Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिव्यावसायिक बन्दै एवोकाडो खेती

व्यावसायिक बन्दै एवोकाडो खेती


सुबास बस्नेत
दोलखा, असार २१
एवोकाडो फलको खेती पछिल्लो समय दोलखामा पनि हुनथालेको छ । एउटै रुखबाट १५ देखि २० हजार रुपैयाँ सजिलै कमाउन सकिने देखेपछि जिल्लामा एवोकाडो फलको खेती व्यावसायिक बन्दै गएको हो । चार/पाँच वर्ष अघिसम्म नामै नसुनेको विदेशी फल एवोकाडोको खेती जिल्लामा पछिल्लो जिल्लामा व्यावसायिक रुपमा नै हुनथालेको हो ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ३ का व्यावसायिक कृषक सुकुमान तामाङले गत वर्षदेखि एवोकाडो फलको उत्पादन भएको बताए । अहिले गाउँभर नै एवोकाडो खेती गर्नेको लहर चलेको छ । आम्दानीविनाका रुख बिरुवाले ढाकेका पाखो बारीमा हिजोआज एवोकाडो फलका बिरुवाले भरिन थालेका छन् । गत वर्ष परीक्षणको लागि सामान्य बिरुवा उत्पादन गरेका तामाङले आम्दानी राम्रो हुने थाहा पाएपछि यो वर्ष करिब नौ सय एवोकाडोको बिरुवा उत्पादन गरेको उनले बताए । साथै जिल्लाको तामाकोशी गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकामा समेत यसको खेती गरिएको छ ।

समुद्री सतहदेखि करिब २५ सय मिटर उचाइको जमिनमा खेती गर्न सकिने एवोकाडोले बिरुवा रोपेको पाँच वर्षपछि फल्न सुरु गर्ने कृषक तामाङले बताए । छिमेकी देश भारतलगायतका देशमा स्वादिलो र पौष्टिक फलको रूपमा चिनिने एवोकाडो फल नेपालको तराई क्षेत्रमा बढी खेती हुँदै आएको छ । दोलखामा भने अघिल्लो वर्षहरुमा परीक्षण रूपमा फाट्टफुट्ट खेती हुने गरेको थियो । एवोकाडोबाट राम्रो आम्दानी हुने देखेपछि यहाँका कृषकहरु अहिले यसतर्फ आकर्षित भएका छन् । तामाङले करिब चार सय किलो फल जम्मा गरेर बिरुवा उत्पादन गरेका छन् ।

तामाङको कृषि फममा एवोकाडो बिरुवा खोज्नेको लर्को लाग्ने गरेको छ । यो वर्ष उत्पादन गरेको बिरुवा करिब सकिनलागेको उनले बताए । उनका अनुसार एउटा बिरुवा उत्पादन गर्न एक सय ५० लागे पनि चार सयमा बिक्री हुने बताए । यस वर्ष तामाङले करिब नौ सयवटा बिरुवा बिक्री गरेर करिब चार लाख आम्दानी गर्ने योजना बनाएका छन् । सात वर्षदेखि कृषि पेसा सक्रिय रहेका तामाङ कृषि पेसाबाट गाउँमै बसेर मासिक दुई लाख कमाउने गरेको बताउँछन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया