Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिआल्चा बोटमै कुहियो

आल्चा बोटमै कुहियो


महेन्द्र शाही
सोलुखुम्बु, साउन ११
सोलुखुम्बुमा बागबानी केन्द्र फाप्लुमा उत्पादन भएको आल्चा बोटमै खेर गएको छ । केन्द्रमा वार्षिक २ दशमलव ५ टन आल्चा (आरुबखडा) उत्पादन भए पनि यतिकै खर जाने गरेको केन्द्रका सूचना अधिकारी चन्द्र फडेराले जानकारी दिए । यो समयमा सबैतिर एकै साथ फल्ने भएकाले बिक्री नगन्य मात्र हुने तथा यसलाई भण्डारण गर्नेतर्फ पनि कुनै पहल नभएको उनको भनाइ छ ।

अघिल्लो वर्ष केही मात्रामा बागबानी घुम्न आउनेहरुले खरिद गरेर लाने गरे पनि यो वर्ष भने निरन्तर वर्षा भएकाले बिक्री नभएको केन्द्रले जनाएको छ । प्रतिकिलो १० रुपैयाँमा बिक्री गर्दै आएको केन्द्रले यो वर्ष निरन्तरको झरीले दाना फुट्ने तथा झर्ने समस्या व्यहोरेको छ । सबैको घरमा आल्चाको बिरुवा हुने भएकाले केही अधिक उत्पादन हुने गरेको र कसैले पनि खरिद नगर्ने भएकाले बजारको समस्या भएको हो । यसलाई भण्डारण गर्नका लागि पनि समस्या हुने गरेको छ । साप्ताहिक हाटमा केही मात्रामा बिक्रीका लागि आउने गरेको भए पनि उल्लेख्य मात्रामा बिक्री नभएको स्थानीयको भनाइ छ ।

जिल्लामा व्यावसायिक रुपमा कहीँ कतै पनि आल्चाको खेती नभए पनि ४१ हेक्टर क्षेत्रफमा आल्चाका बिरुवा रहेको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिए । ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक वर्ष २ सय ५२ मेट्रिकटन आल्चा उत्पादन हुने गरेको छ । तर बिक्री भने नगन्य मात्रामा रहेको उनको भनाइ छ । केही मात्रामा साप्ताहिक हाटमा बिक्री हुने र घरायसी मदिराको लागि प्रयोग हुनेबाहेक अधिकांश आल्चा यसै खेर जाने गरेको छ । एकैपटक सबैकोमा फल्ने भएकाले पनि यसको उपयोगिता र महत्व कम भएको निमित्त प्रमुख राईको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया