरुको भनाइ छ । दानाको मुल्य बढेको तर मासुको माग भने कम हुँदै गएको उनीहरुको गुनासो छ । जिल्लाको तामाकोशी गाउँपालिका माछा, मासु र अण्डामा आत्मनिर्भर गाउँपालिका हो।मासु अण्डामा आत्मनिर्भर गाउँपालिका भए पनि गाउँपालिकामा उत्पादन भएको अण्डा र मासुले बजार नपाउँदा समस्या भएको तामाकोशी गाउँपालिकाका कुखुरा व्यवसायी टिकारान फुयालले बताए ।

फुँयालका अनुसार तामाकोशी गाउँपालिकाभित्रका धेरै मानिस कुखुरा पालन व्यवसायमा आबद्ध छन् । गाउँपालिकाका धेरैजसो युवाहरुले फर्म दर्ता गरेरै कुखुरा पालनव्यवसाय गरिरहेका छन् । चरीकोटमा मासु व्यवसाय गर्दै आएका दिपक खत्रीले लकडाउन हुनुअघि नै मासु र अन्डा बिक्री गर्न समस्या हुने गरेको बताए । लकडाउनले त झन व्यवसायनै संकटमा पारेको उनको भनाई छ ।

लकडाउन हुनुपूर्व खत्रीको मासुपसलबाट दैनिक ४० किलो खसी र २० किलो कुखुराको मासु बिक्री हुने गथ्र्यो तर लकडाउनले बजार र होटल बन्द भएको कारण दैनिक १० किलो मासु बेच्न पनि समस्या भएको उनले बताए । बजारमा दानाको मूल्य पनि लकडाउनका कारण वृद्धि भएको छ । अघिल्लो महिना ३ हजारमा पाईने दाना बढेर अहिले तीन हजार ५ सय पुगेको छ । चर्को मूल्यको दाना खुवाएर सस्तोमा मुल्यमा कुखुरा बिक्री गर्नुपरेको कुखुरा पालक कृषकको दुःखेसो छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया