Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिफौजी कीरा नियन्त्रण गर्न कृषकलाई विषादी

फौजी कीरा नियन्त्रण गर्न कृषकलाई विषादी


पाल्पा, जेठ २८
पाल्पाका विभिन्न क्षेत्रमा देखिएको अमेरिकी फौजी कीराको प्रकोप व्यवस्थापनका लागि स्थानीय पालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिका मकैको बीउ उत्पादनको मुख्य क्षेत्र मानिन्छ । बीउ पकेट क्षेत्रमा महामारीका रुपमा फौजी कीराको प्रकोप देखिएपछि गाउँपालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । यस क्षेत्रमा मकै बालीमा फौजी कीराका साथै गबारो र सेमीलोपरको प्रकोप पनि देखिएको छ ।

इमामेक्टिन बेन्जोयट ६०० थान, साइप्रमेथ्रिन क्लोरोपाइरिफस ४०० थान, इमामेक्टिन बेन्जोयट पाँच ग्रामको ६०० थान र साइप्रमेथ्रिन क्लोरोपाइरिफस १०० एमएलको ४०० थान कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए । आवश्यकतानुसार क्षतिको विवरण हेरी पुनः वितरण गरिने कृषि शाखाले जनाएको छ । प्राविधिकलाई मकै लगाइएको खेतबारी निरीक्षण गराई आवश्यकतानुसार निःशुल्क विषादी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

गाउँपालिका वडा नं. १,२,४,७ मा कीराको प्रकोप बढी देखिएको छ । गाउँपालिकाभित्र करिब दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा कीराले सताएको छ । बगनासकाली– २ पोखराथोकका कृषक लेखनाथ गैरेले पन्ध्र रोपनी क्षेत्रफलमा लगाइएको मकै बालीमा फौजी कीरा लागेपछि उत्पादन नै घट्ने चिन्तामा छन् । उनले वर्षेनी बीउ उत्पादनका लागि मकै लगाउँदै आएका छन् । यस्तै रामपुर नगरपालिकाका वडा नं २, ५, ६, ७ र १० मा पनि फौजी कीराले मकै बालीमा नोक्सान गरेको छ । कृषकसंँग नियमित सम्पर्कमा रहेको र विषादी प्रयोगका लागि एग्रोभेटसंँग समन्वय गरेर विषादी उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए ।

नगरको वडा नं १० हेक्लाङ क्षेत्रमा कीराको बढी प्रकोप भेटिएको छ । यहाँ करिब एक हजार रोपनी क्षेत्रफलमा फौजी कीराले सताउन थालेपछि कृषक चिन्तित बनेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए । आँख्ला लागेका मकैमा कीराले सताउन थालेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारीले जानकारी दिए । बन्दाबन्दीले समयमा नै विषादी प्रयोग गर्न नपाउँदा मकैको उत्पादन घट्ने कृषकले बताएका छन् ।

यसअघि पनि यहाँ लगाइएको धान बालीमा फौजी कीराले सताएर नोक्सान पारेको थियो । जिल्लाका रामपुर, बगनासकाली, मदनपोखराको दमकडा, रैनादेवी छहरा, पूर्वखोलालगायत स्थानमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । महामारीका रुपमा प्रकोप देखिएका ठाउँमा ज्ञानकेन्द्रका कर्मचारी, प्राविधिकसहितको टोली परिचालन गरी स्थलगत आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरेर कीराको नियन्त्रणबारे कृषकलाई जानकारी दिइएको प्रमुख अर्यालले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया