Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपाल्पामा मौरीपालन प्रवर्द्धन कार्यक्रम

पाल्पामा मौरीपालन प्रवर्द्धन कार्यक्रम


सुशीला रेग्मी
रामपुर, असार १०
पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ । जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ ।

केन्द्रको सहयोगमा तानसेन नगरपालिका–८ मदन पोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका–८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको हो । मणि मौरीपालन पकेट समितिले गत वर्षदेखि नै मौरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । समितिले एक हजार दुई सय मौरी घारमा मौरी पकेट कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा यहाँका २३ घरका कृषक आबद्ध छन् जसमध्ये कम्तीमा एक घरले ५० देखि बढीमा एक सय ५० सम्म घारमा मौरीपालन गरेका छन् । चालू आवमा केन्द्र र पकेट समितिको समन्वयमा २१ लाख पाँच सय रूपैयाँको लागतमा तीन सय ३३ खाली मौरीघार तथा मौरीजन्य सामग्री, औषधि कृषकलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारीले बताए । पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत गत वर्ष एक सय मौरीघार ज्ञान केन्द्रले उपलब्ध गराएको थियो । ‘मौरीपालनबाट कृषकको आयस्रोत बढ्दै गएको छ, मौरीघार र महको माग धेरै आए पनि अहिले परिस्थिति सहज नभएकाले बिक्री गर्न सकिएको छैन’, उनले भने । केन्द्रले मौरीपालनमा लगानी गरिदिएपछि यहाँका कृषक आफैँले घार थपेर व्यावसायिकतामा जोड दिएका छन् ।

चालू आवदेखि नै सुरु भएको हिमाली मौरी पकेट समितिले ज्ञान केन्द्रको १४ लाख ८० हजार रूपैयाँ र समितिको १४ लाख ८० हजार रूपैयाँ लगानीमा समन्वय गरी कार्यक्रम चलाएको छ । सो रकमबाट ३२ कृषकलाई हालै २ सयवटा गोलासहितको मौरीघार दिइएको छ । साथमा मौरी स्ट्याण्ड तीन सय , आधार चाका दुई सय किलो, चिनी छ हजार किलो (पाँच सय घारलाई प्रतिघार १२ किलोको दरले), टोपी ६० वटा, पञ्जा एक सय, मौरी उठाउने झोला १२, मौरी रानी राख्ने भाँडो (क्वीन क्याच) एक सय, क्वीन गेट तीन सय र मौरीमा लाग्ने रोग निराकरणका लागि औषधि वितरण गरिएको समितिका अध्यक्ष पशुपति बस्यालले बताए ।

पकेट समितिमा ५५ कृषक छन् भने पाँच सय ५० घारमा मौरीपालन गरिएको छ । घार बढाउने र यसैबाट कृषकलाई आर्थिकरूपमा अब्बल बनाइने बताइएको छ । मौरीपालन व्यवसायमा कृषक आफैंले गोला तथा घार थप्दै गएका छन् । ज्ञान केन्द्रको मात्र भर नपरी आफैंले लगानी बढाउँदै गएपछि अहिले आम्दानी लिन सुरु गरेको ज्ञान केन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । कार्यक्रम सञ्चालनका लागि एक पकेट क्षेत्रमा कम्तीमा पाँच सय गोलासहित मौरीघार हुनुपर्नेछ । महको उत्पादन वृद्धि हुन थालेपछि कृषकले बाहिरी बजारमा पु-याउन प्याकिङ गरेर पठाउने तयारीमा छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया