Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिरोपाइँको चटारो सुरु तर यसपाली पनि मलको अभाव

रोपाइँको चटारो सुरु तर यसपाली पनि मलको अभाव


बीरगञ्ज, असार ८
पर्साका ग्रामीण भेगमा वर्षेबाली धानको रोपाइँको चटारो लागेको छ । विशेषगरी गण्डक नहरको उत्तरतर्फ पर्ने ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिकालगायतका इलाकामा किसानहरू रोपाइँ कार्यमा व्यस्त छन् । यी क्षेत्रका किसानहरूले अहिले भदैया मन्सुली, सोना मन्सुली तथा अन्य प्रजातिका हाइब्रिड जातका धान रोपाइँ गरिरहेका छन् ।

रोपाइँका लागि पर्याप्त पानी नपरे पनि किसानहरूले पानीको मुहानबाट निस्केका कुलो तथा भूमिगत सिँचाइअन्तर्गत बोरिङमा दमकल जडान गरी सिँचाइ गरी रोपाइँ गरिरहेका जीराभवानी गाउँपालिका वडा नं १ भवानीपुर निवासी देवराज चौधरीले बताए । पर्याप्त पानी परे सबै किसानले रोपाइँ गर्ने हुँदा रोपाइँ गर्ने ज्यामी, बीउ उखेल्ने ज्यामी, जोताइका लागि ट्र्याक्टरको समेत अभाव हुने हुँदा अहिले नै रोपाइँ गरेको किसान चौधरीले बताए ।

सोना मन्सुली जातका धान अलि ढिलो भए पनि भदैया मन्सुली जातका धानको बीउ राखेको एक सय १५ दिनभित्र भित्र्याउने गरिन्छ । तर लकडाउनको कारण जेठको पहिलो सातामा रोपिनुपर्ने भदैया धान रोपाई गर्न ढिलाइ भएको कृषकहरूले बताएका छन् । पर्सा जिल्लाको बजियान क्षेत्रमा असारको पहिलो सातादेखि मात्रै भदैया धान रोप्न सुरू भएको छ ।

लकडाउनको कारण प्रमाणित बीउ अभाव भएको र बीउको जोहोमा भदैया धानको बीउ छर्न ढिलो भएको कारण रोपाइँ पनि ढिला भएको किसानहरूको भनाइ छ । यसअघि, चैतमा बीउ छरेर वैशाखको अन्तिमसम्म धान रोपाइँ गरिन्थ्यो । पर्सा जिल्लाको थरुहट क्षेत्रमा भने यसअघि नै भदैया धान रोपाइँ भएको थियो भने त्यहाँ अगहनी धानको रोपाइँ सुरू भएको छ । भदैया धान रोपेको दुई–तीन सातापछि अगहनी धान रोपिन्छ ।

साथै लामो समयसम्म भएको लकडाउनका कारण किसानहरूले समयमा उन्नत जातका प्रमाणित गुणस्तरीय बीउ पाउन नसक्दा अहिले रोपाइँको बेला दुःख भोग्नुपरेको गुनासो गरेका छन् । बजारको प्रमाणित बीउ प्रतिकट्ठामा एकदेखि डेढ किलो बीउ चाहिन्छ तर सो बीउ नपाउँदा किसानले भकारीमै राखेका धानलाई बीउको रूपमा प्रयोग गरेका थिए । तर भकारीको धानको बीउ राम्ररी नउम्रेपछि दोस्रो र तेस्रो पटकसम्म बीउ हालेको पटेर्वासुगौली गाउँपालिका वडा नं ३ का भागवत दास थारूले बताए । सो बीउबाट बेर्ना उत्पादन राम्रो नभएपछि अहिले रोपाइँको समयमा बेर्नाको कमी भएको उनले बताए ।

मल अभाव कायमै :चैते धान रोपाइँमा मलको अभाव भोगेका पर्साको थरुहट क्षेत्रका किसानहरू अहिले अगहनी धान खेती गर्दा पनि मल अभाव झेल्न बाध्य भएका छन् । अगहनी धान रोपाइँको बेलामा डीएपी, युरिया र पोटासको आवश्यकता पर्दछ । तर बजारमा यी मलको अभाव भएको कारण किसानहरूलाई समस्या आइपरेको हो । जीराभवानी गाउपालिका–१ बलुवा निवासी प्रभु मुखिया बिनले तीन दिनदेखि सहकारीहरूमा मलको लागि धाउँदा पनि मल नपाएको गुनासो गरे । उनले चौथो दिन पटेर्वासुगौली गाउँपालिका–४ सुगौलीमा मल पाए पनि महँगो मूल्यमा खरिद गर्नुपरेको बताए । उनले गाउँको सहकारीमार्फत डीएपी र पोटास पाए पनि युरिया महंगोमा खरिद गर्नुपरेको जानकारी दिए ।

सेढवाका जोखनदास थारूले ब्याडमा छर्न दुई किलो युरिया मलको लागि गाउँका आधा दर्जनभन्दा बढी पसल धाउनुपरेको सुनाए । पटेर्वासगौली गापा–२ बेलवाका रामपुजन चौधरीले पनि कृषि सहकारी संस्थाबाट मल लिन निकै समस्या झेल्नुपरेको दुःखेसो पोखे । उनले मल खरिदको लागि एक साताअगाडि नै सखुवाप्रसौनी गाउँपालिकाको देउरवानामा रहेको कृषि सहकारी संस्थामा रकम जम्मा गरेको तर अहिलेसम्म नपाएको बताए ।

साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनीले कृषि सहकारी संस्थामार्फत मल बिक्री गर्दै आएका छन् । प्रतिबोरा ५० किलोको युरिया सय सय ५० रूपैयाँ र डीएपी दुई हजार दुई सय रूपैयाँ बिक्री मूल्य रहे पनि दुवैमा तीन सय रूपैयाँ थपेर महंगोमा बिक्री हुँदै छ । साल्ट ट्रेडिङ र कृषि सामग्रीले कृषि सहकारीलाई प्रतिसाता आलोपालो मल उपलब्ध गराउँदै आएको छ । सो कम्पनीहरूले मल पर्याप्त रहेको दाबी गर्दै आए पनि गाउँमा किसानहरूलाई मल सहज छैन ।

ठोरी गाउँपालिका–४ विजयबस्तीका रामबहादुर श्रेष्ठले किसानहरूलाई मल सहजरूपमा प्राप्त होस् भन्नेतर्फ स्थानीय तह गम्भीर नभएको आरोप लगाए । उनले परल मूल्यमा मल उपलब्ध गराउनुपर्ने जिम्मेवारी स्थानीय तहको भए पनि सो जिम्मेवारी निर्वाह नगरिएको बताए । जीराभवानी गाउँपालिका–४ सुगौलीस्थित सुपौली कृषि सहकारीका सञ्चालक दीपक दासले दुई सातामा एकपटक मात्र डीएपी र युरिया मल ५०/५० बोरा पाउने गरेको तर किसानहरूको माग बढी भएको बताए । उनले मागअनुसार मल उपलब्ध गराउन असमर्थ भएको स्वीकारे ।

गण्डक नहरमा असार १४ देखि पानी आउने सहमति : गण्डक नहरमा असार १४ गतेदेखि पानी आउने भएको छ । नेपाल–भारतका अधिकारीहरूबीच गण्डक नहरको जिरो आरडीमा भएको वार्ताअनुसार एक सातापछि पानी आउने सहमति भएको सिँचाइ डिभिजन कार्यालय बहुअरीले जनाएको छ । तर पानी आउने नआउनेबारे ठेगान नरहेको किसानहरूको बुझाइ छ ।

एक महिनाअघि आउनुपर्ने पानी हालसम्म नआउँदा धान रोपाइँमा ढिलाइ हुने गरेको गाउँलेहरूको आरोप छ । भारतको दोन ब्रान्चका इन्जिनियर अमरेन्द्रनारायण तथा सिँचाइ डिभिजन कार्यालय, वीरगञ्जका राजेन्द्र साह तेलीबीच शुक्रबार जिरो आरडीको भारत, इनर्वा बजारमा छलफल भएको एकजना कर्मचारीले जानकारी गराएका छन् । भारत सरकारले विगतमा सहमतिअनुसार पानी नदिने गरेको गुनासोसमेत नेपाल पक्षले भारतीय पक्षसमक्ष राखेको बैठकमा सहभागी कर्मचारीहरूको भनाइ छ । रामनगर दोन ब्रान्चअन्तर्गत गण्डक नहरमा मरम्मत कार्य भइरहेको कारण पानी आउनमा ढिलाइ भएको र छिटै पानी दिने अमरेन्द्र नारायणले प्रतिबद्धता व्यक्त गरेका थिए ।

लकडाउनको कारण पेशा परिवर्तन गरी कृषिमा प्रवेश :काठमाडौँ उपत्यकामा ललितपुर जिल्लाको इमाडोलमा वर्षाैंदेखि ग्रील तथा स्टील कारखाना सञ्चालन गर्दै आएका जीराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी कमलेश महतो अहिले खेतीकिसानीमा भिडेका छन् । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लामो अवधिको लकडाउनको कारण घरमै बेरोजगारी भएका महतोले यसपालि दुई बिघा जग्गामा धान रोपाइँ गरेका छन् । पुरानो पेशाबाट सञ्चित रकमले दुई बिघा जमीन भाडामा लिएर धानखेती गरेको महतोले बताए ।

कोरोनाको कहर कहिलेसम्म चल्ने हो ठेगान नभएको र परिवार पाल्न कुनै न कुनै पेशामा लाग्नैपर्ने भएकोले खेतीकिसानी गरेको महतोले बताए । चितवन बसोबास गर्ने सरला सापकोटा पनि खेतीमा लागेकी छन् । पति रोजगारको क्रममा बाहिर रहेका र छोराछोरीलाई पढाउनका लागि करिब ४–५ वर्षदेखि चितवन बस्दै आएकी सरलाले लकडाउनका कारण विगत तीन महिनादेखि पुख्र्यौली घर जीराभवानी गाउँपालिका वडा नं १ शान्तिनगरमा बस्दै आएकी छन् । त्यतिकै बस्नुभन्दा आफ्नै बारी खनजोत गरी धान रोपेको उनले बताइन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया