Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजनजागरण साकोसको नाफा १८ लाख १६ हजार

जनजागरण साकोसको नाफा १८ लाख १६ हजार


सुवास बस्नेत
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा रहेको जनजागरण बचत तथा ऋण सहकारीले १८ लाख नाफा कमाउन सफल भएको छ । सहकारीले एक वर्षको अवधिमा १८ लाख १६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको संस्थाका कोषाध्यक्ष पुष्कर कुमार दाहालले जानकारी दिए ।

संस्थाको २२औँ साधारणसभामा संस्थाका कोषाध्यक्ष दाहालले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १२ करोड ९० लाख ८५ हजार पाँच सय रुपैयाँ कुल पुँजी बनाउन सफल भएको बताए । त्यसैगरी सहकारीले १० करोड १३ लाख ३६ हजार एक सय ११ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
साथै १० करोड १३ लाख ९० हजार ९७ रुपैयाँ बचत रहेको छ । दुई हजार आठ सय ७६ सेयर सदस्य आबद्ध रहेको जनजागरण सहकारीमा एक हजार ९८ जना बाल सदस्य रहेको संस्थाका सचिव रमेश प्रसाद दाहालले जानकारी दिए । कोरोना भाइरसको कारण टोलटोलमा क्षेत्रगत रूपमा टोले साधारणसभा गर्दै सीमित प्रतिनिधि बोलाएर संस्थाले शनिबार केन्द्रीय साधारणसभा गरेको हो ।

सहकारीका अध्यक्ष प्रवन दाहालको सभापतित्व र बैतेश्वर गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दाहालका अनुसार सहकारीले आगामी दिनमा सदस्यमुखी कार्यक्रमको सुरु गर्नेछ । सहकारीले वडा कार्यालय आसपासमा चालू वर्षभित्र थप सेवा केन्द्र विस्तार गर्ने भएको छ । त्यसैगरी सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा दिन बैतेश्वर अस्पतालसँग समन्वय गरेर स्वास्थ्य सेवा दिने बताइएको छ । त्यसैगरी सहकारीले आगामी दिनमा आफूलाई पायक पर्ने नजिकको छिमेकी सहकारीसँग एकीकरण गर्ने प्रस्ताव अघि सारेको अध्यक्ष दाहालले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया