Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई दशैँको मुखमा पाकेको धान भित्र्याउने चटारो

किसानलाई दशैँको मुखमा पाकेको धान भित्र्याउने चटारो


सुबास बस्नेत
दोलखा ।
दशैँको मुखमा पाकेको धानले दोलखाका किसानलाई धान काट्ने चटारो बढेको छ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका किसानलाई दशैँको तयारीभन्दा खेतभरि पहेँलै भएर पाकेको धान थन्क्याउने चटारो चलेको छ । सिङ्गो बेसी नै पहेँलो भएर पाकेको धानको बालाले यो समय नाम्दु बैतीका किसानलाई दशैको तयारीभन्दा पनि पाकेको धान भित्र्याउने चटारो चलेको हो । किसानले असारमा लगाएको धान काट्ने सिजन चलेको हुँदा किसानलाई दशैँभन्दा पनि खेतमा पाकेको धान भित्र्याउने चटारो बढेको स्थानीय किसान विष्णु गिरीले जानकारी दिए । यो वर्ष दशैँ कात्तिकमा परेको हुँदा पनि धान दशैँअघि नै पाकेको उनले सुनाए ।

अघिल्लो वर्षहरुमा असोजमा दशैँ पथ्र्यो र दशैँ सकिएपछि धान काट्न सुरु गरिन्थ्यो । अहिले कात्तिकमा दशैँ परेको हुँदा धेरै बेसीमा धान पाकेर झर्न थालेकोले दशैँअघि नै काट्नुपर्ने बाध्यता रहेको हुँदा पनि दशैँ सुरु भए पनि आफूहरुलाई मुख्य कमाइ धान भित्र्याउने चटारो चलेको उनले बताए ।

यो समय सो भेगमा धेरै मानिस घरनजिकको खेतमा धान काट्न व्यस्त छन् । पाकेको बालीमा असिनापानी लाग्ने डरले किसानलाई दशैँभन्दा वर्षभरि खाने मुख्य बाली भित्र्याउन भ्याइनभ्याइ भएको हो । जिल्लाको बैतेश्वर गाउँपालिका धान खेतीको हिसाबले अनुकूल वातावरण भएको गाउँपालिका हो । बैतेश्वर गाउँपालिकाको माथिल्लो भेगमा धानखेती कम भए पनि तल्लो भेगका सबै बेसीमा धान खेती हुँदै आएको छ । आफ्नो १० रोपनीमा खेतमा लगाएको चाँडै पाक्ने छोठो र एक्ले धान यो वर्ष गत वर्षभन्दा राम्रो फलेको हुँदा पनि चाँडै घरमा भित्र्याउनलागेको खेतमा धान काट्दै गरेकी बैतेश्वर गाउँपालिका नाम्दुकी सीता घिमिरेले बताइन् ।

यता जिल्लाको भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका र तामाकोशी गाउँपालिकामा पनि गत वर्ष दशैँपछि काटिने धान यो वर्ष दशैँअघि नै काट्न थालिएको छ । भीमेश्वर नगरपालिकाको जिलु बेसीमा अहिले धेरै किसान धान काट्न व्यस्त देखिन्छन् । अघिल्लो वर्ष असोजमा दशैँ र कात्तिक तिहार हुन्थ्यो र सबै काम दशैँपछि हुने गरेको थियो । यो वर्ष दशैँ नै कात्तिकमा हुँदा दशैँसँगै धान काट्ने चटारो रहेको भीमेश्वर नगरपालिका जिलुकी किसान सोबिता चौलागाईंले बताइन् । दोलखामा सबैभन्दा बढी धान उत्पादन मेलुङ र बैतेश्वरमा हुँदै आएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया