Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘बेरोजगारी समस्या सम्बोधन गर्ने क्षेत्र सहकारी’

‘बेरोजगारी समस्या सम्बोधन गर्ने क्षेत्र सहकारी’


काठमाडौं, असार २१
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड १९ को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने प्रमुख क्षेत्र नै सहकारी भएको बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघले ९८औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले उत्पादन र स्वरोजगार सिर्जना गर्नसक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको बताइन् ।

उनले अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन, घर घरमा समृद्ध ल्याउनका लाउनको लागि सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गनुपर्ने बताइन् । कोरोना महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकूलन क्षमता सुदृढ गराउन सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत बताइन् । मन्त्री अर्यालले भनिन्, ‘यो विषम परिस्थितिमा सहकारीले सिर्जना गर्नसक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई डाटा दिनुस् ।

सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न तयार छ ।’ उनले दिगो विकास लक्ष्यप्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो रहेको बताइन् । ‘अब एक क्षेत्रमा मात्र सीमित भएर हुँदैन । जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानुनी अड्चन फुकाइन्छ’, उनले भनिन् ।

जुलाई महिनाको पहिलो शनिबार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यसपटक जलवायु कार्यका लागि सहकारी भन्ने नाराका साथ यो दिवस मनाइएको हो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानले दिवसको नारा जलवायु कार्यका लागि सहकारी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाएर अगाडि बढेकाले सहकारी क्षेत्रले जलवायु परिवर्तनबाट सिर्जित चुनौती उत्थानशीलता वृद्धि गर्नका लागि सदस्यहरुलाई तयार पार्नुपर्ने बताए ।

बहुजोखिमयुक्त मुलुकमध्ये नेपाल २०औं स्थानमा जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथो मुलुक रहेकाले यसका लागि सबैभन्दा ठूलो सञ्जाल भएको सहकारीले महत्वपूर्ण तयारी गर्नुपर्ने बताए । कार्यक्रममा यूएनडीपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंहले देशको लक्ष्यमा सहकारीले ठूलो योगदान दिनसक्ने बताए ।

महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानका लागि दिगो विकास लक्ष्यका गाइडलाइन तयार गरिएको बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले नयाँ प्रविधिको अवलम्बनमा जोड दिए । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यक्रमको औचित्य र थिममाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, पूर्वअध्यक्ष दिपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए ।

उत्कृष्ट सहकारी पुरस्कार वितरण : ९८औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सहकारी संघ/संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । केन्द्रीय सहकारी संघहरुमध्ये नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अर्यालले उत्कृष्ट सहकारी पुरस्कार संघका अध्यक्ष परितोष पौडेललाई प्रदान गरिन् । पुरस्कार राशि नगद २० हजार रहेको छ ।

त्यसैगरी जिल्लास्तरीय संघहरुमध्ये जिल्ला सहकारी संघ लि. बाँके पुरस्कृत भएको छ । प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाईलाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकराी संस्था, रौतहट, वाग्मती प्रदेशबाट चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५ बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भए ।

संस्थाको वित्तीय अनुशासन, नियमिततालगायतका कार्य हेरेर पुरस्कार प्रदान गरिएको महासंघको पुरस्कार छनोट समितिका संयोजक तथा सञ्चालक खेम पाठकले बताए ।सदस्य संघहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा १० वटा संघलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया