Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिस्वदेशी तरकारीलाई बजार छैन, आयातित तरकारीको परिमाण बढेको बढ्यै

स्वदेशी तरकारीलाई बजार छैन, आयातित तरकारीको परिमाण बढेको बढ्यै


प्रवीण राउत
काठमाडौं, वैशाख ३०
लकडाउनको अवधिमा स्वदेशकै किसानले उत्पादन गरेका तरकारीलगायतका कृषिउपजले बजार नपाउँदा विदेशबाट आयात गर्ने तरकारीलगायतको सामग्रीको परिमाण भने निरन्तर वृद्धि भएको पाइएको छ । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा लकडाउनको समयमा किसानहरुको तरकारीले बजार नपाएको गुनासो गर्दा यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने तरकारी लगायतका सामग्रीको आयात वृद्धि विवरण सार्वजनिक गर्दै आएको छ ।

बैठकमा बोल्दै लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु बजारमा बिक्री गर्न नसकेको बताए । ‘लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी, दूधलगायतको वस्तु बिक्री गर्न पाएका छैनन्’, उनले भने, ‘चार/पाँच सय मानिसले कालीमाटी बजार कब्जा गर्दा मन्त्रीज्यूलाई बजारमा लग्दा समेत केही हुन सकेन ।’

यस्तै बैठकमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले दूध बिक्री नहुँदा दैनिक डेढ करोड रुपैयाँ नोक्सानी भएको बताए । ‘मुलुकभर दैनिक करिब छ लाख लिटर दूध उत्पादन हुने गरे पनि बिक्री हुन नसक्दा नोक्सानी व्यहोर्नुपरेको छ’, उनले भने, ‘छ लाख लिटर दूधमध्ये करिब तीन लाख लिटर दूध बिक्री नहुँदा दैनिक एक करोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको छ ।’

यता उद्योग मन्त्रालयले भने दूधजन्य पदार्थको आयातमा समेत तीन सय १४ प्रतिशतले वृद्धि भएको जनाएको छ । मन्त्रालयले तरकारी, दूधजन्य पदार्थ मात्र नभएर खाद्यान्न, दलहन, गेडागुडी तथा फलफूललगायतको सामग्रीको आयातमा वृद्धि भएको बताएको छ । लकडाउन सुरु भएपछि खाद्यान्नको आयात क्रमशः बढेको बताउँदै मन्त्रालयका अधिकारीले पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्न आयात एक सय १४ प्रतिशत र दलहन तथा गेडागुडी आयात एक सय २१ प्रतिशतले बढेको बताए । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः नौ प्रतिशत र तीन सय ७६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा दुग्धजन्य पदार्थको आयात तीन सय १४ प्रतिशत, औषधिको कच्चापदार्थको आयात एक सय ७७ प्रतिशत र तयारी औषधिको आयात दुई ४५ प्रतिशतले बढेको छ ।

लकडाउन सुरु भएको ४७ दिनको समयमा एक लाख ५१ हजार नौ सय ८४ मेट्रिक टन खाद्यान्न, ४१ हजार आठ सय १० मेट्रिक टन दलहन, ६० हजार २९ मेट्रिक टन तरकारी, २१ हजार ६९ मेट्रिक टन फलफूल, ११ हजार एक सय १० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको जनाएको छ । यस्तै ४७ करोड ४७ लाख ७९ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ तथा दुई अर्ब ४८ करोड आठ लाख ७७ हजारबराबरको तयारी औषधि आयात भएको छ । लकडाउन सुरु भएको छ हप्तामध्ये खाद्यान्न पाचौँ हप्तामा दलहन तथा गेडागुडी, फलफूल, औषधिको कच्चापदार्थ र तयारी औषधि छैठौं हप्तामा सबैभन्दा बढी आयात भएको छ भने तरकारी र दुग्धजन्य पदार्थ चौथो हप्तामा सबैभन्दा बढी आयात भएको छ ।

लकडाउनको अवधिमा सहज रुपमा तरकारी, दूध, फलफूललगायतको सामग्रीहरु सहज रुपमा बजारसम्म पु¥याउने व्यवस्था गर्न कृषकहरुले स्थानीय सरकार, प्रशासनसँग आग्रह गरे पनि त्यसको उचित कार्यान्वयन हुनसकेको छैन । जसले गर्दा स्वदेशका किसानहरुले उत्पादन गरेको तरकारीलगायतको वस्तुहरु बारीमै कुहिने अवस्था छ भने विदेशी किसानले उत्पादन गरेको तरकारीले भने उचित मूल्य पाउन सफल भएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया