Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबीको मूल्य घट्यो

किबीको मूल्य घट्यो


सुबास बस्नेत
दोलखा ।
जिल्लामा किसानहरूले उत्पादन गरेको किबी टिप्ने सिजन सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँका कृषकहरूले व्यावसायिकरूपमा नै किबीखेती गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष कोरोना भाइरसको कारण किबी सस्तोमा किनबेच भइरहेको छ । चरीकोट बजारमा यो वर्ष किबीको मूल्य घटेको व्यापारीहरूले बताएका छन् ।

गतवर्ष प्रतिकेजी साढे दुई सयदेखि तीन सय रूपैयासम्म बिक्री भएको किबी कोरोना भाइरसको कारण यसवर्ष मूल्य घटेर बजारमा प्रतिकेजी एक सय ७० रूपैयाँँमा बिक्री भइरहेको फलफूल व्यवसायी चित्र दाहालले बताए । जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा अन्य ठाउँको तुलनामा धेरै किबी खेती भएको पाइएको छ ।

अघिल्लो वर्ष सहजरूपमा किबी बिक्री गरेका किसानलाई यो वर्ष भने किबी बिक्री गर्न समस्या भएको हो । कोरोना भाइरसका कारण बाहिरी पर्यटकको दोलखामा आगमन हुन नसक्दा गत वर्षको जस्तो किबीको व्यापार नभएको दोलखाको शैलुङ गाउँपालिका –८ मा व्यावसायिक किबी खेती गर्दै आएका किसान माधव खत्रीले बताए । उनले यो वर्ष करिब २५ सय केजी उत्पादन गरेका छन् ।

दोलखामा किबी बिक्री नभएपछि बिक्री गर्नकै लागि काठमाडौँ पुगेको उनले जानकारी दिए । काठमाडौँका विभिन्न फलफूल तथा तरकारी बजारमा पनि दोलखाको किबीले भाउ पाउन नसकेको उनले बताए । काठमाडौँका बजारमा दोलखाको भन्दा इलामको किबी सस्तो पाउने हुँदा दोलखाको किबीले भाउ र बजार पाउन नसकेको शैलुङका अर्का किसान बमबहादुर कार्कीले बताए ।

कार्कीले यो वर्ष चार हजार केजी किबी फलाएका छन् । बजारमा किबी बिक्री नभएपछि बजारको भन्दा सस्तोमा घरबाटै किबी बिक्री गर्न थालेको उनले बताए । बजारमा दुई सय रूपैयाँ प्रतिकेजी मूल्य रहेकोे किबी कार्कीले घरबाटै एक सय ४५ रूपैयामा किबी व्यापारीलाई दिने गरेका छन् । दोलखामा उत्पादन भएको किबीले बजार नपाउँदा यो वर्ष समग्र जिल्लाकै किसान चिन्तित बनेका छन् । हेवाडलगायतका विभिन्न जातका किबी लगाएका किसानले उत्पादन वृद्धि र ठूल–ठूला दानाका किबी फलाए पनि बिक्री नहुँदा किसान चिन्तित बनेका हुन् ।

भदौ र असोजमा ठूला–ठूला किबीका दाना देखेर दङ्ग परेका शैलुङका रामबहादुर खत्री पाकेको किबीले बजार नपाउँदा निरास बनेका छन् । कोरोना भाइरसको कारण लामो समय बन्द भएका सहर बजारमा व्यापार ठप्प भएको कारण किबिको माग र व्यापार न्युन रहेको हो । गत वर्षको जस्तो यो वर्ष किबीको माग नरहेकाले व्यापार पनि खासै नभएको व्यापारीहरूले बताएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया