Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबजार नपाएपछि तरकारी फाल्न बाध्य, ऋणमा डुब्दै कृषक

बजार नपाएपछि तरकारी फाल्न बाध्य, ऋणमा डुब्दै कृषक


सन्तोष पौडेल
बीरगञ्ज, जेठ ९
पर्सामा उत्पादित तरकारी बिक्री वितरण गर्न बजार नपाएपछि यतिबेला किसान बाटोमै तरकारी फाल्ने गरेका छन् । लामो समयदेखि जारी लकडाउनका कारण कृषि प्रधान देश भनिएका कृषक ऋणमा डुब्दै गइरहेका छन् । पर्साको ग्रामीण भेगका उत्पादित तरकारी बिक्री वितरण हुन नसक्दा किसानले उत्पादन गरेको तरकारी बाटोमै फाल्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरसले लामो समयदेखि जारी लडकडाउनले किसानको उत्पादित हरियो तरकारी बिक्री वितरण हुन नसकेको हो ।

लकडाउनका कारण पर्साको बहुदरमाई नगरपालिकामा उत्पादित तरकारीले सहज बजार पाउन नसक्दा कृषकहरूको लगानी समेत उठ्न छोडेको छ । केही किसानले विभिन्न गाउँमा लगेर एकदमै न्यून मूल्यमा बिक्री वितरण गरे पनि उत्पादित सबै तरकारी खपत हुने गरेको छैन । यस सिजनमा उत्पादित बोडी, भिन्डी, करैला, लौका र घिउँडा यहाँका किसानहरूले स्थानीय पैनी, नहर र खेतमै फाल्ने गरेका छन् । लकडाउनका कारण थोक बजारमा बिक्री वितरण गर्न ल्याउन नसक्दा तरकारी खेतमै फाल्नुपर्ने अवस्था आएको हो ।

तरकारी खेतीको हब रहेको बहुदरमाई नगरपालिकामा प्रायः किसानले व्यावसायी खेती गरेका छन् । गाउँमा बिक्री वितरण गर्न जाँदा बोडी भिन्डी, करैला, काँक्रोलगायतका तरकारी प्रतिकेजी ५ रूपैयाँको दरले पनि बिक्री हुन नसकी लगानी समेत उठ्ने नभएपछि कतिपय कृषक बाटोमै तरकारी फालेर घर फर्किने गरेको बहुदरमाई–१ का स्थानीय युवा सुखाडी यादवले बताए । उनले भने, ‘किसानको उत्पादित तरकारी बाहिर नगएर नगरभित्रै घुमाएर बिक्री गर्नु परिरहेकोले प्रायः सबैसँग तरकारी पर्याप्त नै रहेकोले कतिपय कृषक बाध्य भएर उत्पादन गरेको तरकारी बाली गाई, भैसी तथा बाख्राहरूलाई खुवाउने गरेका छन् ।’

फुलकौल र भौराटारका कृषकले दिनभरि आसपासका विभिन्न गाउँमा घुमाएर तरकारी बेचे, तर साझसम्म पनि उनीहरूको तरकारी बिक्री वितरण हुन नसक्दा विश्रामपुर–फूलकौलको बीचमा पर्ने ढोङ्गही नदी र एक नहर(पैनी)मा लगभग एक क्विन्टल जति बोडी, करैला र भिन्डी फालेर गएको विश्रामपुरका स्थानीय वृजेश यादवले बताए । ‘पछिल्लो समय लकडाउनमा पनि काठमाडौंबाट गाडी लिएर आएका व्यापारी यहाँको उत्पादित तरकारी खरिद गर्ने गरेका थिए, तर आजकाल उनीहरू पनि आउँन छोडेपछि अहिले खेतमा लटरम फलेको तरकारी बालीले लगानीको कुरै छोडौँ, दैनिक मजदुरी समेत निकाल्न सकिने अवस्था छैन’, बहुदरमाई–१ कै स्थानीय किसान सफोदिन मियाँले भने ।

लम्बिदै गरेको लकडाउनले उत्पादित तरकारी बिक्री वितरण हुन नसक्दा तथा दैनिकी मजदुरीमा पनि निस्किन नपाउँदा आर्थिक अभावले अधिकांश किसानलाई घरपरिवारको छाक टार्न समेत अप्ठ्यारो भइसकेको बहुदरमाई–५ का किसान विन्देशरी ठाकुरले बताए । यहाँ उत्पादन भएको तरकारीले स्थानीय बजार छेकी सदरमुकाम वीरगञ्ज र त्यसबाहेक देशको विभिन्न ठाउँमा जाने गर्दथ्यो । लकडाउनले स्थानीय बजार लाग्न छोडेपछि गाउँघरमै राखेर केही तरकारी बिक्री वितरण गरिरहे पनि बाहिरबाट तरकारी खरिद गर्न आउने व्यापारीहरू अहिले आउन छाडेपछि आफ्नो मिहिनेतभन्दा पनि खेती गर्न लिएको ऋण र व्यावसायिक खेतीबाटै पाल्दै आएको परिवार अब कसरी चलाउने चिन्ताले सताईरहेको बहुदरमाई–७ का किसान देवपुजन कुशवाहाले दुखेसो पोखे ।

‘उत्पादित तरकारी बिक्री वितरण गर्न मात्रै समस्या छैन, अहिले तरकारीमा लाग्ने गरेको विभिन्न किरा, रोगको विषादी तथा मल्ल किन्न पाएका छैनौं । यति मात्रै होइन, मलको खरिद गर्न चाहिने पैसा पनि छैनन् र लकडाउनमा उत्पादित तरकारीको भाउ नभएको र तरकारी खेतमै कुहिने अवस्था हेरेर आम्दानी नहुने भएपछि कसैले ऋण पनि दिइरहेको छैन’, उनले भने । पर्साका अधिकांश कृषक ऋण लिएर तरकारी खेती गर्ने गरेका छन् । तरकारी बिक्री नभई फाल्नुपर्ने अवस्था आएपछि ऋण कसरी तिर्ने भन्ने विषयले किसानलाई पिरोल्ने गरेको छ ।

बहुदरमाई नगपरपालिकाको विश्रामपुर, पटनी, भौराटार, फूलकौल, बहुअरी, गम्हरीया लगायतका पुरै गाउँ नै तरकारी खेतीको हब रहेको छ । अहिले पर्सा जिल्लामा कुल दुई हजार हेक्टर क्षेत्रफल जग्गाामा तरकारी खेती भएको छ । जसमध्ये बहुदरमाई नगरपालिकामा मात्रै ५ सय हेक्टर क्षेत्रफल तरकारी खेती गरिएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए । उनले किसानले उत्पादन गरेको तरकारी बिक्री वितरण गर्न सदरमुकामसम्म खुकुलो गरिएको बताए । ‘किसानले सदरमुकामसँगै एक जिल्लाबाट अर्का जिल्लामा तरकारी लैजान सक्ने हुनुपर्थ्यो तर यस्तो हुने सकेन’, उनले भने ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया