Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदोलखाका सहकारीले ल्याए ‘लकडाउन’ विशेष प्याकेज

दोलखाका सहकारीले ल्याए ‘लकडाउन’ विशेष प्याकेज


सुबास बस्नेत
दोलखा, वैशाख ३०
जिल्लामा रहेका सहकारी तथा वित्तीय संस्थाले लकडाउनले प्रभावित बनेका आफ्ना सेयर सदस्यका लागि विभिन्न राहतका कार्यक्रम घोषणा गरेका छन्।सदरमुकाम चरीकोट र जिल्लाभित्र रहेका सानाठूला सहकारीले आ–आफ्नै किसिमका सदस्य राहत कार्यक्रम सुरु गरेको हुन् । सदरमुकाम चरीकोटमा रहेको मिलिजुली कालिञ्चोकसहकारीले आफ्नो सबै सदस्यलाई बचतमा आधा प्रतिशत ब्याज थप तथा कर्जामा ब्याज छुट र हर्जना मिनाहा गरिदिने भएको छ ।सञ्चालक समितिलेनिर्णय गरेर सेयर सदस्य तथा बाल बचतकर्ताको बचतमा जेठ र असार महिनामा गरिएको बचतमा शून्य दशमलव ५ प्रतिशत ब्याज थप गर्ने निर्णय गरेको मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए । त्यसको लागि करिब सात लाख खर्च हुने सहकारीको अनुमान छ ।

लकडाउनले परेको असहज परिस्थितिका कारण करिब २२ हजार सेयर र आठ हजार पाँच सय बालबचत गरी ३० हजार पाँच सय बचतकर्ताहरूलाई सो ब्याज थप गरिने व्यवस्था गरेको उनले बताए । त्यसैगरीकर्जा लिएका सदस्यहरूले वैशाख मसान्तभित्र किस्ता वा ब्याज बुझाएमा बुझाएको ब्याजमा १० प्रतिशत छुट, जेठ मसान्तभित्र किस्ता वा ब्याज बुझाएमा बुझाएको ब्याजमा ७ प्रतिशत छुट र असार २० गतेसम्म किस्ता वा ब्याज बुझाएमा बुझाएको ब्याजमा ५ प्रतिशत छुट गरेको सीईओ न्यौपानेले बताए ।

त्यसैगरी सदरमुकाम चरिकोटमा रहेको हाम्रो जनकल्याण सहकारीले लकडाउनअघि, लकडाउन अवधिभर र लकडाउन सकिएपछिसहित गरी ५ देखि १२ प्रतिशतसम्म कर्जाको ब्याज छुट दिने निर्णय गरेको साकोसका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । लकडाउनअघिको ब्याज बुझाएमा ५ प्रतिशत तथा हर्जनामा ५० प्रतिशत छुट, लकडाउन अवधिभरको ब्याज बुझाएमा १२ प्रतिशत छुट तथा हर्जना मिनाहा र लकडाउन खुलेपछि ब्याज बुझाएमा ७ प्रतिशत छुट तथा हर्जनामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए।

त्यस्तै अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरूलाई विशेष राहत कार्यक्रम ल्याएको जनाएको छ ।सरकारले जारी गरेको लकडाउनको समयमा घर भाडा र बालबालिकाको विद्यालय भर्ना शुल्क तिर्नका लागि सदस्यहरूलाई १० प्रतिशत ब्याजमा अधिकतम २० हजार ऋण दिने निर्णय गरिएको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए।अध्यक्ष दाहालका अनुसार सहकारीले नियमित बचतकर्तालाई लकडाउन सुरु भएदेखि असार मसान्तसम्मको जम्मा बचतमा एक प्रतिशतको दरले ब्याज थप गर्ने,लकडाउन अवधिभर बचत गर्ने सेयर सदस्य र बाल बचतकर्तालाई बचत गरिएको सबै किसिमको रकममा थप दुई प्रतिशत ब्याज दिने,लकडाउनमा नयाँ सेयर सदस्य तथा बाल बचतकर्ता बन्न चाहने व्यक्तिलाई प्रवेश शुल्कमा शतप्रतिशत छुट दिनेलगायतका राहत प्याकेज ल्याएको छ ।

त्यसैगरी चरीकोटकै गौरीशंकर सहकारीले पनि आफ्ना सदस्यलाई बचत र ब्याजमा सहुलियत राहत दिने जनाएको छ । त्यस्तै जिल्लाको गौरीशंकर गाउँपालिका जुँगुमा रहेको जनउपकार सहकारीले भाका नाघेका आफ्ना सदस्यलाई ब्याजमा १० देखि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया