Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिस्याउ उत्पादनमा वृद्धि

स्याउ उत्पादनमा वृद्धि


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा उच्च गुणस्तरको स्याउ उत्पादन क्रमिकरूपले वृद्धि भएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई केलाउँदा जिल्लामा स्याउ उत्पादन क्रमिकरूपले वृद्धि भएको पाइएको हो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार एक सय ९३ मेट्रिक टन उत्पादन भएको स्याउ आव २०७९/८० मा एक हजार तीन सय नौ मेट्रिक टन र २०८०/८१ मा एक हजार तीन सय ८६ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

जिल्लामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आईडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताए । उनले भने, ‘जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरू सबै मासिएको छ तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ । यो दश छ/सात वर्ष भयो होला नयाँ प्रजातिको स्याउ भित्रिएको यसले चाहिँ राम्रै आम्दानी दिइरहेको छ ।’ यद्यपि सुरुवातको केही वर्षहरूमा राम्रै आम्दानी दिए पनि बोट पुरानो हुँदै गएपछि उत्पादनमा गिराउट आउने लक्षण देखिएको कृषि विज्ञहरू बताउँछन् । विसं २०७८/७९ मा दुई सय पाँच हेक्टर, २०७९/८० मा दुई सय २१ र २०८०/८१ मा दुई सय ३० हेक्टरमा गरिएको स्याउ खेतीले उत्पादन दिएको हो । उत्पादकत्व पनि क्रमशः बढिरहेको छ ।

जिल्लामा हाल दुई सय ३३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९ र १० बढी खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित स्याउ अधिकांश जिल्लामै खपत हुने गरेको छ भने केही मात्रामा जिल्ला बाहिर पनि निर्यात भएको छ । यद्यपि, चिसोका कारण रङमा राम्रोसँग विकास नभएको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवा बताउँछन् । जिल्लाको गोरा, टाप्टिङ, पत्ताले लगायतका क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरणले स्याउ पकेट क्षेत्र नै घोषणा गरेर काम गरिरहेको छ । पकेट क्षेत्र हुँदा उत्पादनमा केही मात्रामा वृद्धि भए पनि त्यसपश्चात् किसानले स्याउको हेरचाह गर्न नसक्ने कतिपय जानकारहरूको आकलन छ ।

पछिल्लो समय स्याउमा एक प्रकारको अजेरु तथा बोट र फलमा कालो हुने रोग देखिएको छ । उक्त समस्याको समाधान किसानका लागि महँगो पर्ने उनीहरू बताउँछन् । विगतमा जिल्लाको गोरा, टाप्टिङ क्षेत्रलाई स्याउको हब नै मानिन्थ्यो । सो क्षेत्रमा वार्षिक १० हजार टनभन्दा बढी स्याउ उत्पादन हुने गरेको एक वृद्ध लाक्पा शेर्पाले बताए । सो समय यहाँ उत्पादित स्याउ खपत नभएर घरेलु रक्सी उत्पादन गर्नेदेखि वस्तुभाउलाई खाउने प्रयोजनका लागि समेत प्रयोग गरिने गरेको उनको भनाइ छ । तर ती रैथाने जातका स्याउहरू पछिल्लो २० वर्षमा सबै लोप भएको शेर्पाको अनुभव छ । पुराना जातका स्याउहरू ऐजेरु, बोट मर्ने, फल नदिनेजस्ता कारणहरूले मर्दै गएको छ भने कतिपय रुख बुढो भएका कारण आफैं झर्दै गएको स्याउ किसान कर्मा शेर्पाको भनाइ छ । त्यसपछि केही वर्ष स्याउ खेतीबाट निराश बनेका किसानहरू पछिल्लो एक दशकयता उच्च घनत्वको स्याउ खेतीतर्फ हौसिएको स्थानीय बताउँछन् ।

नयाँ प्रजातिको स्याउले रोपेको छोटो समय एक वर्षमै उत्पादन दिने भएकाले किसानको रोजाइ यसतर्फ सोझिएको ज्ञान केन्द्रका सूचना अधिकारी राईले बताए । यो प्रजातिको स्याउको बोट सानो र होचो हुने तथा कम क्षेत्रफलमा धेरै बोट लगाउन सकिनुका साथै उत्पादन समेत बढी दिने भएकाले किसानहरू अन्य बाली मासेर भए पनि स्याउ खेतीमा अग्रसर बनेका छन् । उत्पादित स्याउलाई बजारको समेत अभाव नभएकाले किसानले खेती गर्न रूचाएका छन् । जिल्लामा उत्पादन भएको स्याउ कतिपय जिल्लामै खपत हुन्छ भने आधाभन्दा बढी जिल्लामा कार्यरत कर्मचारीहरूले घर बिदामा जाँदा कोसेलीको रूपमा लैजाने भएकाले खपत राम्रो रहेको किसानको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया