Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबीका दाना देखेर किसान मख्ख !

किबीका दाना देखेर किसान मख्ख !


सुबास बस्नेत
दोलखा ।
बारीभरि फैलिएको किबीका ठुलाठुला दाना देखेर भीमेश्वर नगरपालिका बोचका किसान खुसी बनेका छन्। गत वर्षभन्दा यो वर्ष किबीको उत्पादन राम्रो भएको देखेर किसान मख्ख परेका छन्। दोलखाको भीमेश्वर नगरपालिका आठका किसान नारायण बस्नेतले सवारी चलाउने पेसा छाडेर किबी खेती सुरु गरेका हुन् । बैंकबाट ऋण लिएर व्यावसायिक कृषि पेसामा लागेका उनले किबी खेतीका साथै कुखुरापालन व्यवसाय पनि सँगै गरेका छन् ।

२०६३ सालदेखि व्यावसायिक कृषि खेतीमा लागेका बस्नेतले अहिले मासिक ४५ हजार आम्दानी गर्ने गरेको सुनाए। ३० लाख ऋण लगानी गरेर सुरु गरेको व्यवसायले अहिले निरन्तर नाफा दिइरहेको उनको भनाइ छ । ड्राइभिङ गर्दा परिवारको खर्च धान्न मुस्किल हुने गरेपछि गाउँमै कृषि पेसा सुरु गरेको उनले बताए। उनले आफ्नो खाली रहेको बारीमा अहिले ३ सय ३५ बोट किबी लगाएका छन्। बोच किबी खेतीको लागी उर्वर भूमि मानिन्छ ।

सिजनमा ३० हजारसम्म किबी उत्पादन गर्न सकिने उनको भनाइ छ । रोपेको ३ वर्षमै किबी फल्न सुरु गर्ने उनले बताए । उनले गत वर्ष करिब दुई लाखको किबी बिक्री गरेका थिए । साथै उनले प्रत्येक वर्ष किबीका बिरुवा समेत थप्दै गइरहेका छन् । सुरुको वर्ष ७५ वटा बिरुवा लगाएका उनले दोस्रो वर्ष एक सय वटा बिरुवा थप गरेर रोपेको बताए । गत वर्षको भन्दा यस वर्ष किबीको दाना राम्रो लागेको हुँदा उत्पादन वृद्धि हुने उनले बताए । किबी किसानले असोज अन्तिमदेखि किबी टिप्न सुरु गर्छन् ।

त्यस्तै बस्नेतको घरमा अहिले लेस जातका एक हजार बढी कुखुरा पनि छन् । बस्नेतले अण्डाबाट मासिक ४५ हजार आम्दानी हुने गरेको बताए । उनले केही वर्ष अघिदेखि व्यावसायिक रूपमा लेस कुखुरा पालन गरेर अण्डा उत्पादन गर्दै आएका छन् । उनको खोरबाट दैनिक ८ सय ४० वटा अण्डा उत्पादन हुने गरेको छ । ६ जना परिवार खर्च धान्ने मुख्य स्रोत नै कृषि व्यवसाय भएको उनले बताए । किबीबाट सोचेजस्तो आम्दानी लिन नसके पनि अण्डाबाट भने राम्रो आम्दानी हुने गरेको बताए।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया