Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसामूहिक केरा खेतीतर्फ स्थानीय किसान आकर्षित

सामूहिक केरा खेतीतर्फ स्थानीय किसान आकर्षित


दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीस्थित तिनेखुका स्थानीय युवाहरूले परम्परागत खेतीलाई छाडेर व्यावसायिक केरा खेती विस्तार गरेका छन् । सो गाउँका १५ जना स्थानीय मिलेर खेतमा सामूहिकरूपमा केरा खेती सुरु गरेका हुन् ।

परम्परागत धान गहुँ खेती गर्ने खेत र बाँझो जमिनमा केरा खेती सुरु गरिएको स्थानीय रामकृष्ण खड्काले बताए । देशमा केरा बाहिरबाट आयात गर्नुपर्ने र आयातीत केरा सोचेजस्तो राम्रो नहुने भएकाले सामूहिकरूपमा केरा खेती सुरु गरिएको उनको भनाइ छ । उनीहरूले खेती थालेको पहिलो वर्षमा नै १५ हजार दर्जन केरा बच्ने सफल भएको खड्काले बताए । कहाँ बिक्री गर्ने भन्ने चिन्ता पनि नहुने र गाउँमै ग्राहक आउने भएकाले केरा नगदी र उत्पादनशील खेती रहेको खड्काको भनाइ छ । खड्काले गत वर्ष घर नजिकैको होटल पसल र इविथान हाटमा लगेर बिक्री गरेका थिए ।

८० रोपनी जग्गाबाट सुरु गरिएको केरा खेती अहिले अन्यत्र पनि विस्तार गर्न लागेको उनले बताए । अरू खेतीजस्तो झन्झटिलो र धेरै मिहिनेत गर्नुनपर्ने भएकाले व्यावसायिकरूपमै सञ्चालन गर्न थालेको खड्काले सुनाए । मलजल राम्ररी गर्न सकेमा एउटै घरीमा दुई सयभन्दा बढी केरा फल्छ । अरू बालीजस्तो बाँदर, मृग, दुम्सी, कालिजले दुःख नदिने भएकाले धेरैको आकर्षण बढ्न थालेको खड्काले बताए ।

उनीहरूले अहिले मुङ्ग्रे र जिनाइन जातको केरा लगाएका छन् । ठाउँ र माटोका कारण केरा खेती फस्टाउन थालेपछि यस वर्ष हलेश्वर कृषि तथा पशुपन्छी कृषक समूह नै दर्ता गरेर व्यावसायिक केरा खेतीको रूपमा विस्तार गर्ने समूहका अध्यक्ष नवराज खड्काले बताए । बागमती प्रदेशअन्तर्गत कृषि ज्ञान केन्द्र रापेछापले केरा खेतीका लागि ७० प्रतिशत सहयोग गरेको उनको भनाइ छ । हिजोआज गाउँका अन्य युवाहरू पनि केरा खेतीतर्फ उत्साहित बन्दै गएका छन् । धान गहुँको खेतीले भन्दा केराबाट राम्रो आम्दानी हुने हुँदा यहाँका किसान केरा खेतीतर्फ आकर्षित बनेका हुन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया