Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअलैँचीको मूल्यमा वर्षेनी गिरावट

अलैँचीको मूल्यमा वर्षेनी गिरावट


सुबास बस्नेत
दोलखा ।
वर्षेनी अलैँचीको भाउ ओरालो लागेपछि दोलखाका अलैँची किसान चिन्तित बनेका छन् । जिल्लामै सबैभन्दा बढी अलैँची उत्पादन हुने ठाउँ वैतेश्वर गाउँपालिकाका किसानले गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशत सस्तोमा अलैँची बिक्री गर्नुपरेको बताए ।

जिल्लाको वैतेश्वर गाउँपालिकाको वडा नम्बर ३ मिर्गेबाट मात्रै वार्षिक ३० हजार केजी अलैँची उत्पादन हुँदै आएको छ । गत वर्ष छ सय ५० रुपैयाँ प्रतिकेजी बिक्री भएको अलैँची अहिले पाँच सय रुपैयाँ प्रतिकेजीमा बिक्री गर्नसमेत मुस्किल परेको स्थानीय अलैँची किसान दिनेश तामाङले जानकारी दिए । तामाङले १० वर्षदेख आफ्नो पाखो बारीमा अलैँची खेती गर्दै आएका छन् । गत वर्ष छ सय केजी अलैँची उत्पादन गरेका तामाङले यो वर्ष सात सय केजी अलैँची उत्पादन गरेका छन् ।

अलैँची बिक्री गर्न तयारी गरिरहे पनि सोचेजस्तो मूल्य नपाएपछि उनी निराश छन् । त्यसैगरी वैतेश्वर २ सानिटारका किसान तेजबहादुर तामाङले पनि गत वर्षको तुलनामा यो वर्ष अलैँचीको मूल्यमा गिरावट आएको बताए । तामाङ मिर्गे र गैरीमुदिमा उत्पादन भएको अलैँची बिक्री गर्न झापासम्म पुग्ने गर्छन् । गत वर्षप्रति केजी छ सय रुपैयाँमा बिक्री गरेको अलैँची यो वर्ष भाउ घटेर चार सय ५० देखि पाँच सयमा आएको हुँदा बिक्री गर्न समस्या भएको उनले बताए ।
भदौ अन्तिम सातादेखि किसानलाई दुई महिना अलैँची झिक्ने चटारो चल्ने गर्छ ।

दोलखाको वैतेश्वर गाउँपालिका किसान यो समय आफ्नो बारीमा लगाएको अलैँचीको नयाँ दाना झिक्न र अलैँची घारीबाट झिकेको अलैँची केलाउन र सुकाउन व्यस्त छन् । सामान्यतया किसानले भदौ अन्तिम सातादेखि असोजभरी अलैँचीका दाना काट्ने गर्छन् । यो वर्ष पनि किसानलाई यो समय अलैँची थनक्याउने चटारो चलेको छ । मुख्यगरी जिल्लाको पाँच स्थानमा अलैँची खेती हुनेगर्छ ।

जिल्लाको तामाकोसी, वैतेश्वर, गौरीशंकर, कालिन्चोक र शैलुङ गाउँपालिकामा अलैँची खेती हुँदै आएको छ । अलैँची व्यवसाय महासंघ जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष भबेन्द्र कार्कीका अनुसार दोलखाबाट बार्षिक २५ सय टन अलैँची उत्पादन हुँदै आएको छ । जिल्लाका कतिपय अलैँची किसानले भने उचित मूल्य नपाएको भन्दै अलैँची खेती त्याग्न थालेका छन् ।

केही वर्षअघि खेतीयोग्य जमीनमा अलैँची खेती सुरु गरेका किसानले लगानी मूल्य समेत पाउन नसकेको भन्दै अलैँची खेती त्यागेर पुरानो खेतीमै फर्किन थालेको वैतेश्वर २ का स्थानीय किसान राजु तामाङले जानकारी दिए । दोलखाबाट वार्षिक दुई करोडको अलैँची बिक्री हुँदै आएको छ । त्यसमा मिर्गेबाट मात्र करिब एक करोडको अलैँची बिक्री हुने गरेको अलैँची व्यवसायी तेजबहादुर तामाङले जानकारी दिए । मिर्गेबाट कात्तिक पहिलो साता मात्र २२ लाखको साढे चार टन अलैँची भारतमा खपत भएको उनले उनले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया