Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘स्थानीय तहलाई सहकारीले उत्प्रेरित गर्न सक्छ’

‘स्थानीय तहलाई सहकारीले उत्प्रेरित गर्न सक्छ’


काठमाडौं, जेठ १२
राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको स्वैच्छिक राष्ट्रिय समिक्षा प्रतिवेदन (भीएनआर)को तयारीका सन्दर्भमा आइतबार सहकारी अभियानसँग भर्चुअल परामर्श गरेको छ । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले १५औं योजनाको आत्माभित्र सहकारी र दिगो विकास लक्ष्य रहेको बताउँदै सहकारी क्षेत्र तत्लो तहसम्म पुग्ने भएकाले एसडीजी कार्यन्वयनका लागि यो योगदान अपरिहार्य रहेको बताए ।

कोभिड १९ को महामारीका कारण दिगो विकास र १५औं योजनाका लक्ष्यमा असर गरेको र त्यसलाई न्यूनीकरण गर्न तथा अर्थतन्त्रको पुनरोत्थान गर्न उपयुक्त योजना कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने उनको भनाइ थियो । सहकारीले स्वास्थ्यका क्षेत्रमा समेत महत्वपूर्ण सेवा प्रदान गर्न सक्ने भएकाले त्यसतर्फसमेत अभियान अग्रसर हुनुपर्ने उनले बताए । कँडेलले स्थानीय तहलाई उत्पेरित गर्न समेत सहकारीले भूमिका खेल्नसक्ने औल्याउँदै अगामी वर्ष सबै स्थानीय तहलाई योजना बनाउन उत्पेरित गर्ने तयारी भएको समेत बताए । छलफलमा संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्यले भीएनआरको विषयमा प्रष्ट पारेका थिए । नेपालले दोस्रो पटक यो प्रतिवेदन प्रस्तुत गर्न लागेको हो ।

नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि के–कस्ता कार्य गरिरहेको छ भन्ने विषय र अहिले एसडीजी हासिलको कुन क्रममा नेपाल छ भन्ने विषय रिपोर्टमा समेटिने उल्लेख छ । राष्ट्रिय सहकारी महासंघले योजना आयोगले गठन गरेको विभिन्न कमिटीमा रहेर आफ्नो योगदान दिइरहेको छ भने सहकारीमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका समेत खेल्दै आएको छ ।

नेपालले एसडीजी हासिलका लागि चार सय ७९ वटा सूचकाङ्क तय गरेको भए पनि कोभिड १९का कारण कार्यान्वयनमा प्रभाव परेको आचार्यले बताए । उनले नेपाल, भारत र बंगलादेशले आफ्नो दोस्रो भीएनआर रिपोर्ट उच्चस्तरीय राजनीतिक मञ्चमा प्रस्तुत गर्ने जानकारी दिए । योजना आयोगका सदस्य मिनबहादुर शाहीले दिगो विकास लक्ष्य प्राप्तिको मुख्य पार्टनरका रूपमा सहकारी रहेको बताए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी एसडीजीका १७ वटै लक्ष्य प्राप्तिका लागि काम गर्नसक्ने क्षेत्र भएको र त्यसका लागि सुरुआतदेखि नै महासंघले सहकारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्नका लागि योजनाबद्ध रूपमा कार्य गरिरहेको बताए ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले उत्पादक शक्तिलाई उत्साहित बनाउन, भूमिहिन श्रमिकलाई खेतीमा संलग्न गराउन, खेतीयोग्य जमीनमा उत्पादन वृद्धि गर्नका लागि सहकारीको भूमिका रहँदै आएको बताए । उनले विभेदको अन्त्य गर्ने, मर्यादित काम र आर्थिक बृद्धि, उत्तरदायी उपभोक्ता र उत्पादनका लागि सहकारीको मूख्य भूमिका रहने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लाबेल बोर्ड सदस्य ओमदेवी मल्लले महिलामाथि हुने सबै प्रकारका हिंसाको उन्मुलनका लागि सहकारीले महत्वपूर्ण कार्य गरेको र महिलालाई आत्मनिर्भर बनाइ सर्वसुलभ तथा सुरक्षितका साथ काम गर्ने वातावरणको प्रत्याभूत गराउनका लागि सहकारीको योगदानका कारण यो क्षेत्रमा लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताईन् ।

महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीले वित्तिय साक्षरता, उत्पादन वितरण, गरिबी निवारण, स्वरोजगार सिर्जनालगायतका क्षेत्रमा कार्य गरिरहेको बताए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले प्राविधिक जनशक्ति र सहकारीको उद्योगलाई आधिकारी कानुनी मान्यता प्राप्त हुन सकेको खण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै कृषि सहकारीबाट दुई सय ५२ वटा उद्योग सञ्चालन भएको ५० उद्योग निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । उनले बीउ प्रशोधन उद्योग, आधुनिक नर्सरी, मल उद्योग स्वदेशमा सहकारीमार्फत सञ्चालन गर्नसके देश आत्मनिर्भर हुने बताए । उनले सहकारीले सिराहामा कमला नदिबाट सिँचाइ गरेको उदाहरण दिँदै सिँचाइका लागि सहकारीलाई जोड्दै उत्पादन वृद्धि गर्नुपर्ने, खाद्य बैंक स्थापना गर्नेलगायतको विषय उजागर गरे ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालकलक केवी उप्रेतीले कोभिड १९को प्रभावका कारण एसडीजीको प्राथमिकताका क्षेत्र परिवर्तन गर्न पुनर्मूल्यांकन गर्नुपर्ने बताए । रोजगारी सिर्जना, उतपादन वृद्धि, वित्तीय व्यवस्थापन, साक्षरता र परिचालनमा सहकारीको योगदान रहेको र बैंकले २५ अर्ब लगानी गरिरहेको बताए । उनले कोभिड १९का कारण गरिबी बढ्ने, भोकमरी लाग्ने अवस्था नआओस् भनेर बैंकले बिनाधितो चैतदेखि नै त्यसलाई सम्बोधन गर्ने ऋण प्रवाह गरिरहेको बताए ।

महासंघका सञ्चालकलक तथा नेपाल केन्द्रीय दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष नारायण देवकोटाले संघमार्फत २५ वटा साना दुग्घ उद्योगले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गरेर ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने कार्य गरेको बताए । यस्तै, नेपाल केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले मौरी संरक्षण भएको खण्डमा मात्र मानव अस्तित्व रहने भएकाले मौरी मैत्री बिरुवा लगाउने, विदेशबाट फर्कने श्रमिकलाई सहकारी कृषिमा आबद्ध गराउँदै नया स्वरूपबाट काम गर्दा दिगो विकास लक्ष्य हासिल हुने बताए । केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले गरिबी न्यूनीकरणका लागि किसानलाई चिया खेतीमा आबद्ध गरेर, उद्योग स्थापना गरेर, रोजगारी सिर्जना गरी आर्थिकस्थिति सुधारका कार्य संघले गरेको बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया