Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित

मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित


सर्लाही, असार १७
जिल्लाका किसानहरू लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । आफूले लगाएको मकैमा फौजी किराको संक्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरू थप मारमा परका हुन् । सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका–१७ का किसान रमेश अधिकारीले गुनासो गरे ।

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागू गरिएको बन्दाबन्दीले सवारी साधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरू चिन्तित बनेका छन् । गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्री मूल्य भने गतवर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्ताले किसान पिरोलिन थालेका हुन् ।

वाग्मती नगरपालिका–८ शंकरपुरका किसान भीमबहादुर कोइरालाले यसवर्ष एक हेक्टर क्षेत्रफलमा मकै लगाएका थिए । उनका अनुसार मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप किटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढ्यो तर जारी बन्दाबन्दीका कारण सवारी साधन सञ्चालन नहुँदा बिक्रीमूल्य घटेको हो ।

‘अब त मकै खेती गर्नुुभन्दा पनि जुवा खेल खेलेझैँ लाग्छ’, लालबन्दी नगरपालिका– १५ का किसान राजकुमार खत्रीले भने, ‘कहिले आउँछ, कहिले सबै जान्छ, कुनै टुंगो छैन ।’ गत वर्ष तीन हजार पाँच सय रूपैयाँदेखि चार हजार क्विन्टलका दरले मकै बिक्री गरेका उनले यसपटक प्रतिक्वीन्टल एक हजार सात सय रूपैयाँदेखि दुई हजार एक सयले बिक्री गर्नुपरेको बताए ।

मकैमा दाना लाग्ने समयमा एकाएक मौसम बिग्रिएर हावाहुरीले मकैबालीमा नोक्सान पु-याएका कारण उत्पादन समेत घटेको लालबन्दी नगरपालिका–१३ का किसान रामवीर तामाङले गुनासो गरे । हावाहुरी र असिना पानीका साथै फौजी किराको संक्रमणका कारण मकै उत्पादन एक तिहाइले घटेको किसानहरूको भनाइ छ । चार क्वीन्टलसम्म कठ्ठाको मकै फल्ने खेतमा यसवर्ष तीन क्वीन्टल मात्र फलेको कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।

मकैको सर्मथन मूल्य आफूलाई जानकारी नभएको तर प्रतिकठ्ठा मकै उत्पादन गर्न तीन हजार पाँच सय रूपैयाँदेखि चार हजारसम्म लागत लाग्ने गरेको ज्ञान केन्द्रका निमित्त प्रमुख यादवले बताए । मूल बीउ बजारमा प्रतिकिलो ८० रूपैयाँमा पाइने गरेको किसानहरूले बताएका छन् । मलखाद, विषादी, जनखर्चलगायत गरी तीन हजार पाँच सय रूपैयाँदेखि चार हजारसम्म लागत लाग्ने गरेको किसानहरूको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया