Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिविगत २५ वर्षदेखि केरा खेतीमा जमेका पूर्णसिँह साउद

विगत २५ वर्षदेखि केरा खेतीमा जमेका पूर्णसिँह साउद


धनबहादुर जप्रेल
कञ्चनपुर, भदौ ३०
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१० तिल्केनी घर भएका पूर्णसिँह साउद जिल्लाकै उत्कृष्ट केरा कृषक मानिन्छन् । विसं २०५२ सालमा जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जिल्लामा केरा खेतीको सम्भाव्यता अध्ययन गर्दै तिल्केनी क्षेत्रमा पुगेको थियो । अग्लो स्थानको जमीन र पानी नजम्ने उर्वर भूमि भएकाले तिल्केनी क्षेत्र केरा उत्पादनको पकेट क्षेत्र बन्नसक्ने सर्वेक्षणले देखायो ।

त्यसपछि कृषि कार्यालयको टोलीले उक्त क्षेत्रमा केरा खेती गर्न चाहाने कृषकको खोजी गर्न थाल्यो । तिल्केनीका साउद त्यति बेला २२ वर्षको उमेरका थिए । कृषि कार्यमा सानै उमेरदेखि रुचि भएका उनी कृषि कार्यालयको टोलीको सम्पर्कमा पुगे । सीप विकास तालिम केन्द्र महेन्द्रनगरमा प्राविधिक पदमा कार्यरत उनलाई जिल्ला कृषि विकास कार्यालयले एक कट्ठा जमीनमा केरा खेती गर्नका लागि केराका बिरुवा तथा अन्य प्राविधिक सहयोग उपलब्ध गरायो । सोही सहयोगमा एक कट्ठाबाट केरा खेती सुरु गरेका उनले हाल २२ बिघा क्षेत्रफलमा केरा खेती गरिरहेका छन् ।

उनले स्वदेशमै मिहिनेत गरेमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदारण देखाएका छन् । कृषक साउदलाई केरा खेती गर्न थालेको अहिले २५ वर्ष पुगेको छ । ‘२०५२ सालतिर व्यावसायिक केरा खेती गर्ने खासै प्रचलन थिएन, सबै जना धान र गहुँमा आत्मनिर्भर थिए’, उनले भने, ‘तिल्केनी क्षेत्रमा व्यावसायिक केरा खेतीको सुरुवात मैले नै गरेको हुँ ।’ उनका अनुसार त्यतिबेला कृषकलाई केराको मूल्य प्रतिदर्जन सात रूपैयाँ मात्र प्राप्त हुन्थ्यो ।

केरा खेती गरेको पहिलो वर्ष नै एक कट्ठा जमीनबाट ३० हजार रूपैयाँ आम्दानी गर्न सफल भएपछि केरा खेती गर्ने साउदले केरामै आफ्नो भविष्य देख्न थाले । जसले गर्दा उनमा केरा खेती प्रवर्द्धन गर्ने इच्छा झन् प्रबल भएर आयो । केरा खेती सुरु गरेको दुई वर्षपछि २०५४ सालमा एक बिघा क्षेत्रफलमा केरा खेती विस्तार गर्दा उनलाई वार्षिक तीन लाख ६० हजार रूपैयाँ आम्दानी भएको थियो । त्यसपछि व्यावसायिकरूपमै केरा खेतीमा लाग्ने अठोट गरेका उनले सुरुसुरुमा केराबाट आएको आम्दानी केरा खेती विस्तार गर्नमै लगाए । कम समय र थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएपछि केरा खेती उनको लक्ष्य बन्यो ।

व्यावसायिक केरा खेतीमा संलग्न साउदले हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–८ तिलाचौर, वडा नम्बर–९ मटैना र वडा नम्बर–१० तिल्केनीका विभिन्न क्षेत्रमा २२ बिघा जमीनमा केरा खेती विस्तार गरेका छन् । सुरुमा एक्लैले केरा खेती गरेका उनले हाल तीन जना युवाहरूसँगको साझेदारीमा काम गरिरहेका छन् ।

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ युवाहरूलाई साथमा लिएर काम सुरु गरेको उनले बताए । ‘युवाहरू बढी पैसा कमाउने आसाले विदेश जाँदैछन्, यदि हामीले इच्छाशक्ति र तत्परता देखाउने हो भने विदेश जाने कुनै आवश्यकता छैन,’ उनले भने– ‘स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ ।’ उनका अनुसार केरा खेती गरेरै छोराछोरीको शिक्षादीक्षा र परिवारको लालनपालन राम्रोसँग भइरहेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा मुख्यमन्त्री एकीकृत नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा थोपा सिँचाइका माध्यमबाट २२ बिघा जमीनमा लगाइएको केरामा सिँचाइको समेत व्यवस्था गरिएको छ । केरा खेतीबाट प्रतिबिघा वार्षिक १० लाख रूपैयाँ आम्दानी हुनेगरेको छ ।

केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका साउदले युवाहरूलाई समेत विदेश जानुको सट्टा स्वदेशमै कृषि कार्यमा संलग्न हुन आग्रह गरेका छन् । केरा खेतीको प्रवर्द्धनका लागि सुरुसुरुमा थुप्रै चुनौती भए पनि युवाहरूले चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने उनको तर्क छ ।

‘समयमै मलखाद मिल्दैन, केराको लागि आवश्यक पर्ने खाद्य तत्व पाउन पनि गाह्रो छ, उनले भने, ‘उत्पादन भएपछि बजार समेत पाउन मुश्किल छ, तर पनि चुनौतीलाई अवसर मान्नुपर्छ ।’ नेपालमै सस्तो मूल्यमा गुणस्तरीय केरा उत्पादन भइरहेको भए पनि भारतीय केराको आयातले गर्दा स्वदेशी केराको खपतमा समस्या उत्पन्न भएको उनले बताए ।

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ सीप विकास तालिम केन्द्रमा प्राविधिक पदमा कार्यरत रहेकै बेला उनले कृषिलाई निरन्तरता दिए । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयको जिम्मेवारी सम्हाले पनि घर पुगेपछि रातिको १० बजेसम्म पनि केराबारीमै खटिन्थे । बिहान ५ बजेदेखि साढे ९ बजेसम्म केरा बारीकै काममा व्यस्त हुन्थे । उनी स्वदेशमै बसेर केही गर्न चाहने युवाहरूका लागि प्रेरणाका स्रोत पनि हुन् ।

उनकै प्रेरणाले थुप्रै युवाहरू व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । युवाहरूले आफ्नै देशमा काम गरेको देख्दा निकै खुसी लाग्ने गरेको उनले बताए । ‘सबै युवाहरू मिलेर स्वदेशमै काम गर्नुपर्छ, अर्काको देशमा गएर काम गरे हामी सधैँ गरिब रहन्छौँ, उनले भने– ‘युवाहरूले एकढिक्का भएर लाग्ने हो भने देशको अर्थतन्त्र नै परिवर्तन हुन्छ ।’ राज्यले समेत कृषिमा थुप्रो लगानी गरेकाले युवाहरूले कृषि क्षेत्रबाटै मनग्य आम्दानी गर्न सक्छन् । यसका लागि युवाहरूमा इच्छाशक्ति र तत्परताको भने आवश्यकता पर्दछ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया