Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअमर मावि विद्यालयको खाली जग्गामा अलैंची खेती

अमर मावि विद्यालयको खाली जग्गामा अलैंची खेती


सुबास बस्नेत
दोलखा ।
दोलखा जिल्लाको तामाकोसी गाउँपालिकामा रहेको अमर मावि झुलेले विद्यालयको नाममा रहेको खाली जग्गाको सदुपयोग गर्दै १२ वर्षदेखि अलैंची खेती गर्दै आएको छ । जिल्लाकै शिक्षा क्षेत्रमा पुरानो इतिहास बोकेर २००८ सालमा स्थापना भएको यस सामुदायिक विद्यालय झुलेले आफ्नो नाममा रहेको ७२ रोपनी जग्गामा २०६५ सालदेखि अलैंची खेती गर्दै आएको हो ।

विद्यालयको नाममा रहेको पाखो जग्गामा अलैंची खेती गरी विद्यालयले थोरै भए पनि आर्थिक आम्दानी गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबेन्द्र कार्कीले बताए । कार्कीका अनुसार १२ वर्षअघि विद्यालयको रोहवरमा विद्यार्थी अभिभावकले उक्त जग्गामा अलैंची लगाएका थिए । अलैंची लगाएको तेस्रो वर्षदेखि आर्थिक आम्दानी हुन थालेको थियो ।

उत्पादनको सुरुको वर्ष ८० हजारको अलैंची विद्यालयले बिक्री गरेको थियो । त्यसैगरी पछिल्लो वर्ष साढे दुई लाखसम्मको अलैंची विद्यालयले बिक्री गर्न सफल भएको अध्यक्ष कार्कीले जानकारी दिए । अमर माविले यस वर्ष पनि आठ सय केजीको हाराहारीमा अलैंची उत्पादन गर्ने उनले बताए ।

जिल्लामै तत्कालीन समय पहिलो पटक विद्यालयले अलैंचीको बिरुवा उत्पादन गरेर वितरण गरेको थियो । जिल्लाभर अलैंची खेती विस्तार गर्न महत्वपूर्ण कार्य गरेबापत विद्यालय तत्कालीन जिल्ला कृषि कार्यालय दोलखाबाट सम्मानित भएको थियो ।

यस वर्ष पनि अलैंची झिक्ने समय सुरु भएको कार्कीले बताए । कक्षा १ देखि १२ कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा अहिले करिब दुई सय विद्यार्थी रहेका छन् । भुकम्पपछि विद्यालयले २२ कोठाको सुविधासम्पन्न भवन पाएको छ । अलैंचीबाट आम्दानी भएको रकमले थोरै भए पनि निजी स्रोतका कर्मचारी पाल्न सहयोग पुगेको अध्यक्ष कार्कीले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया