Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा

दोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा


दोलखा । लाखौं रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीन वटा सहकारीको विशेष साधारणसभा आह्वान गरिएको छ । जिल्लाको मेलुङ र बैतेश्वर गाउँपालिका रहेका ती सहकारीमा बचतकर्ताको लाखौं बचत अनियमितता तथा अपचलन भएको पुष्टि भएसँगै विशेष साधारणसभा आह्वान गरिएको हो ।

मेलुङ गाउँपालिका वडा नम्बर १ मा रहेको हाम्रो सूर्योदय सहकारी संस्था, वडा नम्बर ६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था र बैतेश्वर गाउँपालिका वडा नम्बर–२ मा रहेको दोलखा बहुउद्देश्यीय सहकारीले विशेष साधारणसभा आह्वान गरेका हुन् । बैतेश्वरको दोलखा बहुउद्देश्यीय कृषि बचत तथा ऋण सहकारी संस्थामा करिब ८० लाख रुपैयाँ हाराहारीमा संस्थाका कर्मचारीले रकम हिनामिना तथा अपचलन गरेको ठहर गर्दै जेठ २६ गते विशेष साधारणसभा बोलाइएको बैतेश्वर गाउँपालिका–२ का वडाध्यक्ष श्यामकुमार घिसिङले जानकारी दिए ।

त्यसैगरी मेलुङ गाउँपालिका–६ मा मुख्य कार्यालय रहेको गाउँघर साना किसान सहकारीमा पनि आर्थिक अनियमितता भएको भन्दै शुक्रबार विशेष साधारणसभा बोलाइएको छ । सो संस्थाको विशेष साधारणसभा आयोजना गर्न गठित तदर्थ समितिले सो साधारणसभाको आह्वान गरेको हो । गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडको रकम अपचलन भएको विषयमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित समितिले विज्ञ टोली झिकाई सम्पूर्ण कागजात हेरी लेखा परीक्षण गरिसकेको जनाएको छ । सो लेखा परीक्षणलाई सार्वजनिक गर्न तथा सहकारी सञ्चालक समितिको गठन गर्ने समेत उद्देश्यले विशेष साधारणसभाको आयोजना गरिएको मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कुशुम लामाले जानकारी दिए । उक्त सहकारीमा एक करोड हाराहारीमा रकम अपचलन भएको सेयर सदस्यहरूले बताउँदै आएका छन् ।

त्यसैगरी मेलुङकै वडा नम्बर १ मा रहेको हाम्रो सूर्योदय सहकारी संस्थाको रकम चोरी भएको भनिए पनि हालसम्म चोर पत्ता लाग्न सकेको छैन । उक्त सहकारीको साधारणसभा पनि जेठ ५ गते शनिबार बस्ने मेलुङ गाउँपालिकाले जनाएको छ । ३२ लाख चोरी भयो भनिएको यस संस्थामा अझै चोर पत्ता लाग्न नसकेको हो । सूर्योदय सहकारीको कार्यालय रहेको पवटीको रमाइलो चोकस्थित घरका घरबेटी एवम् सहकारीका पूर्वकोषाध्यक्ष कपिलमणि न्यौपानेले केही महिनाअघि उक्त विषयलाई लिएर सामाजिक सञ्जालमार्फत रकम अपचलन गर्ने केही व्यक्तिहरूको नाम सार्वजनिक गर्दै आत्महत्या गरेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x