Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलालीगुराँस बहुउद्देश्यीय सहकारी २२औँ वर्षमा प्रवेश

लालीगुराँस बहुउद्देश्यीय सहकारी २२औँ वर्षमा प्रवेश


ललितपुर ।
पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २१औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । २२औँ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले ठूलो योगदान गरेको बताए ।

उनले २२ वर्ष अवधिमा संस्थाले आफ्नो लगानीमा असोज १५ बिहीबारबाट श्री लालीगुँरास दुग्ध प्रसोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्री गर्न सुरु गरेको घोषणा समेत गरे । संस्थाले गोदाबरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायिकरूपमा दुध, दही, मोही, नौनीको बिक्रीवितरण सुरु गरेको छ ।

चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठूलो गाईफार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिँदै जाने प्रतिबद्धता जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने बताए । संस्थाले बिहीबारबाटै संस्थाको एटीएम सेवा सुरु गरेको छ ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त सेवाको एक कार्यक्रमका बीच उद्घाटन गर्ने संस्थाले जनाएका छ । पुल्चोकस्थित मुख्य कार्याललयमा राखिएको एटीएममा बिहीबारबाटै सेवा दिइने संस्थाले जनाएको छ । अब सबै सेयर सदस्यले एटीएम सेवा लिन सक्नेछन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सेवा सुविधा काउन्टरमा एटीएम बुथ स्थापना गरी सोही स्थानबाट सेवा दिने बताए । ललितपुरको चापागाँउ, काठमाडौँ चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले आफ्ना सेयर सदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरू उपलब्ध गराएको छ । संस्थामा हाल झण्डै २१ हजार सेयर सदस्य छन् । तीन सयभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्षरूपमा रोजगारी समेत उपलब्ध गराएको छ ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भदौ १८ गते दर्ता भई २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत श्री लालीगुराँस राष्ट्रिय मावि र लालीगँुरास कलेज प्रालि तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ काठमाडौँको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि/कलेज प्रालि, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलगायत अन्य विभिन्न संघ संस्थाहरूमा लगानी छ ।

संस्थाले आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखीकरण र अन्य तालिम प्रदान गर्दै आइरहेको जनाएको छ । संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन उपत्यकाका विभिन्न स्थान विभिन्न क्षेत्र र जिल्लामा सेवाहरू विस्तार गर्ने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई सङ्कुचित पार्दै गएको बताए । उनले ब्याजदर घटाउने, एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउनेजस्ता अव्यावहारिक नीति ल्याएर दुःख दिन थालेको उल्लेख गरे ।

नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष समेत रहेका भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताउँदै नकरात्कम दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी रहेको स्पष्ट पारे । संस्थाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया