Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिढुसीजन्य रोगका कारण तिनाउका टमाटर कृषकहरू समस्यामा

ढुसीजन्य रोगका कारण तिनाउका टमाटर कृषकहरू समस्यामा


बुटवल । तिनाउ गाउँपालिका पाल्पाका कृषकहरू यतिबेला टमाटरमा देखिने विभिन्न प्रकारका रोगका कारण समस्यामा परेका छन् । अन्य तरकारीमा भन्दा टमाटरमा बढी रोग लागेको कृषकहरू बताउँछन् ।

हाल टमाटरमा ढुसीजन्य (डढुवा), जरैबाट संक्रमण देखिँदै जाने ब्याक्टेरियल रोग, टमाटर गिलो भएर झन्, पहेँलो भएर झर्ने, लाई लाग्नेजस्ता रोगहरू टमाटरमा देखिन थालेको किसानको गुनासो छ । रोगका कारण उत्पादन बिक्री गर्ने अवस्था नभएपछि कृषकहरूले ठूलो नोक्सानी सहनुपरेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त कुमार शर्माले रोग लागेपछि कृषकको खेतबारीमा अनुगमन गरी औषधीको लागि विषादिको सिफारिस गरिएको जानकारी दिए । साथै, रोगको थप पहिचानको लागि टमाटरको फोटो खिचेर नेपाल कृषि अनुसन्धान परिषद्को कार्यालयमा पठाएको बताए । कोरक तत्वको कमीले त्यस्ता रोगहरू देखिने भएकाले प्रारम्भिक चरणमा कोरेक्स ल्याएर छर्किनका लागि सुझाव दिएको उनको भनाइ छ । ‘टमाटर पहेँलो भएर झर्ने रोगको सन्दर्भमा हामीले सोहीअनुसार कृषकलाई ब्रिफिङ गर्यौँ । पछि गएर हेर्दा हामीले जाराबाटै बिग्रिएको पायौँ’, उनले भने, ‘विल्टन (ओइलाउने रोग) जुन रोगको कारण खाना र पानी बोटैभर पुर्याएर बिरुवाको ग्रोथ गर्ने भागमा कालो जालोले ढाकोको पायौँ ।’ उक्त भागको निष्कृयताको कारण क्रमशः बिरुवा ओइलाउँदै गएर अन्तिममा मर्ने गरेको उनले बताए ।

‘हामीले रोगको लक्षणहरू देखेर रोगको अनुमान लगाउने हो । वास्तवमा के हो भनेर त्यसको निष्कर्ष दिने भनेको प्रयोगशालाले हो’, उनले भने । उनका अनुसार प्रदेशको प्रयोगशाला बाँकेको खजुरा रहेको छ । तुरुन्तै रिपोर्ट लिन नजिकमा प्रयोगशाला नहुँदा र धेरै क्षेत्रको एउटै प्रयोगशालाले हेर्ने हुँदा केही समय कुर्नुपर्ने अवस्था आएको उनले बताए । ‘एक पटक हामीले डढुवा रोगको रोगथामको लागि राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र नमुना परीक्षणको लागि पठाएका थियौँ’, उनले भने, ‘त्यहाँबाट हामीलाई रोगग्रस्त जरा, बोट तथा हाँगाहरू खाल्डो खनेर पुरिदिने, कार्बेन्डजिमयुक्त ढुसीनाशक विषादि दुई ग्राम प्रतिलिटर पानीमा राखेर सात दिनको फरकमा जरुमा पुग्ने र माटो भिज्ने गरी राख्नका लागि सिफारिस भएकाले सोहीअनुसार कृषकलाई प्रयोग गर्न भन्यौँ ।’

गाउँपालिकामा विगत चार/पाँच वर्षदेखि यो प्रकारका रोगहरू देखिँदै आएका छन् तर पूर्णरूपमा समाधान भएको अवस्था भने छैन । टमाटरको जातको आधारमा पनि कुनै जातमा बढी र कुनै जातमा कम रोग लाग्ने गरेको कृषि शाखा प्रमुख शर्माले बताए । उनले अनुसन्धान केन्द्रले दिएको रिपोर्ट र समस्या समाधानका उपायमा आधारित भई सोहीअनुसार कृषकलाई सिफारिस गर्ने गरेको बताए । तर कतिपय किसानले आफूखुसी विषादि प्रयोग गर्ने हुँदा पनि समस्या आएको उनले बताए । उनका अनुसार कृषकहरूले सिफारिसअनुसार विषादि प्रयोग नगरेर त्योभन्दा कडा र बढी मात्रामा विषादि प्रयोग गरेको पाइन्छ । धेरै विषादिको प्रयोग पनि बोटबिरुवाका लागि हानिकारक हुने उनले बताए । यस्तै, उनले कृषकलाई प्रत्येक वर्ष एकै ठाउँमा एउटै बाली नलगाउनका लागि पनि सुझाव दिने गरेको बताए  ।

माटोको दीर्घजीवनका लागि विषादि कम गर्न तथा फरक–फरक बाली लगाउन आवश्यक रहेको उनको भनाइ छ । गोबर मल र घरमै निर्माण गर्न सकिने किटनाशक औषधीको प्रयोगलाई बढी प्राथमिकता दिने नभए तोकिएको मात्रामा मात्रै विषादि प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । अन्य रोगहरूको रोकथामको बारेमा खासै जानकारी नभए पनि डढुवा रोग स्याहारसुसार नगर्दा बढी मात्रामा लाग्ने गरेको कृषकहरू मनकुमारी राना, सविना श्रेष्ठ, गीता थापा बताउँछन् । लामो समयसम्म आकाशे पानी नपर्दा पनि धेरै प्रकारका रोगहरू लाग्ने लाग्ने गर्दछन् ।

विगतका वर्षहरूमा भन्दा केही बढी र कडा औषधीको प्रयोग गरेको उनीहरूको पनि स्वीकारोक्ति छ । ठूलो लगानी गरेर व्यावसायिकरूपमै कृषि गर्दा धेरै नोक्सानी सहनुपर्ने बाध्यातात्मक अवस्थामा मात्र औषधीको बढी प्रयोग गर्ने गरेको उनीहरू बताउँछन् । ‘सकेसम्म औषधी प्रयोग नगरौँ भन्ने लाग्छ । रोग लागेपछि बाध्यता छ । त्यही उब्जाउबाट हरेक खर्च चलाउनुपर्ने हुँदा दुई/चार सयको कारणले हजारौँ, लाखौँ रुपैयाँ डुवाउने कुरा पनि हुँदैन’, उनीहरूको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x