Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिगाउँमै रोकियो करोडौँको आलु

गाउँमै रोकियो करोडौँको आलु


सुबास बस्नेत
दोलखा, साउन ११
खराब र हिलाम्मे सडकको कारण गाउँसम्म गाडी पुग्न नसक्दा दोलखाका आलु उत्पादक किसानलाई आलु बिक्री गर्न समस्या हुने गरेको छ । लगातार एक महिनादेखि परेको पानीले ग्रामीण भेगका सडक हिलाम्मे बन्दा आलु ढुवानी गर्न समस्या भएको मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङका आलु व्यवसायी हेम खड्काले बताए ।

जिल्लाको मेलुङमा वार्षिक पाँच करोडभन्दा बढीको आलू उत्पादन हुने गर्छ । आलु खनेर बिक्री गर्ने सिजन चले पनि हिलोले भरिएको सडकको कारण ढुवानीका सवारीसाधन गाउँसम्म आउन नसक्दा जम्मा गरेको आलु बिक्री गर्न समस्या भएको खड्काले बताए । स्थानीय सरकारले जथाभावी निर्माण गरेका सडक हिउँदमा चलेपनी वर्षात्मा पहिरोले जाँदा अवरुद्ध हुने गरेका छन् । कच्ची सडकमा सवारी ओहोरदोहोर गर्न नसक्दा यो समय मेलुङका आलु किसानहरु थप मर्कामा परेका हुन् ।

कच्ची सडककै कारण किसानले सोचेभन्दा राम्रो मूल्य पाउँदा पनि आलु बिक्री गर्न समस्या भएको मेलुङका आलु उत्पादक किसानले दुःखेसो गरे । समयले साथ दिएर राम्रो उत्पादन र मूल्य पाउदा पनि खराब सडकको कारण गाउँसम्म गाडी आउन नसक्दा आलु बिक्री गर्न समस्या भएको मेलुङ गाउँपालिका ३ का किसान पूर्ण बहादुर बिकको पनि दुःखेसो छ । गत वर्ष ४० हजारको आलु उत्पादन गरेका बिकले यो वर्ष १ लाखबराबरको आलु उत्पादन गरेका छन् ।

गत वर्ष साढे २ करोडको आलु उत्पादन गरेर आलु महोत्सव गरेको मेलुङ गाउँपालिकाले यो वर्ष ५ करोडभन्दा माथिको आलु उत्पादन गर्ने योजना बनाएको मेलुङ गाउँपालिका प्रवक्ता हिरा थोकरले बताए । मेलुङको एक तिहाइ भूभाग आलु खेतीको लागि प्रकट क्षेत्र मानिन्छ । गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ लाई आलु प्रकट क्षेत्रको रूपमा लिएको प्रवक्ता थोकरले बताए । गाउँपालिकाले मेलुङमा उत्पादन भएको आलु व्यवस्थापन र भण्डारण गर्न करिब दुई करोड खर्च गरेर आलु भण्डारण गर्न चिस्यान केन्द्र समेत निर्माण गरेको छ ।

चिस्यान केन्द्र निर्माणको लागि गत आर्थिक वर्ष संघ र प्रदेशबाट डेढ करोड अनुदान आएको थियो भने गाउँपालिकाले ७५ लाख रुपैयाँ छुट्याएको थियो । आलुखेतीलगायतका किसानलाई उन्नत जातको बीउ, मललगायत कृषि सामग्री वितरण गर्न वडा नम्बर ३ ले १४ लाख रुपैयाँ कृषकहरु अनुदान दिएको वडा अध्यक्ष एवं पालिका प्रवक्ता हिरा थोकरले बताए ।

यता जिल्लाको जिरीका किसानलाई भने लगातारको झरीले आलु खन्न समस्या परेको छ । कतिपय किसानले लगाएको आलु बारीमै कुहिन थालेको छ । गत जेठदेखि लगातार परेको पानीले आलु बढ्न नपाएको तथा दैनिक पानी पर्दा आलु कुहिन थालेको दोलखा जिरी खावाका किसान दोर्जे शेर्पाले बताए । शेर्पाले यो वर्ष करिब २२ मुरीको हाराहारीमा आलु उत्पादन गरेका छन् । झरीमै खनेको आलु चिसो पसेर राखेको ठाउँमै कुहिनथालेको उनले बताए । जिरीबाट वार्षिक सात करोडभन्दा माथिको आलु उत्पादन हुँदै आएको छ ।

जेठ अन्तिम सातादेखि सुरु भएको मनसुनले जिल्लाका उच्च भेगका आलु किसान समस्यामा परेका हुन् । दोलखाका उच्च भेगका सयौं हेक्टर जमिनमा आलु खेती हुने गर्छ । दोलखाको जिरी, मेलुङ, शैलुङ, भीमेश्वर नगरपालिकाको खरिढुङ्गा, गौरीशंकरलगायतका क्षेत्रमा वर्षे बालीका रूपमा आलुखेती गरिन्छ । उच्च क्षेत्रका किसानको आम्दानी मुख्य स्रोत नै आलुखेती हो ।

दोलखाबाट वार्षिक ५० करोड रुपैयाँभन्दा माथिको आलु काठमाडौं जाने गरेको छ । जिल्लाको मेलुङ र शैलुङले गत वर्ष करिब ३३ करोडको आलु मुडे हुँदै काठमाडौं पठाएको थियो । त्यसैगरी जिरीले नौ करोडको आलु काठमाडौं बिक्री गरेको थियो । यो वर्ष गत वर्षभन्दा आलुको मूल्यवृद्धि भएको हुँदा दोलखाबाट ६० करोड रुपैयाँभन्दा माथिको आलु काठमाडौं जाने अनुमान गरिएको जिल्लाका आलु व्यवसायीहरु बताउँछन् । अहिले दोलखामा आलुको मूल्य प्रतिकिलो ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ । पुसदेखि फागुनसम्ममा रोपेको आलु साउनदेखि असोजसम्म खनेर बिक्री गर्ने समय हो । यतिबेला दोलखामा आलु खन्ने र भित्र्याउने तथा बिक्री गर्ने सिजन चलेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया