Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिफौजी कीराले धानको बेर्ना सखाप

फौजी कीराले धानको बेर्ना सखाप


आशिष बहादुर सिंह
बझाङ,  जेठ २०
बझाङमा धानको बेर्ना अमेरिकी फौजी कीराले सखाप पार्न थालेको छ । रोपाइँ नजिकिएसँगै बेर्नामा फौजी कीराको प्रकोप देखिएपछि जिल्लाका कृषक चिन्तित भएका हुन् । करिब एक सातादेखि धानको बेर्नामा फौजी कीरा लाग्न सुरु गरेको हो । फौजी कीरा दिउँसोको समयमा बेर्नाको फेद बस्ने र बिहान बेलुका पातमा बसेर बेर्नाको टुप्पाबाट खान सुरु गरेको दुर्गाथली गाँउपालिका १ का नारायण बडुले बताए । उनका अनुसार फौजी कीरा बिहान र बेलुकीको समयमा लाग्ने गरेको छ । धानको बेर्ना राम्रोसँग टुसाउन नपाउँदै कीराले चरेर सखाप पारेको हो ।

अहिले जिल्लामा अमेरिकन फौजी कीरा र रैथाने फौजी कीराको प्रकोप फैलिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । अर्का कृषक मदनराज चिमाडीको धानको बेर्ना पनि फौजी कीराले नष्ट गरेको छ । ‘पहिले त थाहै पाइएन । रोपाइँ गर्ने समय नजिक आउँदै गर्दा बेर्ना हेर्नु प-यो भनेर हेर्दा त कीराले सखाप पारेछ’, उनले भने, ‘टाढा बाट हेर्दा राम्रै देखिन्छ । नजिक जाँदा त बेर्नाको पात सखाप पारेको छ ।’ भर्खरै टुसाउन थालेको बेर्ना कीराले खाएपछि यहाँका कृषकहरू भोकमरी हुने चिन्तामा छन् । जिल्लाका अधिकांश पालिकाहरूमा रोपाइँ गर्ने समय नजिकिँदै छ । रोपाइँको मुखमा बेर्ना सखाप पर्दा कृषकहरू रोपाइँ गर्ने कि मकै छर्ने भन्ने अन्यौलमा परेका छन् । कतिपय किसानहरूले उत्पादन धेरै हुने आशमा हाइब्रिड जातको धानको बेर्ना पनि लगाएका थिए । धानमा प्रकोप फैलिन नदिन विषादी छर्कने कार्य भइरहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ ।

केन्द्रका अनुसार प्रकोप फैलन नदिन तत्कालका लागि कीरा मार्ने औषधि हालिएको छ । सम्भावित प्रकोप रोक्न निमजन्य, मालाथिनलगायतका विषादी वितरण गरिएको कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख दिलबहादुर सिंहले बताए । उनले भने, ‘अहिले जिल्लामा अमेरिकन फौजी कीरा र रैथाने फौजी कीरा गरी दुई प्रकार कीराको प्रकोप फैलिएको छ । यो कीराले ५ चोटी काँचुली फेर्छ । तेस्रो अवस्थामा सम्म मात्र विषादीले काम गर्छ । तेस्रो चरण पछि विषादीले काम नगर्दा यस्तो समस्या आउने गरेको छ ।’ जिल्लामा धानको बेर्नामा मात्र नभई मकैमा पनि यस कीराको प्रकोप देखिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया