Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह

कृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह


नेपालगञ्ज । नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको मंगलबार निरीक्षण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।

उनले किसानसँग नजिक भएर उत्पादन वृद्धि गर्नेगरी काम गर्न निर्देशन दिए । मन्त्री अधिकारीले भने, “कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्ने किसानका अभिभावक हुन्, त्यसैले उहाँहरुसँग निरन्तर साक्षात्कार गर्नुहोस् र किसानलाई प्रविधिसँग जोड्न सहजीकरण गर्नुस् ।”

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडोभन्दा चाँडो व्यवस्थापन गरिने उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न प्रयास गरेको जानकारी दिँए । उनले नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद भएको टिप्पणी गर्दै आत्मालोचना, आत्ममूल्याङ्कन र आत्मसमीक्षा गरेर आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे ।

हाल दुई स्थान ठाकुरबाबा–३ मिर्चैया बर्दिया र शिवराज–३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदले जानकारी दिए । निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९/८० देखि निर्देशनालयले लमही–२ केरुनिया दाङमा नार्क प्रविधि गाउँ सञ्चालन गरिएको छ । उनले जनशक्तिको चरम अभाव व्यहोरिरहेको जानकारी गराए ।

मन्त्री अधिकारीले खजुरामा रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको निरीक्षण गर्नुका साथै नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरे । कार्यक्रम संयोजक डा. अनिल पोख्रेलले कोशेबाली कार्यक्रमबारे जानकारी गराएका थिए । आयोजना प्रमुख दिलीप चौधरीले आयोजनाका बारेमा जानकारी गराएका थिए । उनले किसानको दूधको बक्यौताबारे जिज्ञासा राखेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x