Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबीउ तयार नहुँदा रोपाइँमा ढिलाइ

बीउ तयार नहुँदा रोपाइँमा ढिलाइ


बीरगञ्ज, जेठ २७
यसपटक वर्षा समयमा भए पनि किसानहरूले छरेको धानको बीउ तयारी नहुँदा रोपाइँ केही ढिला हुने भएको छ । किसानहरूले छरेको धानको बीउ कम्तीमा २५ दिनमा रोपाइँका लागि तयारी हुन्छ । बीउ छरेसँगै किसानहरूले धान रोपाइँ गर्नका लागि खेत तयारी पनि गरेका थिए । तर छरेको बीउ समयमा तयार नहुँदा पानी परेर खेत तयार भएपनि रोपनी हुन सकेको छैन ।

तीन दिनदेखि लगातार परेको पानीले धान रोपाइँ गर्न प्रशस्त अवसर थियो । तर बीउ तयारी नहुँदा किसानहरूले समयमा रोपनी गर्न सकेनन् । अरू बेला समयमा पानी नपरेर समस्या भोग्ने गरेका किसानहरूले यस वर्ष भने समयमा पानी पर्दा बीउ तयारी नहुँदा समस्या भोगेका हुन् । किसानहरूले यसपटकको बीउ कमसल भएकोले तोकेको समयमा तयार नभएको बताए । अन्य बेला यस समयमा बीउ तयार हुन्थ्यो तर पानीको अभावमा रोपनी हुन सक्दैन थियो । तर यसपटक बीउ तयार हुन समय लाग्यो । पर्सामा लकडाउनको कारण किसानहरूले उन्नत जातको बीउ पाउन सकेका थिएनन् । बजारमा उन्नत जातको बीउ अभाव भएको र लकडाउनको कारण सीमापारि भारतीय बजारबाट पनि खरिद गरेर ल्याउने अवस्था नभएकोले किसानहरूले खानका लागि भकारीमा राखेको धानलाई बीउको रूपमा प्रयोग गरेका थिए । उन्नत जातको बीउ अभावमा समय लागेको किसानहरूको बुझाइ छ ।

जीराभवानी गाउँपालिका–२ सेढवाका किसान माथुर महतो थारूले खाने धानलाई बीउको रूपमा प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्थाका कारण समयमा बीउ तयारी नभएको बताए । पहिलोपटक ब्याडमा हालेको बीउ रोपाइँ गर्न योग्य भए पनि दोस्रोपटक हालेको बीउ भर्खर उम्रिन थालेकाले रोपाइँ गर्न नसकिएको उनले बताए । समयमा पानी परेकोले यस वर्ष भूमिगत सिँचाइअन्तर्गत दमकलको प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए । समयमा पानी परेर सिँचाइको समस्या नरहेको किसान थारूले भने । यसअघिका वर्षमा समयमा पानी नपर्दा आकासे पानीमा निर्भर किसानहरूले भूमिगत सिँचाइका लागि प्रतिबिघा चार हजारदेखि पाँच हजार रूपैयाँसम्म खर्च गर्नुपर्दथ्यो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया