Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबीबाट दोब्बर आम्दानी

किबीबाट दोब्बर आम्दानी


सुबास बस्नेत
दोलखा, भदौ २३
परम्परागत खेती छाडेर किबी खेतीमा जुटेका शैलुङका किसानले अहिले यसको खेतीबाट दोब्बर आम्दानी लिने गरेका छन् । करिब पाँच वर्षअघिदेखि शैलुङ गाउँपालिका वडा नम्बर ८ का विष्णु कार्की, मादव केसी, पदम खत्री र ओम कार्की व्यावसायिकरूपमा किबी खेतीमा लागेका छन् ।

गाउँमा पम्परागत खेती छाडेर व्यावसायिक किबी खेती सुरु गरेको उनीहरूले बताए । किसान विष्णु खत्रीले मकै तथा कोदो खेतीबाट भन्दा किबीबाट दोब्बर आम्दानी लिने गरेको सुनाए । चार जना मिलेर पाँच वर्षअघिदेखि सुरु गरेको किबी खेतीबाट अहिले लाखौं आम्दानी गर्नेगरेको उनको भनाइ छ । अहिले शैलुङका मकै, कोदो रोप्ने बारीमा किबी खेती हुन थालेको छ । गत वर्ष चारजनाले करिब १५ टन किबी उत्पादन गरेको किसान पदम खत्रीले जानकारी दिए ।

जिल्लाको उच्च क्षेत्रमा रहेको शैलुङ गाउँपालिकाको पाखो बारीमा छोटो समयमै किबी खेती फैलिएको छ । करिब ५ देखि ६ वर्षको छोटो अवधिमै किसानले किबी खेतीबाट राम्रो आम्दानी लिन थालेका हुन् । किबी खेती अहिले गाउँपालिकाभरिका किसानले व्यावसायिकरूपमा खेती गर्न थालेका छन् ।

शैलुङ गाउँपालिकाको वडा नम्बर ३,४,५,७ र ८ का दर्जनौँ किसानले व्यावसायिक रूपममै किबी खेती सुरु गरेको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । अध्यक्ष दुलालका अनुसार गाउँपालिकाले किबी खेती गर्ने इच्छुक किसानको लागि अनुदान दिन समेत सुरु गरिएको छ । कतिपय किसानले आफ्नै लगानीमा किबी खेतीलाई गाउँभरि फस्टाउँदै लगेका छन् ।

गत वर्ष शैलुङ गाउँपालिकामा १० हजार केजी किबी उत्पादन भएको थियो । यो वर्ष गत वर्षको भन्दा राम्रो किबी उत्पादन हुने अनुमान गरिएको किसानहरू बताउँछन् । गत वर्ष मसिनो फलेको किबी यसवर्ष भने गोडमेल र समयमा नै छाँटकाँट गरेकोले किबी दाना ठूलो लागेको हुँदा आम्दानी पनि बढी हुने किसानहरू बताउँछन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा व्यावसायिक रूपमा खेती गर्ने किसानको लागि एक लाखका दरले अनुदान दिएको थियो । यता किबीजोन दोलखाले भने कुनै प्रकारको अनुदान नदिएको शैलुङका किबी किसानले बताएका छन् । यो वर्ष पनि किबी किसानलाई अनुदान तथा सहयोगको लागि छुट्टै बजेट व्यवस्थापन गर्न निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

अहिले शैलुङका किसान किबी छाँट्न र गोडमेल गर्नमा व्यस्त छन् । गत वर्ष शैलुङबाट उत्पादित किबीले चरीकोटमा छुट्टै मार्केट लिएको र बिक्री पनि सहजरूपमा गरिएको किसान पदम खत्रीले बताए । शैलुङमा उत्पादन भएको किबी जिल्ला सदरमुकाम चरीकोट र काठमाडौँमा जाने गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया