Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमाथिल्लो सगरमाथाका जिल्लामा धान उत्पादनमा वृद्धि

माथिल्लो सगरमाथाका जिल्लामा धान उत्पादनमा वृद्धि


महेन्द्र शाही
सोलुखुम्बु ।
माथिल्लो सगरमाथाका तीन जिल्लामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । सोलुखुम्बु, खोटाङ र ओखलढुंगा जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार सोलुखुम्बुमा यो वर्ष तीन दशमलव २५ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर तिरुवाले बताए ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभरि धान खेती हुने एक हजार पाँच सय २५ हेक्टर जमिनबाट तीन हजार छ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष एक हजार पाँच सय २५ हेक्टरमा तीन हजार पाँच सय छ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष समयमा पानी परेकाले शत प्रतिशत धान रोपाइँ भएको र रोपेपछि पनि नियमितरूपमा पानी परेकाले धान उत्पादनमा वृद्धि भएको निमित्त प्रमुख तिरुवाले जानकारी दिए । समयमै रोपाइँ हुनु र नियमित पानी पर्नु धान उत्पादनको प्रमुख कारण रहेको उनको भनाइ छ । यता माथिल्लो सगरमाथाको अर्को जिल्ला खोटाङमा पनि यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

जिल्लाको प्रमुख बालीको रूपमा लगाउने धान यस वर्ष ३८ दशमलव ४६ प्रतिशतले उत्पादन वृद्धि भएको ज्ञान केन्द्र खोटाङले जनाएको छ । कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाभरि १२ हजार आठ सय ९८ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । अघिल्लो वर्ष ८४ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको जिल्लामा यो वर्ष शत प्रतिशत रोपाइँ भएको थियो । खोटाङमा यो वर्ष २९ हजार तीन सय ४२ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन गतवर्षको तुलनामा ३८ दशमलव ४६ प्रतिशतले बढी हो ।

यसवर्ष समयमै वर्षा भई सोहीअनुसार रोपाइँ भएको, रोपाइँ गरिने क्षेत्रफल वृद्धि भएको आनि रोग र किरा प्रकोपको व्यवस्थापन गरिएकाले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी देवराज गुप्ताले जानकारी दिए । गत वर्ष १० हजार तीन सय १८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको गुप्ताको भनाइ छ । अघिल्लो वर्ष जिल्लाभर १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । यस्तै ओखलढुंगामा पनि यो वर्ष १० दशमलव ५ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।

धान रोपाइँ हुने चार हजार चार सय तीन हेक्टर क्षेत्रफल जमिनबाट यो वर्ष १३ हजार दुई सय तीन मेट्रिक टन धान उत्पान भएको ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आलेमगरका अनुसार यो वर्ष समयमा रोपाइँ भएको र त्यसपछि नियमित पानी परेकाले उत्पादनमा वृद्धि भएको हो । अघिल्लो वर्ष भदौमा समेत रोपाइँ गरेका कृषकले यो वर्ष भने साउन मध्यमा नै रोपाइँ सकेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया