Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअसिनापानीले गहुँ र जौ खेतमै नष्ट

असिनापानीले गहुँ र जौ खेतमै नष्ट


गोरखा । किसानले भित्र्याउने बेला भएको गहुँ र जौ बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले खेतमै नष्ट भएको छ । बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिए ।

शनिबार ४ बजेदेखि लगातार तीन घण्टाभन्दा बढी बारपाक क्षेत्रमा भीषण वर्षासँगै असिना परेको वडाध्यक्ष घलेले बताए । बारपाकका करिब एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जौं असिनापानीले नष्ट भएपछि अहिले बारपाकका किसान चिन्तामा परेका छन् ।

बारपाकको सोर्पा, र्खोका, च्वेजङ्ग, तसीरङ्ग, र्मोकङ्ग लगायतका क्षेत्रमा किसानले अत्याधिक मात्रामा जौँ र गहुँको खेती गर्ने गर्दछन् । असिनापानीले बारपाक क्षेत्रमा किसानले लगाएको हिउँदे तरकारी बालीसमेत पूर्णरुपमा नष्ट भएको छ । असिनापानीले कति मूल्य बराबरको क्षति भयो भन्ने यकीन नभइसकेको वडाध्यक्षको भनाइ छ । किसानलाई क्षतिपूर्तिको व्यवस्था नभए किसान थप समस्यामा पर्ने भन्दै उनले चिन्तासमेत व्यक्त गरका छन् ।

“यहाँ धेरैले आफैँ खानका लागिमात्र भए पनि र कतिपयले बिक्री गर्ने गरी हिँउदे तरकारी बाली आलु, प्याज, लसुनलगायतका खेती गरेका थिए”, उनले भने, “ठूलो असिनापानीले सबै क्षति गरेको छ ।” एउटै घरको न्यूनतम दुईदेखि तीनमुरीसम्म आलु क्षति भएको उनको भनाइ छ ।

स्थानीय किसान मनबहादुर घलेले भने, “जौ र गहुँ त पूरै असिनाले छोपेर सेतै पो भएछ अब के खाने हो ?” उनले असिनापानीले बालीनाली ढलेर सोत्तर भएको बताए । घलेले भने, “खानका लागि त छोड्दिनुस् अर्को वर्ष बीउ लगाउनका लागि अब कहाँ खोज्ने हो भन्ने अवस्था बारपाकका किसानहरुको भएको छ ।”

भौतिक संरचनामा क्षति : वडाध्यक्ष घलेले भीषण वर्षापछि आएको बाढीले बारपाकमा थुप्रै भौतिक संरचनामा क्षति पुगेको बताए । उनले बारपाक स्वास्थ्यचौकीमा डाँडाबाट आएको भेलसँगै आएको पहिरो छिरेर स्वास्थ्यचौकीको तारबारसहित पर्खाल बगाएको बताए ।


क्याटेगोरी : सहकारी–कृषि


तपाईको प्रतिक्रिया