Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषकलाई रोपाइँको चटारो

कृषकलाई रोपाइँको चटारो


सुबास बस्नेत
दोलखा, असार १५
समयमै मनसुन सुरु भएकाले यस वर्ष दोलखामा धान रोपाइँ अघिल्लो वर्षको तुलनामा चाँडै सुरु गरिएको छ । जिल्लाको बेसीफाँटमा यतिबेला रोपाइँको चटारो छ । गत वर्ष असार १५ सम्म आइपुग्दा पनि खाली देखिने खेत अहिले भने हरियाली देखिएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा करिब दुई तिहाइ किसानले मुख्य बालीको रूपमा धान खेती गर्दै आएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका, मेलुङ, तामाकोशी र बैतेश्वर गाउँपालिकामा बढी मात्र धान खेती हुने गरेको छ ।

सधैं असार १५ पछि मात्रै सुरु हुने धान रोपाइँ यो वर्ष जेठ अन्तिम सातादेखि नै सुरु भएको जिल्लाका धान किसान बताउँछन् । समयमै वर्षा भएकाले जिल्लाका अधिकांश क्षेत्रका किसानले रोपाइँ अन्तिम चरणमा पु-याएका छन् । दोलखाको बैतेश्वर गाउँपालिका ३ मिर्गेका किसान केदार बस्नेतले गत वर्ष पानीको समस्याले असार २२ देखि रोपाइँ सुरु गरिएको भए पनि यस वर्ष रोपाइँ गरिसकेको बताए ।

गत साल समयमै मनसुन नहुँदा धानको उत्पादन समेत घटेको उनले सुनाए । यो वर्ष धान खेतीको सिजन चल्नेबित्तिकै मनसुनले साथ दिएकाले उत्पादन वृद्धि हुने आसमा आफू रहेको उनले बताए । हालसम्ममा जिल्लामा करिब ५९ प्रतिशत धान रोपाइँ सकिएको छ । सबैभन्दा बढी धान खेती हुने मेलुङ, तामाकोशी तथा बैतेश्वर गाउँपालिकामा र भीमेश्वर नगरपालिकामा यो वर्ष असार दोस्रो सातासम्म ४९ प्रतिशत रोपाइँ सकिएको स्थानीय तहअन्तर्गतका कृषि शाखाले जनाएका छन् ।

यस वर्ष दोलखाका किसानहरुले असार १५ अर्थात् धान दिवस भने नमनाउने भएका छन् । अघिल्ला वर्षहरुमा दोलखाका विभिन्न गाउँपालिका र स्थानीय किसानले असार १५ विशेष तयारीका साथ मनाउने गर्थे । तर यो वर्ष कोरोना भाइरसले लामो समयदेखि चलेको लकडाउनका कारण जिल्लाका किसानलाई धान दिवस खल्लो भएको छ । अघिल्ला सालमा धान दिवस रोपाइँ महोत्सव तथा विभिन्न किसिमका रमाइलो कार्यक्रम गरेर मनाइने गरिएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया