Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबाँकेमा असारमै सकिँदै रोपाइँ

बाँकेमा असारमै सकिँदै रोपाइँ


काठमाडौं, असार ३०
बाँकेमा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । ‘आकाशे पानी र सिक्टा सिँचाइको पानीले समयमा रोपाइँ भएकाले यसवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ’, उनले भने, ‘यस वर्ष असारमै रोपाइँ सकिने भएको छ ।’

उनका अनुसार गत वर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने अनुमान गरिएको छ । यहाँ ३६ हजार पाँच सय हेक्टरमा रोपाइँ हुन्छ । विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यस वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको छ । जिल्लाको जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा रोपाइँ सकिएको छ । किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् ।

खजुरा गाउँपालिका–२ का अगुवा कृषक अर्जुन उप्रेतीले यस वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा रोपाइँ सकिएको बताए । धानखेती हुने ३६ हजार पाँच हेक्टर जमीनमध्ये करिब १३ हजार सात सय अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकासेपानीको भरमा धानखेती गर्न बाध्य छन् । यस वर्ष सिक्टा सिँचाइले परीक्षणको रूपमा छोडेको पानीले किसानलाई धेरै राहत पुगेको कोहलपुरका समाजसेवी एवं राजनीतिज्ञ सूर्य ढकालले जानकारी दिए ।

सिक्टा सिँचाइ आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई मध्यनजर गर्दै पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्र–शाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए । उनकाअनुसार पश्चिमी मूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साबिक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको छ ।

‘हामीले वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, जेठ १५ पछि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतवारीसम्म पानी पु¥याउने काम भइरहेको छ,’ उनले भने, ‘आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा जसो क्षत्रफलमा सिक्टाको पानी पुगेको छ ।’ अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरमा धानखेतीलाई सहजै सिँचाइ दिन सकिने उनले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया