Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिरासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्रीको आग्रह

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्रीको आग्रह


बीरगंज । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई आग्रह गरेका छन् ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको मंगलबार छुट्टाछुट्टै अनुगमन गर्दै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गरेका थिए । ‘रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ । त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला’, उनले भने । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी दिएका थिए । ‘विदेशी मुलुकबाट आयात गरिने रासायनिक मलको ल्याबमा प्राविधिक जाँच गर्नुपर्ने हुन्छ’, उनले भने, ‘प्रयोगशालामा मलको जाँच नगरिकन कृषकलाई वितरण गर्न मिल्दैन । त्यसैले रिपोर्ट आएपछि सोहीअनुसार छिटोछरितो काम गरिरहेका छौँ ।’

एकीकृत जाँचचौकीमा भारतबाट मालवाहक सवारीसाधन तथा टे«लरमा रासायनिक मल र अन्य वस्तु तथा सामान आउने गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले कार्गाेबाट आउने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण भइरहेको जानकारी दिए । कृषि सचिव दीपककुमार खरालले केरा र अन्य फलफूलको ‘एचएस कोड’ एउटै हुँदा स्वदेशी केराखेती गर्ने कृषक मर्कामा परेकाले पनि यो समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे । मन्त्री अधिकारीले मंगलबार नै खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टाइन कार्यालय (आइसिपी) र कृषि सामग्री केन्द्र प्रादेशिक कार्यालयलगायतको अनुगमन गरेका थिए ।

कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताए । कारखानाको स्थलगत अनुगमन गर्दै उनले कृषि औजार कारखानाको विषयमा पर्याप्त जानकारी भए पछि मात्रै निर्णय गर्न सहज हुने उल्लेख गरे । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीरगञ्जका इन्चार्ज तथा इन्जिनियर रितेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको विषयमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।

केन्द्रका अध्यक्ष पुनले सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए । कृषि औजार कारखाना वीरगञ्जमा निकै पुराना खालका औजारका मेसिनहरू रहेकाले अब आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक रहेको उनले जोड दिए । कृषि औजार कारखाना सञ्चालन समितिका संयोजक तथा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द रहेको सो कारखानाको व्यवस्थापन र सञ्चालन गर्न केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । केन्द्रले योजना निर्माण, जनशक्ति विकास र कृषि औजार उत्पादन तथा बजारीकरण गर्ने उनको भनाई थियो ।

कारखानाबाट उत्पादित सामग्री करपछिको रकम ५० प्रतिशत राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गरी राखिनेछ भने बाँकी ५० प्रतिशत सरकारको राजस्व ढुकुटीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । सरकारले विसं २०७९ असोज ११ गते वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा अर्थमन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । केन्द्रले कारखाना जिम्मा लिएको २२ महिनामा १८–२० थरीका कृषि औजार तथा उपकरण तयार पारेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x