Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिखोर्सानी तथा लसुन खेतीबाट राम्रो आम्दानी गर्दै किसान

खोर्सानी तथा लसुन खेतीबाट राम्रो आम्दानी गर्दै किसान


सुबास बस्नेत
दोलखा, जेठ ५
पछिल्लो समय दोलखामा खोर्सानी र लसुन खेती गर्ने किसान बढेका छन् । जिल्लाको सदरमुकाम चरीकोटमा अकबरे खोर्सानीको बिरुवा खोज्ने र किन्ने किसानहरू बढेको पाइएको छ भने गाउँमा लसुन बेच्ने व्यापारीको संख्या बढेका छन् । वर्षाको सिजन सुरु भएसँगै गरिने खोर्सानी खेतीको लागि चैत महिनादेखी खोर्सानीको दल राख्ने गरिन्छ । जेठको पहिलो सनिवार लकडाउनकै बीच पनि भीमेश्वर नगरपालिकाका किसानले स्थानीयको मागअनुसार बिहान सबेरै खोर्सानीको बिरुवाको भारी बोकेर बजार आइपुगेका थिए । खोर्सानी खेतीको सिजन सुरु भएकाले एक हजार पाँच सय खोर्सानीको बिरुवा उत्पादन गरेको भीमेश्वर नगरपालिका जिलुकी किसान हरिमाया चौलागाईंले बताइन् । उनले वर्षेनी यो समय एक हजारदेखि तीन हजारसम्म खोर्सानीको बिरुवा बेच्ने गरेकी छिन् ।

बजारमा धेरै मानिसले अकबरे खोर्सानीको बिरुवा खोज्ने भएकाले यो समय आफ्नो आम्दानीको स्रोत नै यहीँ खेती हुने गरेको उनले बताइन् । गत वर्ष जेठ सुरु हुनुअघि नै उनले २० हजार रूपैयाँभन्दा माथिको खोर्सानीको बिरुवा बिक्री गरेकी थिइन् । यस वर्ष भने लकडाउनको कारण करिब पाँच हजार रूपैयाँको मात्र बिरुवा बिक्री गरेको उनले बताइन् । त्यसैगरी शनिबार खोर्सानीको कुम्लो बोकेर चरीकोट आएकी भीमेश्वर नगरपालिका वडा नम्बर ७ की किसान चमेली तामाङले लकडाउनका कारण चार सय जति मात्रै बिरुवा बिक्री गर्न ल्याए पनि माग धान्न मुश्किल परेको बताइन् । उनले भनिन्, ‘धेरै मान्छे खोर्सानीको बिरुवा किन्न आएका रहेछन् । सबैलाई बजार नजिकै घर भएकाले घरमै लिन आउनु भनेको छु ।’ खोर्सानीको बिरुवा प्रतिगोटा पाँच रूपैयाँले बिक्री गर्ने गरेको किसानहरूले बताएका छन् ।

त्यसैगरी वैतेश्वर गाउँपालिका– ३ मझुवा टोलका कृषकले भने हरियो लसुन उत्पादन गरेर राम्रो आम्दानी लिन सफल भएका छन् । लकडाउनले अन्य तरकारी उत्पादन गरिरहेका किसानहरूले घाटा व्यहोरीरहेका बेला यहाँका कृषकहरूले भने अघिल्लो वर्षको भन्दा करिब ५८ प्रतिशत बढी मूल्य लिएर तीन हजार पाँच सय केजी लसुन बिक्री गरेका हुन् । अघिल्लो वर्ष प्रतिकेजी ७० रूपैयाँमा बिक्री भएको लसुन यसपाली प्रतिकेजी एक सय २० रूपैयाँमा बिक्री गरेको किसानहरूले बताए । किसान इन्द्रबहादुर खड्काले यसपाली राम्रो मूल्यमा लसुन बिक्री भएको बताए । पूरै सुकेको लसुन कालिमाटी तरकारी बजारमा प्रतिकेजी दुई सय ५० रूपैयाँ भए पनि आलै लसुनको राम्रो मूल्य पाएको उनले बताए ।

यसपाली नौ सय २१ केजी लसुन बिक्री गरेका खड्काले एक लाख १० हजार रूपैयाँ आम्दानी गर्न सफल भएको बताए । मझुवा टोल छेउछाउबाट लसुन ठेकेदारले साढे ३ टन लसुन खरिद गरेको पनि उनले बताए । अर्का किसान राजकुमार दाहालले लकडाउन नै भए पनि प्रतिकेजी एक सय २० को दरले तीन सय ५० केजी लसुन बिक्री गरेको बताए । लकडाउन लगायतका कारण यसपाली लसुनको राम्रो मूल्य पाइएको उनले बताए । मौषमको कारण यसपाली केही छिटो बारीबाट लसुन उखेल्नु परेको किसानहरू बताउँछन् । मौसमले केही बाधा पारे पनि लकडाउनले लसुनको राम्रो मूल्य पाइएकोमा किसान दाहालले खुशी व्यक्त गरे ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया