Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई डिजेल अभाव

किसानलाई डिजेल अभाव


सन्तोष पौडेल
बीरगञ्ज, जेठ ११
खेत जोत्ने चटारोमा रहेका ग्रामीण क्षेत्रका कृषकहरुमा इन्धनको अभाव भएको छ । पर्साको ग्रामीण क्षेत्रका आयल स्टोरहरूले पनि इन्धन नपाएको बताएका छन् । लामो समयदेखि इन्धन बोकेको ट्यांकर गाउँमा नआएको पेट्रोलपम्प सञ्चालकहरूले बताए । इन्धन नआएर सकिन लागेकोले किसानहरूको मागअनुसार उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ । पोखरिया कृष्ण आयल स्टोरमा ३ घण्टा लाइनमा बसेपछि ५० लिटर डिजेल पाएको भिखमपुर निवासी सन्तोष पटेलले बताए ।

किसानको लागि सरकारले डिजेलको सहज आपूर्ति गरिदिनुपर्ने उनीहरूको माग छ । इन्धन उपलब्ध भएमा खेतीपाती गर्न सहज हुने पटेर्वासुगौलीका राजेशदास थारू बताउँछन् । पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको बताउने सरकारले सहरमा सवारी नचलेको बेला पनि ग्रामीण किसानलाई डिजेल उपलब्ध गराउन नसक्नु लाजमर्दो भएको भन्दै किसानहरूले आक्रोश पोखिरहेका छन् ।

त्यसैगरि ठोरी गाउँपालिकाको क्षेत्रमा रहेको एउटा मात्र पेट्रोलपम्प विजयबस्तीको नेवा आयल स्टोरमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म डिजेल र पेट्रोल लिन लाइन लाग्ने गरेको छ । दिनभरि लाइनमा बस्दा पनि किसानको आवश्यकता अनुसार डिजेल नपाएको उपभोक्ताहरूको गुनासो छ । ३० लिटरदेखि ५० लिटरसम्म मात्रै उपभोक्तालाई पम्पले डिजेल दिने गरेको छ । पम्पमा डिजेल अभाव भएकोले मागअनुसार दिन नसकेको र यहाँ ठोरी, जगरनाथपुर, जीराभवानी गापालगायतबाट कृषकहरू डिजेल किन्न आउने गरेका पम्प सञ्चालकको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया