Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिज्ञान केन्द्र सोलुखुम्बुद्वारा एक करोड बढीको कृषियन्त्र वितरण

ज्ञान केन्द्र सोलुखुम्बुद्वारा एक करोड बढीको कृषियन्त्र वितरण


महेन्द्र शाही
सोलुखुम्बु, साउन २५
कृषि ज्ञान केन्द्र सोलुखुम्बुले किसानहरुलाई विभिन्न आधुनिक कृषियन्त्र वितरण गरेको छ । केन्द्रले ९९ जना किसानलाई हाते ट्र्याक्टर, ३१ जना कृषकलाई धान तथा गहुँ चुट्न प्रयोग हुने थ्रेसर मेसिन, १३ जना कृषकलाई धान, गहुँ तथा घाँस काट्न प्रयोग गरिने ब्रस कटर वितरण गरिएको हो । यस्तै केन्द्रले ५ जनालाई मकै छोडाउने मेसिन, ४ जनालाई विद्युतीय पाइडल थ्रेसर मेसिन वितरण गरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुलबहादुर राईले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहका गरी १ सय ५२ जना किसानलाई विभिन्न मेसिन प्रदान गरिएको राईको भनाइ छ । योङ्ग स्टार क्लबको मैदानमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ती उपकरणहरु किसानलाई हस्तान्तरण गरेका थिए ।

कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानीमा ती उपकरणहरु वितरण गरिएको हो । कृषिमा यन्त्रीकरण गर्ने योजनाअन्तर्गत हाते ट्र्याक्टरलगायत यन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कुल बहादुर राईले बताए । १ सय ५२ जना किसानलाई १ करोड १७ लाख ३ हजारको कृषि औजार वितरण गरेको उनको भनाइ छ । यसमध्ये ज्ञानकेन्द्रले ६६ लाख ३३ हजार अनुदान र बाँकी ३५ लाख ४० हजार किसानले व्यहोरेका छन् । यो अनुदान रकम प्रदेश सरकारको हो । यो वर्ष १ सय ९३ जनाले आवेदन दिएको र सम्पर्कमा १ स्य ५९ जना आएको ज्ञान केन्द्रले जनाएको छ । १ सय ५९ जनामध्ये ७ जनाले पहिले नै पाइसकेकाले उनीहरुको नाम हटाएर १ सय ५२ जनालाई औजार वितरण गरिएको जनाइएको छ ।

कृषि औजार पाएपछि पहिलेभन्दा केही सहज हुने कृषकको विश्वास हरेको छ । आधुनिक मेसिनले काम गर्दा समयको बचत हुनुका साथै धेरै काम गर्न सकिने सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका किसान जस बहादुर राईले बताए । किसानलाई योभन्दा पनि आधुनिक यन्त्रको पहुँचमा पु-याउनका लागि सहयोग गर्न उनले सबैलाई आग्रह गरे । एक हल गोरुले भन्दा एउटा ट्र्याक्टरले धेरै काम गर्ने उनले बताए । यता कृषि ज्ञान केन्द्रका निमिति प्रमुख कुल बहादुर राईले किसान नभए कार्यालयको कुनै महत्व नहुने भन्दै आफूहरु किसानको प्रोत्साहनमा लाग्ने बताए । किसानविनाको कृषि ज्ञानकेन्द्र सम्भव नहुने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारीले किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि प्रदेश सरकारले यो कार्यक्रम ल्याएको बताए । यसबाट किसानले धेरैभन्दा धेरै लाभ लिनुपर्नेमा उनको जोड थियो । अनुदानमा आएको हो भनेर भन्ने भन्दा पनि आफ्ना लागि हो भन्ने कुरा मनन गर्न उनले किसानलाई सुझाव दिए । मेसिन लिएका किसानले राम्रो आर्थिक उपार्जन गरेको सुन्न पाउने आशामा आफू रहेको उनले बताए । योभन्दा पनि उन्नत खालको मेसिनहरु किसानलाई उपलब्ध गराउने कुरामा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया