Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकञ्चनपुरका मसिनो धान खेती गर्ने किसानलाई अनुदान

कञ्चनपुरका मसिनो धान खेती गर्ने किसानलाई अनुदान


धन बहादुर जप्रेल
कञ्चनपुर ।
मसिनो चामल आयातलाई प्रतिस्थापन गर्न कञ्चनपुरका मसिनो धानखेती गर्ने किसानलाई अनुदान दिइने भएको छ । मसिनो धानको बीउ तथा मलमा अनुदान दिँदै प्राविधिक सहयोग समेत गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारले लिएको छ । मोटो धान रोपेर बिक्री गर्ने र मसिनो चामल किनेर खाने गर्दा वर्षेनी नेपालमा चामल आयात बढ्दो छ । यसलाई रोक्न नेपालमै मसिनो धान उत्पादन गर्न नमुना उत्पादन सुरु गरिएको हो ।

किसान परियोजना २ तथा कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले मसिनो धान उत्पादनको काम गरिरहेको छ । यसका लागि ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराई नमुना उत्पादन गरिएको छ । कञ्चनपुरका किसानहरूलाई मसिनो धान उत्पादनमा आत्मनिर्भर बनाउन नमुना उत्पादन थालिएका क्षेत्रको सरोकारवाला निकायले अनुगमन गरेका छन् । भूमि व्यवस्था कृषि तथा सरकारी मन्त्रालय, किसान परियोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिककीरण परियोजना, उदयदेव बहुउद्देश्यीय सहकारी संस्थालगायतको टोलीले मसिनो धानको नमुना उत्पादनको सयुक्त अनुगमन गरेको हो ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले धानको उन्नत जातको उत्पादन प्रदर्शनी गरेको प्लटको अनुगमन गरेको बताए । किसान परियोजना २ का जनकनारायण आचार्यले धान उत्पादनबाट किसानलाई उचित मूल्य दिलाउन र चामल आयात प्रतिस्थापन गर्न मसिनो धानखेतीलाई प्रोत्साहित गरिएको बताए । मसिनो चामलको आयात बढ्दो क्रममा रहेको कारण भारतीय बजारसँग प्रतिस्प्रधा गर्नुपर्ने भएकोले किसानले अन्य धानबराबरकै लगानीमा मसिनो धानबाट राम्रो फाइदा लिन सक्ने उनले बताए ।

कृषि क्षेत्रमा लगानी गर्दै आएको कञ्चनपुरको सबैभन्दा पुरानो उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख गणेशबहादुर चन्दले सहकारीले अनुदान उपलब्ध गराएका किसानहरूको खेतबारीमै पुगेर किसानका समस्या बुझ्ने र आगामी दिनमा यसलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर संयुक्त अनुगमन गरिएको बताए । मसिनो धानबाट उत्पादन राम्रो हुने लक्षण देखिएपछि किसान खुशी भएका छन् ।

आगामी दिनमा पनि समय समयमा प्राविधिक सल्लाह, मलखाद र उन्नत जातका बीउबिजनहरू उपलब्ध भए अझै राम्रो हुने किसानहरूको भनाइ छ । किसान परियोजना २ अन्तर्गत भिमदत्त नगरपालिकामा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा ५० हेक्टर, बेलौरी नगरपालिकामा सम्झौता सहकारी र सृजनशील सहकारीसँगको सहकार्यमा १० हेक्टर र कृष्णपुर नगरपालिकामा सृजनशील सहकारीसँगको सहकार्यमा ५० हेक्टर गरी कुल दुई सय हेक्टरमा उन्नत जातको मसिनो धानको नमुना उत्पादन गरिएको हो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया