Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसोलुखुम्बुका कृषकलाई बाँदर धपाउने यन्त्र वितरण

सोलुखुम्बुका कृषकलाई बाँदर धपाउने यन्त्र वितरण


महेन्द्र शाही
सोलुखुम्बु साउन २३
डिभिजन वन कार्यालय सोलुखुम्बुले किसानलाई बाँदर धपाउन प्रयोग गर्ने यन्त्र वितरण सुरु गरेको छ । सोलुखुम्बु जिल्लामा नै पहिलोपटक यस्तो यन्त्र वितरण गरेको कार्यालयले जनाएको छ । वन्यजन्तु धपाउन ठूलो आवाजमा पड्किने यो यन्त्रले भालु धपाउन समेत मद्दत पुग्ने विश्वाससाथ प्रभावित क्षेत्रका किसानलाई यन्त्र वितरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डम्बर भण्डारीले जानकारी दिए ।

बाँदरले किसानको बारीमा लगाएको बालीमा क्षति गरेकाले त्यसबाट जोगिनका लागि यन्त्र वितरण गरिएको भण्डारीको भनाइ छ । यो यन्त्र राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा २ हजार ५ सयका दरले खरिद गरी किसानलाई वितरण गरिएको बताइएको छ । पहिलो चरणमा १० वटा यन्त्र किसानलाई वितरण गरिने कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयले खरिद गरी ल्याएकामध्ये सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ३ का किसानलाई २ वटा यन्त्र प्रदान गरिएको छ भने वडा नम्बर २ का किसानलाई २ वटा, थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ३ का किसानलाई १ वटा वितरण गरिसकिएको छ । यो क्षेत्रमा वर्षेनी बाँदर तथा अन्य वनयजन्तुले कृषि उपजमा क्षति गर्दै आएका छन् ।

बाँकी रहेको यन्त्र सोताङ गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ५, ६ र ७ का किसानलाई वितरण गर्ने तयारी गरेको छ । यो क्षेत्रमा पनि बाँदर तथा भालुको बढी बिगबिगी छ । अहिले परीक्षणका लागि केही मात्र यन्त्र खरिद गरिएको र प्रभावकारी भएमा थप यन्त्र खरिद गरी किसानलाई दिइने कार्यालयले जनाएको छ । वनयजन्तु नियन्त्रणका लागि विभिन्न उपाय खोजिएको र यो यन्त्रको समेत प्रयोग गर्न सुझाव आएकाले यसको प्रयोगमा पनि कार्यालय लागेको सूचना अधिकारी भण्डारीको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया